+
+

महानगरको पहिलो सार्वजनिक सुनुवाइमै उपस्थित भएनन् बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते २०:०६

२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पहिलो चोटी सार्वजनिक सुनुवाइ गरेको छ । चालु आर्थिक वर्ष २०७९/०७९को पहिलो सार्वजनिक सुनुवाइमा मेयर बालेन्द्र शाह(बालेन) भने सहभागी भएनन् ।

राष्ट्रिय सभा गृहमा भएको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले ‘बालेनलाई प्रश्न छ’ भन्दा मेयर भने कार्यक्रममा नदेखिएका हुन् । प्रश्नकर्ताहरुले कार्यक्रममा मेयर हुनुपर्ने माग गरे पनि बालेन भने आएनन् ।

मेयर बालेनको सचिवालयले सिटी समिटका लागि भोलि सोमबार मेयर लण्डन जाने भएकोले सोहि तयारीको कारण सार्वजनिक सुनुवाइमा सहभागी नभएको बताएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरवासीको अत्यन्तै कम संख्यामा मात्रै सहभागी रहेको थियो । महानगरले पहिले फागुन १९ गते गर्ने भन्दै प्रचार गरेर पछि फेरि आज फागुन २८ गतेका लागि मिति सारेको थियो । महानगरका एक वडाध्यक्ष भन्छन् ‘सार्वजनिक सुनुवाइ औपचारिकताको लागि मात्रै भयो, गतिलो हुन सकेन । प्रचार पनि खासै भएन क्यारे, मेयरले पनि त्यति चासो दिएनन् । ’

सार्वजनिक सुनुवाइ कार्यक्रममा लिखित र मौखिक रुपमा खुल्ला मञ्च व्यवस्थापनको बारेमा आएको प्रश्नको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जवाफ दिएका थिए । उनले जवाफमा खुल्ला मञ्चको विषय अध्ययनको मात्रै भएको भन्दै अहिले नै चर्चा भएजस्तो भूमिगत पार्किङ बनाइ हाल्ने योजना नभएको सुनाएका थिए ।

व्यवस्थापनको माग

महानगबासीले सार्वजनिक सुनुवाइमा पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधार हुुनपर्ने माग गरेका थिए । स्थानीयले सडक पेटी, पैदल यात्रामैत्री सडक, पार्किङ् व्यवस्थापन, फोहोरको दिगो संकलन र व्यवस्थापन, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालयबीच समन्वय नभएको गुनासो गरेका थिए ।

प्रश्नकर्ताहरुले यस्तै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्गमैत्री संरचनामा ध्यान दिनुपर्ने बताएका थिए । यस्तै सामुदायिक कुकुर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? भन्दै महानगरलाई स्थानीयले प्रश्न गरेका थिए । जस्ता चासो अभिव्यक्त भएका छन् ।

सार्वजनिकस्थलहरुमा नागरिकको सुरक्षा हुनुपर्ने भन्दै काठमाडौंबासीले सार्वजनिक यातायातमा महानगरले किन काम नगरेको भन्दै प्रश्न गरेका थिए ।

एक्लैको प्रयासले हुँदैन : महानगर

सुनुवाइको उत्तर दिने क्रममा अधिकारीले, सहरी विकास र सुविधा वितरणका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धि नदेखिने बताए । असरल्ल तार काट्ने र अनावश्यक तार झिक्ने, होर्डिङ् बोर्ड हटाउने कामलाई तीव्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको अधिकारीले बताएका थिए ।

महानगरका प्रवक्ता नविन मानन्धरले विश्वास, विचार र विकासको रणनीतिमा काम गरिरहेका दाबी गरेका छन् । सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकको विश्वास जितेका छौँ । कार्य काल सुरु भएको १ बर्ष हुन लागेको छ । अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ, यसरी प्राप्त विचारका आधारमा विकास गर्नेछौं ।’

नागरिकका प्रश्न सुनिसकेपछि सुनुवाइ कार्यक्रमको अध्यक्षता गरेकी महानगरकी उपप्रमुख सुनिता डंगोलले सेवाग्राहीसँगको दोहोरो संवादबाट सुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने बताएकी थिइन् । उनले जनप्रतिनिधिहरुको तर्फबाट भनिन्, ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिवद्ध छौं ।’

उनले नेपाल भाषाको पाठ्यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा पाठ््यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौँको मौलिकतालाई आम नागरिकको जानकारीमा पुर्‍याउने लक्ष्य राखिएको बताइन् ।

प्रतिवेदनको उत्तर ‘तटस्थ’

सुनुवाइ सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा महानगरले देखाएको छ ।

सोधिएका प्रश्नमा नागरिकले दिएको उत्तरलाई नागरिक प्रतिवेदन पत्रका रुपमा प्रस्तुत गरिएको थियो । त्यसै गरी सेवा लिएर कार्यालयबाट बाहिर निस्कने सेवाग्राहीलाई सेवा कति सहजतापूर्वक प्राप्त भयो भनेर सोधिएको प्रश्नबाट प्राप्त भएको जवाफ समेटेर बहिर्गमन अभिमतको परिणाम तयार पारिएको थियो ।

यी प्रतिवेदनमा धेरै उत्तरकर्ताहरु तटस्थ देखिएका छन् । सेवा लिन जाँदा सूचना पर्याप्त प्राप्त गरेको, कम समयमा नै सेवा प्राप्त हुने गरेको, खोजेको कागज तुरुन्तै पाइने गरेको बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?