+
+

चीनको ‘आउटबाउन्ड’ गन्तव्य सूचीमा नेपाल, पर्यटन क्षेत्रमा उत्साह

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन २८ गते १७:२०
फाइल तस्वीर

२८ फागुन, काठमाडौं । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई समेत सूचीकृत गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत)देखि चिनियाँ नागरिकलाई एजेन्सीहरुले नेपाल भ्रमणका लागि प्याकेज बिक्री गर्न सक्ने भएका छन् । यसले नेपालको पर्यटनमा थप उत्पाह ल्याउने व्यवसायीहरुको अपेक्षा छ । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाका अनुसार यो खबरले सबैभन्दा ठूलो उत्साह चिनियाँ पर्यटकलाई नेपाल भित्राउने व्यवसायीमा आएको छ । ‘कोभिड–१९ यता उनीहरुको अवस्था निकै दयनीय थियो,’ उनी भन्छन्, ‘अब एकसाथ ठूलो सुधार आउने अपेक्षा गर्न सकिन्छ ।’

व्यवसायीहरुका अनुसार चिनियाँ नागरिकका बीचमा नेपाल लोकप्रिय गन्तव्य भित्रै पर्छ । यसो हुनुमा नेपाल चीनको नजिकको मुलुक हुनु र विना ट्रान्जिट सिधा उडानबाट नेपाल आउन सकिने भएको सापकोटा बताउँछन् ।

‘उनीहरु समूहमा आउँछन् र पर्यटनमा एकसाथ उत्साह ल्याउँछन्’ सापकोटाले भने । जसबाट ट्रेकिङ गाइडदेखि होटल र यातायातमा समेत राम्रो मुभमेन्ट देखिने उनको भनाइ छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाका अनुसार एउटा चिनियाँ समूह आयो भने एउटा होटल नै भरिने सम्भावना हुन्छ । जसले पर्यटन बजारमा राम्रो चहलपहल ल्याउँछ ।’

चिनियाँ नागरिक आगमनको बढ्दो ग्राफ

नेपालमा कोभिड–१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए । सो वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । उक्त वर्ष भारतीयपछि नेपालमा चिनियाँ पर्यटक सर्वाधिक संख्यामा भित्रिएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ जना थिए । यस वर्ष भारतीय पर्यटकको संख्या २ लाख ५४ हजार १५० जना रहेको थियो । त्यसपछि भने चीनले आफ्ना नागरिकलाई अन्य मुलुकमा भ्रमणमा जान रोक लगायो । सन् २०२३ पछि भने चीनले आफ्ना नीतिहरु खुकुलो बनाउँदै गयो । यसको प्रभाव तथ्यांकमा देखिन थालेको छ । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ ।

अफसिजनका पाहुना

नेपालमा पर्यटन तथा होटल व्यवसायीहरु चिनियाँ पर्यटकलाई अफसिजनका आकर्षक पाहुना मान्छन् ।

होटल संघ नेपाल (हान) का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार नेपालमा अफसिजन भएका बेला ठूल्ठूला ग्रुपमा चिनियाँ नागरिक आउँछन् । यसले अफसिजनमा राम्रो विजनेस हुन्छ । ‘युरोपेली र भारतीय पर्यटकको एक निश्चित सिजन हुन्छ, उनी भन्छन्, ‘नेपाल आउन चिनियाँ नागरिकले सिजन खोज्दैनन् ।’

खर्चालु पर्यटक मानिन्छन् चिनियाँ

संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्छ । टानका महासचिव सापकोटाका अनुसार चिनियाँहरु घुमफिरसँगै सपिङमा बढी रमाउँछन् । जसले गर्दा नेपालको स्वदेशी उत्पादनले राम्रो व्यापार पाउँछ ।

भारतीय पर्यटकको रुची खानपान र परिकारमा बढी देखिन्छ,’ उनी भन्छन्, ‘चिनियाँ नागरिक सपिङमा रमाउँछन् ।’ हानका कार्यसमिति सदस्य श्रेष्ठका अनुसार होटलका लागि समेत चिनियाँ आकर्षक पर्यटक मानिन्छन् । ‘चीनबाट घुमफिरमा निस्कने धेरैजसो पर्यटक उच्च र मध्यम आय भएकाहरु नै हुन्छन्,’ उनी भन्छन्, ‘होटलका लागि समेत चिनियाँ पर्यटक खर्चालु मानिन्छन् ।’

विविध गतिविधिमा रमाउँछन् चिनियाँ

व्यवसायीहरुका अनुसार नेपालमा यूरोप र अमेरिकी मुलुकबाट आउने पर्यटक लामो पदयात्रामा जान रुचाउँछन् । तर, चिनियाँ नागरिकलाई यस्तो रुची छैन । उनीहरु समूहमा आउँछन् र एक क्षेत्र भित्रका अनेक गतिविधिमा रमाउँछन् ।

पर्यटन व्यवसायी सागर पाण्डेका अनुसार पोखरा पुगेका चिनियाँ नागरिक सो क्षेत्र भित्रका प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ सबै गर्न रुचाउँछन्, तर उनीहरु लामो पदयात्रामा भने जान रुची राख्दैनन् ।

नेपालमा काठमाडौं, पोखरा र चितवन चिनियाँ नागरिकले सबैभन्दा बढी रुचाएका गन्तव्य हुन । काठमाडौंको सम्पदा क्षेत्रको भ्रमणमा उनीहरु बढी आकर्षित हुन्छन् । चिनियाँ पर्यटक भित्रँदा पर्यटनसँग जोडिने सबै क्षेत्रले एक साथ विजनेश पाउने टानका महासचिव सापकोटा बताउँछन् ।

हवाई यात्राले खोल्दैछ बाटो

नेपालमा कोभिडयता चीनले हवाई उडानलाई रोक लगाएको थियो । उडानमाथिको प्रतिवन्ध फुकुवा हुने क्रम जारी छ । त्यसपछि चाइना साउर्दनले नेपालमा उडान थालेको थियो । त्यसपछि हिमालय एयरलाइन्सले उडान सुचारु गर्‍यो । अहिले यो कम्पनीले कुनमिङ र बेइजिङमा नियमित उडान गरिरहेको छ । एयर चाइनाले छेन्दु–काठमाडौं रुटमा उडान थालेको छ । सिचुवान एयरले समेत नेपालमा सातामा चार उडान गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । यी उडानमार्फत अधिकांश पर्यटकले यात्रा गर्ने भएकाले यसले नेपालको पर्यटनमा उत्साह ल्याउने व्यवसायीको अपेक्षा छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?