+
+

पर्यावरण जोगाउन मुम्बई छाडेर पहाड उक्लिएका गायक

सागर चन्द सागर चन्द
२०७९ फागुन ३० गते ९:५०

काठमाडौं । बीके सामन्तका लागि पहाड, नदी, गाउँ, बस्ती, वनजंगल गीतमा प्रयोग हुने विम्ब मात्र होइनन् । पर्यावरण र गाउँ जोगाउनै भनेर उनी भारतको मुम्बईबाट उत्तराखण्डको पहाड फर्किए ।

पहाडी पर्यावरण जोगाउन कस्सिएका सामन्तले पहाडका नाममा रचिएका विम्बहरु संकटमा परेको ठानेका छन् । उनको बुझाइमा यी विम्ब र प्रतीक नै पहाडलाई जीवन्त बनाउने तत्व हुन् । ‘रुख बिरुवा, पर्यावरण जोगाउनुपर्छ । ती साहित्यकारका विम्ब मात्र होइनन्, हाम्रो पहाडी जीवनका आधार हुन्,’ उनी भन्छन् ।

आफ्नो बहुचर्चित गीत ‘थल कि बजार’को नेपाली भर्सन बनेपछि गाउनका लागि काठमाडौं आइपुगेका सामन्तलाई भारतमा ‘पहाडी गायक’ भनेर चिनिन्छ । उत्तराखण्ड, हिमाञ्चल भारतका पहाडी प्रान्त हुन् । अनि त्यहाँ बस्नेलाई पहाडी भनिन्छ ।

‘पहाडी गायक’को उपमा पाउनु अगाडिसम्म सामन्त आफूलाई गायकका रुपमा स्थापित गर्न मुम्बई गएका थिए । तर फेरि पहाड फर्किए । ‘बलिउड’मा गाना गाउन मुम्बई गएका सामन्त ‘तु ऐजा औ पहाड’ गीत गाउँदै उत्तराखण्ड फर्किए ।

सेवा सुविधा र भविष्यको खोजीमा पहाडबाट मानिसहरु तराई अनि सहर पस्न थालेपछि उत्तराखण्डका धेरै गाउँ मान्छेविहीन अर्थात् ‘घोस्ट भिलेज’ बने ।

सुनसान बनेका गाउँघर देखेपछि गाए-

फुलिगए फूल, आएको छ बहार

डाँडामा बसेर म तिमीलाई बोलाउँदैछु, आऊ पहाड

बन्द यो घरद्वार  लागेका छन् उजाड

‘ती घोस्ट भिलेजलाई दोस्त भिलेज बनाउनुपर्छ भनेर पहाड फर्किनुहोस् भनेर गीत गाएँ,’ सामन्त सुनाउँछन् । सन् २०१९ मा सार्वजनिक भएको यो गीत उत्तराखण्डमा यति चर्चित भयो कि उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री त्रिवेन्द्र रावतले सामन्तलाई सम्मान गरे । उजाड भइसकेका गाउँबस्तीलाई फेरि हराभरा बनाउने उनको यो मुहिम यत्तिमै कहाँ सकिन्छ र ?

‘पर्यावरणमाथिको संकट कुनै एक क्षेत्रको मात्र होइन,’ सामन्त भन्छन्, ‘जंगल उत्तराखण्डको विनाश होस् वा नेपालको त्यसको असर हामी सबैले भोग्नुपर्छ ।’

सन् २०२२ मा उनले ‘पहाडको व्यथा’ सुनाए । भूकम्पीय दृष्टिले साह्रै जोखिमपूर्ण क्षेत्रमा पर्ने उत्तराखण्ड पछिल्लो समय एकपछि अर्को प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । विद्युत उत्पादनका लागि सुरुङ खनेपछि उत्तराखण्डको जोशीमठ भासिंदैछ, यस्तै हालत छ नैनीताल आसपासका क्षेत्रको । मानव निर्मित पूर्वाधारका कारण जोखिममा परेका नैनीताल र जोशीमठ लगायतका क्षेत्रको व्यथा सुनाएका छन् सामन्तले ‘पहाडको व्यथा’मा ।

प्रकृतिमाथि मानिसले गरिरहेको अन्धाधुन्ध दोहन र त्यसले पार्ने असरका बारेमा उनले गाएको बहुचर्चित गीत हो ‘पञ्चेश्वर बाँध’ । नेपाल-भारत सीमाना छुट्याउने महाकाली नदीमा बन्न लागेको पञ्चेश्वर बाँधको नेपालमा भन्दा भारतमा चर्को विरोध छ । करिब एक किलोमिटर लामो यो बाँध बनेमा वारिपारिका हजारौं मानिसलाई विस्थापित हुनेछन् ।

‘पञ्चेश्वर बाँध’ गीतको चर्चा गर्दै उत्तराखण्डको ‘राज्य समीक्षा’ अनलाइन लेख्छ, ‘पहाडमा कैयौं वर्षपछि यस्ता गीत गाइन्छ । गीतमा बाँध परियोजनाका ती पक्ष देखाइएका छन्, जसलाई नदेखेजस्तै गरिन्छ ।’

यो वारि ऊ पारि डुबी जाली थ्वाड दिनों का बाद

डांणां कांणां बाटा सब होलि बस रेत

न बास कोयल फिर न फुलली प्योली

न जा न जा यो भूमि छोडी, न जा न जा उ देश भावर

पञ्चेश्वर बाँध बनेपछि त्यस क्षेत्रका मानिसले भोग्ने पीडालाई सामन्तले कुमाउनी भाषामा सुनाएका छन् । भन्छन्, ‘म बाँधको पक्ष वा विपक्षमा छैन । मैले त बाँध बनेपछि जे हुन्छ त्यसको कुरा मात्र गरेको हुँ । बाँध बनेपछिको मञ्जर र त्यसले त्यहाँका मान्छेले भोग्ने व्यथाको वर्णन गरेको हुँ ।’

‘मित्रताको प्रतीक भनिने यो बाँधले नेपाल र भारतका धेरै मान्छेलाई रुवाउनेछ । धेरैलाई वर्षौंसम्म गरिबीको रसातलमा धकेल्नेछ,’ पञ्चेश्वर बाँधमाथि वृत्तचित्र बनाएका उत्तराखण्डका पत्रकार सुशील बहुगुणाले आफ्नो वृतचित्रमा भनेका छन् ।

बहुगुणाले पञ्चेश्वर बाँधले निम्त्याउने प्राकृतिक र मानवीय विनाशमाथि वृत्तचित्र बनाएपछि त हो सामन्तले गीत बनाउने सोच बनाएका । ‘बहुगुणाको डकुमेन्ट्री हेरेपछि मलाई गीत फुर्‍यो,’ सामन्त सुनाउँछन् ।

नेपाल र भारतले विद्युत र सिंचाईका लागि महाकाली नदीमा एक किलोमिटर लामो बाँध बनाउने बताउँदै आएका छन् । तर यो बाँधले दुवै देशमा गरी १४ हजार हेक्टर जमिन प्रत्यक्ष डुबानमा पर्नेछ । डुबान क्षेत्रबाट ८० हजारभन्दा बढी परिवार विस्थापित हुनेछन् । ती ८० हजार परिवारको पीडा गाएका छन् सामन्तले, ‘पञ्चेश्वर बाँध’ गीतमार्फत ।

डुबी जाला घरद्वार डुबी जाला खेत

डाँडाकाँडा सबैतिर होला रेत (बालुवा)

न कोइली बास्नेछ, न प्याउली फूल फुल्नेछ

बाँधले विस्थापित भएपछि उत्तराखण्डबासीको मूल संस्कृति नै नासिने पीडा पोखेका छन् सामन्तले गीतमा । ‘त्यहाँको मूल संस्कृति, त्यहाँका मानिसका जरा समाप्त हुनेछन्,’ उनी भन्छन् । बाँध बनेपछि सामन्तको गाउँ पनि डुब्नेछ । आफ्नै घरखेत समेत डुबानमा पर्ने भएपछि उनी प्रश्न गर्छन्, ‘हजारौं वर्षदेखि बसिरहेका मानिसको भूमि डुबाएर अचानक लौ तिमीहरु यहाँबाट उठेर जाउँ भन्यो भने कस्तो पीडा हुन्छ ? कहिल्यै सोच्नु भएको छ ?’

बाँध नबन्दै उत्तराखण्डबासीले बाँधको पीडा भोग्न थालिसकेका छन् । ‘बाटो बिग्रिएपनि बाँधले डुब्ने गाउँ त हो भनेर मर्मत गरिदिंदैनन् । अस्पताल बनाइदिंदैनन्, स्कुल बनाइदिंदैनन्,’ सामन्त पीडा सुनाउँछन् ।

बाँधले निम्त्याउने मानवीय र प्राकृतिक विनाशको पीडा व्यक्त गर्दै गाएको गीतका बारेमा उनी भन्छन्, ‘बाँध नबन्दै त हामीले यति कठिनाइ भोग्नुपरेको छ । बनिसकेपछि त हाम्रो दुर्दशा हुन्छ ।’

नदीनाला र गाउँबस्ती मात्र होइन, सामन्तले बाँझको रुख जोगाउन समेत गीत गाएका छन् । उत्तराखण्डबाट सुरु भएको ‘चिप्को आन्दोलन’का सुरुवातकर्ता तथा संसारभर ‘वृक्षमित्र’ भनेर चिनिने सुन्दरलाल बहुगुणा भन्ने गर्थे, ‘क्या हैं जंगल के उपकार, मिट्टी, पानी और बयार । मिट्टी, पानी और बयार, जिन्दा रहने के आधार ।’

तर हाम्रो विकास मोहले मानव जीवनका आधार मानिने माटो, पानी समाप्त हुँदैछन् भने बतास प्रदूषित हुँदैछ । सुन्दरलाला बहुगुणाको ‘चिप्को आन्दोलन’लाई सांस्कृतिक रुपमा पनि बलियो बनाउन सामन्तले गाए, ‘ओ बाँझ झुप्रर्‍याली बाँझ ।’

भारतको उत्तराखण्डदेखि नेपालको सुदूरपश्चिमसम्मका पहाडमा पाइने बाँझलाई सामन्त पहाडको जीवनका रुपमा अथ्र्याउँछन् । ‘पहाडको सान हो, पहाडको जीवन हो बाँझ,’ सामन्त सुनाउँछन् । यो जीवनदायी वृक्ष पछिल्लो समय जंगल फडानीको सिकार हुँदैछ ।

‘बाँझ, काफल देवदार, गुँरास मात्र रुख बिरुवा त होइनन् । यी जीवनदायी वृक्ष हुन्,’ सामन्त भन्छन्, ‘यी रुखबिरुवा नहुने हो भने हाम्रो जीवनमा कस्तो त्राहिमाम मच्चिएला, कल्पना गर्नुस् त ।’

मानव सभ्यताका लागि वनजंगल बिनाको जीवन कल्पना गर्न पनि असम्भव छ । यही बुझेका सामन्तले अरुलाई पनि बुझाउन ‘ओ बाँझ झुप्रर्‍याली बाँझ’ गाए-

पानी की खान तु बाँझ, ओ बाँझ झुपर्‍याली बाँझ

पहाड की सान तु बाँझ, ओ बाँझ झुपर्‍याली बाँझ

प्रकृतिबाट एकोहोरो लिने मात्र नभई प्रकृति जोगाउने पनि मान्छेकै कर्तव्य हो भन्छन् सामन्त । ‘प्रकृति रहे पो हामी रहौंला । हामीले आफूलाई जोगाउन पनि प्रकृति जोगाउनुपर्छ,’ सामन्त भन्छन्, ‘उत्तराखण्डको सुन पनि भनिने बाँझलाई नेपालको सुदूरपश्चिमी क्षेत्रमा पहाडी साल पनि भन्ने गर्छन् ।’

बाँझ जोगाउन सामन्तले लोक भाका नै टिपे । ‘ओ बाँझ झुपर्‍याली बाँझ,’ उत्तराखण्डको पुरानो लोकगीत हो । सुदूरपश्चिम क्षेत्रमा गाइने देउडामा पनि यो गीत प्रचलित छ । नन्दकृष्ण जोशीले ‘ओ बाँझ झुम्रेउली बाँझ’ भन्दै गीत गाएका छन् ।

पहाडमा जमिनको पानी संरक्षणका लागि बाँझ सबैभन्दा उत्कृष्ट रुख हो । पर्यावरण जोगाउने उत्तराखण्डको ‘कुमाउ वारियर्स’मा समेत सामेल रहेका सामन्त भन्छन्, ‘आधुनिकताका नाममा पर्यावरणबाट दूर गइरहेका छौं हामी । प्रकृति चाहिन्छ भनेर मान्छेलाई सचेत गराउने सानो प्रयास गरेको हुँ ।’

जलवायु विज्ञ कार्लोस नोर्बेले ‘आवर प्लानेट’ वृत्तचित्र शृंखलामा बताएअनुसार पृथ्वीको ६० प्रतिशत जंगल त हामीले मासु खाने जनावर पाल्न मात्रै मासेका छौं, ३० प्रतिशत जंगल खेतीपाती गर्न । बाँकी जमिन हामीले आफ्नो बासस्थान बनाउन फडानी गरेका छौं ।

वैज्ञानिकहरू पृथ्वीलाई जीवित ग्रह भन्छन् । पृथ्वीलाई जीवित ग्रह बनाउन पानी र रुखको ठूलो भूमिका छ । पृथ्वीलाई आफ्नो निवास बनाएका असंख्य जीव नै पृथ्वीका प्राण हुन् ।

पृथ्वीका असंख्य प्राण जोगाउनु मान्छेको मुख्य कर्तव्य हो भन्ने ठान्छन् सामन्त । ‘हामीले आफ्नो मात्र जीवन जोगाउने चक्करमा सम्पूर्ण पृथ्वीकै जीवन बर्बाद पार्‍यौं । हामी एक्लै मात्र यो पृथ्वीमा कहाँ बाच्न सक्छौ त ? हामी बाँच्न पनि पर्यावरण जोगिनुपर्छ,’ सामन्त भन्छन् ।

उनी अगाडि भन्छन्, ‘विकासका नाममा हिमालयको तलहटी (फेद) काटेपछि हामी कसरी जोगिन्छौं ?,’ सामन्त प्रश्न गर्छन्, ‘यी पहाड हाम्रा हिमालयका तलहटी हुन् । यी काटेपछि हाम्रा गाउँ, सहर सबैको नामोनिसान मेटिन्छ ।’

१७ वर्षपछि मुम्बईको बसाइ छाडेर उत्तराखण्ड नै बस्न सुरु गरेका सामन्तले उत्तराखण्डका पहाडको दुर्दशा देखे । पहाडमा अन्धाधुन्ध भइरहेको विकास देखे । जंगल मासेर बनाइएका सडक, विकास संरचना देखे । अनि उत्तराखण्डमा पर्यावरण जोगाउन कस्सिरहेका पत्रकार सुशील बहुगुणा, सुन्दर बहुगुणाका छोराको अभियानले सामन्तलाई पर्यावरण जोगाउने अभियानमा सामेल बनायो ।

‘कोही लेखेर, कोही एक्टिभिस्ट बनेर पर्यावरण जोगाउन लागेका छन् । म गीत गाएर पर्यावरण जोगाउने अभियानमा लागें,’ सामन्त भन्छन् ।

‘मेन स्ट्रिम’का गीत पनि गाउने सामन्त पछिल्लो समय भने पर्यावरणकै गीतमा केन्द्रित छन् । नेपालबाट फर्केर उत्तराखण्डको संस्कृति र त्यहाँ रहेका तालको विषयमा गीत गाउने उनको योजना छ ।

‘पर्यावरणमाथिको संकट कुनै एक क्षेत्रको मात्र होइन,’ सामन्त भन्छन्, ‘जंगल उत्तराखण्डको विनाश होस् वा नेपालको त्यसको असर हामी सबैले भोग्नुपर्छ ।’

सुदुरपश्चिमको डोट्याली र सामन्तको क्षेत्रमा बोलिने भाषा धेरै हदसम्म मिल्छ । ‘बैतडी, दार्चुला, झुलाघाट, धार्चुलातिर हाम्रो भाषा मिल्छ,’ सामन्त सुनाउँछन्, ‘हाम्रो भाषा, संस्कृति र भूगोल एउटै हो ।’ त्यसैले त उनका गीत सुदूरपश्चिम क्षेत्रमा पनि सुनिन्छन् । उनी आफैं पनि देउडा, ठाडीभाका सुन्छन् ।

सरहद वारिपारिको यही समान संस्कृतिकै उपज भन्नुपर्छ उनको चर्चित गीत ‘थल कि बजार’लाई गीतकार हर्क साउदले नेपालीमा अनुवाद गरे । यही गीत गाउन नेपाल आइपुगेका उनी पर्यावरणसम्बन्धीका आफ्ना गीत कसैले अनुवाद गरिदिए हुन्थ्यो भन्छन् ।

सामन्त भन्छन्, ‘हाम्रो भूगोल, भाषा र संस्कृतिमा धेरै समानता छन् । यी समानतालाई अब पर्यावरण जोगाउन एक ठाउँमा ल्याएर प्रयोग गर्नुपर्छ ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?