+
+
Shares
विशेष रिपोर्ट :

रेड पान्डा जोगाइरहेका पर्यावरण पहरेदार

कुनै बेला एशिया र युरोपमा फैलिएको रेड पान्डा (जसको नामबाट फायरफक्स इन्टरनेट ब्राउजर समेत छ) अहिले नेपाल, भारत, चीन, भूटान र म्यानमारमा करीब १० हजार मात्र बाँकी छ । नेपालका २५ वटा पहाडी र हिमाली जिल्लामा ५०० देखि १ हजारसम्म रेड पान्डा रहेको अनुमान छ ।

दीपक अधिकारी दीपक अधिकारी
२०८२ असार २६ गते २१:४८
२०८० साल मंसिर २९ गते काठमाडौंमा ग्रीन एम्बेसेडर पुरस्कार पाएपछि वन अभिभावक सूर्य भट्टराई ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको देउराली डाँडास्थित हिमालयन हाब्रे केन्द्रमा रेड पान्डाको संरक्षण र जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।
  • स्तनधारी एइलुरिडे परिवारको एक मात्र जीवित सदस्य मानिने यस प्राणीलाई ‘लिभिङ फोसिल’ अर्थात् जीवित जीवाष्म पनि भनिन्छ ।
  • रेड पान्डा संरक्षणका लागि अनुसन्धान, अनुगमनका अभियानहरू र स्थानीय महिलाहरूलाई रोजगारी प्रदान गर्ने कार्यक्रम पनि चलाइएको छ।

ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने बाटोको छेवैमा छ, देउराली डाँडास्थित हिमालयन हाब्रे केन्द्र । स्थानीय काठ र ढुंगा माटोले बनेको तीनतले घरमा हुस्सु र कुहिरोले छोपेको हालैको एक मध्याह्नमा एक्लै थिए, निशान लिम्बू । छिमेकी पाँचथर जिल्लाको यासोकमा जन्मिएर एक वर्षअघि मात्र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी यहाँ एक महिना अघि मात्र आएका हुन् ।

जून ५ को विश्व वातावरण दिवस नजिकिंदै जाँदा उनको जिम्मेवारीको भारी बढ्दो थियो : ‘वी प्लान्ट, वी केयर’ नारा अन्तर्गत स्कूलमा बिरुवा बाँड्ने, विद्यार्थीलाई केन्द्रमा बोलाएर रेड पान्डा (स्थानीय भाषामा हाब्रे) बारे जानकारी दिने र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को संकटापन्न जनावरको सूचीमा परेको यसको संरक्षणका लागि स्थानीयलाई जागरुक बनाउने ।

वन्यजन्तु क्षेत्रमा काम गर्ने नर्डन्स आर्क नामक स्वीडिस संस्थाको सहयोगमा रेड पान्डा नेटवर्कले बनाएको भवनमा शोध अध्ययनकर्ताका लागि बस्ने व्यवस्था पनि छ । काठमाडौंको सस्टेनेबल माउन्टेन आर्किटेक्चर नामक कम्पनीले डिजाइन गरेको भवनको पहिलो तलाको भित्तामा रेड पान्डाको वासस्थान, आहार र आनीबानी अनि जोखिमबारे पोस्टर टाँसिएका थिए । जताततै सोही जन्तुसँग जोडिएका सामग्री थिए । तर जिउँदो रेड पान्डा त्यहाँ थिएन । मैले निशानलाई सोधें, ‘के यहाँ नजिकै रेड पान्डा भेटिन्छ ?’ उनले छेवैको देउराली भित्री सामुदायिक वनतिर देखाउँदै भने, ‘यही हो रेड पान्डाको वासस्थान ।’

कुनै बेला एशिया र युरोपमा फैलिएको रेड पान्डा (जसको नामबाट फायरफक्स इन्टरनेट ब्राउजर समेत छ) अहिले नेपाल, भारत, चीन, भूटान र म्यानमारमा करीब १० हजार मात्र बाँकी छ ।

नेपालका २५ वटा पहाडी र हिमाली जिल्लामा ५०० देखि १ हजारसम्म रेड पान्डा रहेको अनुमान छ जहाँका जंगलका निगालो, मालिङ्गो, फलफूल, कीराफट्यांग्रा र केही चराका अण्डा खाएर यो बाँच्छ । समुद्री सतहदेखि १८०० देखि ४८०० मिटरसम्मका गुराँस र बाँस भएका शीतोष्ण पतझड र कोणधारी जंगलमा बसोबास गर्ने यो जनावर निकै लजालु हुन्छ । रातो, सेतो छिर्केमिर्के रंगको रेड पान्डा धेरैजसो रूखका हाँगा वा प्वालमा लुकेर बस्छ ।

संसारकै सबैभन्दा संकटापन्न प्राणीमध्येको रेड पान्डा आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको छ । सडकले उसको वासस्थान काट्दैछ, जलविद्युत् आयोजनाले आहाराको स्रोत खण्डित पार्दैछ र जलवायु परिवर्तनले मुख्य आहार बाँसको फुल्ने चक्र बिगार्दैछ ।

रेड पाण्डा पाइने स्थान (रातो थोप्लो) । स्रोत : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

पछिल्ला दशकमा यसको वासस्थानमा मानवीय गतिविधि ह्वात्तै बढेको छ । त्यहाँ जंगलको विनास बढ्दो छ । बाढी–पहिरोका कारण वासस्थान बिथोलिनुका साथै पानीको स्रोत घटेका छन् । पाथीभरा क्षेत्रमा छाडिने भुस्याहा कुकुरले समेत आक्रमण गर्ने गरेका छन् । मानिसलाई आक्रमण नगर्ने, बालीनाली नष्ट नगर्ने अर्थात् मानव–वन्यजन्तु द्वन्द्वमा नपर्ने यो सोझो प्राणी जोखिममा परेको छ ।

हिमाली पारिस्थितिकीय वातावरणमा रम्ने यो संकटापन्न प्रजाति बचाउने प्रयासहरू भएका छन् । तिनैमध्येको एक हो, रेड पान्डा नेटवर्कको सहयोगमा सञ्चालित वन अभिभावक कार्यक्रम । रेड पान्डाको वासस्थान नजिक बस्ने वन अभिभावकहरूले त्यसको वासस्थानको अनुगमन गर्छन् । त्यसको उपस्थिति, आहार, वासस्थानमा देखिएको परिवर्नन लगायत विवरणहरू संकलन गरी रेड पान्डा नेटवर्कलाई पठाउँछन् । यसबाट चोरी–शिकारी कम भएको र यसको संरक्षणका लागि योजना बनाउन सजिलो भएको बताइन्छ ।

रेड पान्डाको वासस्थान रहेका जिल्लामा कार्यरत १०० भन्दा बढी वन अभिभावक मध्येका एक हुन्, ४८ वर्षीय सूर्य भट्टराई । ताप्लेजुङको मामाङ्खेका किसान भट्टराईले हिमाली संरक्षण मञ्च नामक संस्थाबाट रेड पान्डा अनुगमन सम्बन्धी तालिम लिए । उनी १२ वर्षदेखि सुदाप सामुदायिक वनका रेड पान्डा संरक्षणका लागि वन अभिभावकका रूपमा काम गरिरहेका छन् ।

प्रत्येक तीन महिनामा गरिने अनुगमनमा उनी र अर्का वन रक्षक बिहानै जंगल पस्छन् । जीपीएस ट्रयाकर, मोबाइल फोन, डायरी, कलम, टेप र रेड पान्डाको दिसा नाप्ने साधन बोकी २–३ घन्टा हिंडेर उनी गणना र अनुगमनमा सरिक हुन्छन् । रेड पान्डाको वासस्थानलाई विभिन्न ब्लकमा विभाजन गरिएको हुन्छ जसमा ट्रान्जेक्ट विधि प्रयोग गरी अनुगमन गरिन्छ । हरेक ब्लकमा चार वटा ट्रान्जेक्ट हुन्छन् । ‘एउटादेखि अर्को ट्रान्जेक्टको दूरी २५० मिटर हुन्छ । ट्रान्जेक्टको १०–१५ मिटर तल–माथि हेर्दै हिंड्छौं’, उनी भन्छन् ।

भट्टराई जस्ता वन अभिभावक रेड पान्डा संरक्षणको अग्रपंक्तिमा छन् । उनीहरू घामपानी, कठिन हिमाली भूगोल र जंगली जनावरको आक्रमणको जोखिमका बावजुद खट्छन् । गत जेठमा अनुगमन गर्दा रेड पान्डाको पदचिह्न भेटेको सम्झिंदै भट्टराई भन्छन्, ‘दोस्रो दिन बिहान मौसम राम्रै थियो । तर दिउँसो ठूलो पानी पर्‍यो । घर फर्किंदा हावाहुरीले झण्डै उडायो ।’

एक वर्षअघि उनले घना जंगलभित्र रेड पान्डा पनि देखे । बिहान ११ बजेको थियो । एउटा अग्लो रूखमा बसेर रेड पान्डा चरिरहेको थियो । छेलिएर बसेको हुनाले फोटो खिच्न नपाएकोमा उनलाई अझैसम्म थकथकी छ । ‘सायद मान्छेको संकेत पाएर होला । एउटा मात्र थियो । फोटो चाहिं खिच्न पाइएन’, उनले भने ।

जीवित जीवाष्म

स्तनधारी एइलुरिडे परिवारको एक मात्र जीवित सदस्य मानिने यस प्राणीलाई ‘लिभिङ फोसिल’ अर्थात् जीवित जीवाष्म पनि भनिन्छ । वैज्ञानिकहरूका अनुसार एइलुरिडे परिवारको पहिलो सदस्य पृथ्वीमा झण्डै २ करोड ५० लाख वर्ष अघि देखापरेको थियो । तिनीहरूका निकटतम आफन्तहरू ५० लाखदेखि १ करोड वर्ष पहिले नै लोप भइसकेका छन् । अहिले पृथ्वीमा रेड पान्डा बाहेक तिनीहरूसँग मिल्दोजुल्दो अन्य कुनै प्रजाति अस्तित्वमा छैन ।

रुखमा बसिरहेको रेड पाण्डा

‘अझ चाखलाग्दो कुरा के छ भने, विकासक्रमको दौरान तिनीहरूमा आफ्ना लाखौं वर्ष पुराना पुर्खाहरूको तुलनामा शारीरिक संरचनामा अपेक्षाकृत कम परिवर्तन आएको छ’ रेड पान्डाका अध्येता डम्बर विष्ट भन्छन् । ‘मांसहारी (कार्निभोर) वर्गमा वर्गीकृत भए पनि तिनीहरू शाकाहारी आहारमा अभ्यस्त भइसकेका छन्, जसले गर्दा प्राणी जगतमा उनीहरूको पहिचान एक विशिष्ट प्रजातिको रूपमा छ ।” रेड पान्डाको खानामा आएको यस्तो बदलावले सामान्यतया मांसहारी जनावरमा यस्तो विकास कसरी हुन्छ भन्ने विकासवादी प्रक्रियालाई बुझ्ने अवसर प्रदान गर्ने उनले बताए ।

३ देखि ६ किलोसम्म तौल र झण्डै शरीरजत्तिकै लामो पुच्छर हुने यस जीवबारे अध्ययन, अनुसन्धान र संरक्षण नेपालमा ढिलो गरी मात्र शुरू भयो । नेपालमा सबैभन्दा पहिला यसको अध्ययनको श्रेय अगुवा संरक्षणविद् प्रह्लाद योञ्जनलाई जान्छ । सन् १९८६ मा अमेरिकाको मेन विश्वविद्यालयमा पीएचडी शोधका लागि उनले लाङटाङ राष्ट्रिय निकुञ्जमा रेड पान्डामाथि नेपालकै पहिलो अध्ययन गरेका थिए (उनको दश वर्षअघि साइकल दुर्घटनामा परी निधन भयो) । करीब २२ किलोमिटर क्षेत्रफलमा दुई पटक उनले गरेको अध्ययनमा ९ र ७ वटा रेड पान्डा निकुञ्जमा भेटिएका थिए । ‘इकोलोजी एण्ड कन्जर्भेसन अफ रेड पान्डा इन् द नेपाल हिमालय’ शीर्षक डिसेम्बर १९८९ मा प्रकाशित उनको शोधमा चौंरी पालनका कारण रेड पान्डाको वासस्थानमा असर परेको उल्लेख छ ।

योञ्जनको पहिलो र महत्वपूर्ण अध्ययनपछि पिस कोर स्वयं सेवकका रूपमा नेपाल आएका ब्रायन विलियम्सले यसको संरक्षणका लागि ठोस कदम चाले । पाँचथरको उत्तरी गाउँ प्राम्बुङमा सन् १९९७ मा पढाउन आएका यी अमेरिकीले रेड पान्डाको चोरी शिकारीबारे थाहा पाए । त्यसको पाँच वर्षपछि उनी अमेरिकाकै फुलब्राइट छात्रवृत्ति पाएर नेपाल फर्किए र इलाममा रेड पान्डाबारे शोध गर्न थाले । उनी यस दुर्लभ जनावरको अध्ययनमा मात्र सीमित भएनन् । सन् २००७ मा उनको अगुवाइमा रेड पान्डा नेटवर्कको स्थापना भयो । हाल यसको एशियाली मुख्यालय काठमाडौंमा छ ।

विलियम्सले रेड पान्डा चोरी शिकारीको भेउ पाउनुभन्दा दशकअघि म ताप्लेजुङ र पाँचथरमा हुर्किएँ । दुई–तीन पटक म ताप्लेजुङको हाम्रो थुम्बेदिनमा रहेको पुर्ख्यौली घरबाट सिकैजा हुँदै फावाखोला तरेर पाथीभरा गएको सम्झिन्छु । पाथीभरा मुनिको जंगलका गोठमा समेत रात बिताइयो । बाघ–भालुका किस्सा सुनिन्थ्यो तर रेड पान्डाको चर्चा हुन्थेन ।

सन् २०१६ मा गरिएको रेड पान्डाको पहिलो राष्ट्रिय सर्वेक्षणले यसको सम्भावित संख्या र वासस्थानबारे पहिलो पटक विस्तृत जानकारी दिएको थियो । त्यसपछि सन् २०१९ मा रेड पान्डामा अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा पीएचडी गर्ने क्रममा विष्टले रेड पान्डाको बारेमा विस्तृत अध्ययन गरे । उनले पाँचथर र इलाममा ६ वटा पोथी र ४ वटा भाले रेड पान्डामा स्याटेलाइट जीपीएस कलर जडान गरी करीब एक वर्षसम्म अध्ययन गरे ।

 रेड पान्डाको स्वस्थ संख्या हुनु भनेको नेपालको महाभारत पर्वत शृंखलाका साथै हिमाली भेगको पर्यावरण स्वस्थ हुनु हो ।

विष्टको अध्ययन अनुसार आफ्नो क्षेत्र निर्धारण गर्ने रेड पान्डाले १.४ वर्ग किलोमिटरदेखि ६.७ वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको थियो । दैनिक विचरण हेर्दा भालेले १.७ वर्ग किमी र पोथीले ०.९ वर्ग किमी अर्थात् भालेले झन्डै दोब्बर क्षेत्र विचरण गर्ने गरेको पाइएको थियो । पोथीहरूले आफ्ना छिमेकी पोथीहरूसँग कम क्षेत्र साझा गर्ने भएकोले यस्तो भएको विष्टले बताए । जबकि भालेहरूले एकभन्दा बढी पोथीको क्षेत्र विचरण गर्छन् ।

‘धेरैजसो मांसाहारी जनावरहरूको स्वभावसँग नमिल्ने रेड पान्डाहरूमा पोथी–केन्द्रित बसाइँसराइ देखिन्छ । दुई पोथी र एक भाले गरी तीन वटा आश्रित बच्चाहरूमध्ये दुवै पोथीहरूले आफ्नी आमाको क्षेत्रबाट १७–२४ किलोमिटर टाढा यात्रा गरेर आफ्नो वासस्थान स्थापना गर्नुअघि बसाइँ सरे । अर्कोतिर, भाले बच्चाहरू आफ्नो जन्मस्थानबाट धेरै टाढा गएनन्’, विष्टले आफ्नो अध्ययनको परिणाम सुनाउँदै भने ।

संसर्गको याम शुरू भएपछि अर्थात् तिनीहरूकी आमा अर्को प्रजननका लागि तयार भएपछि बच्चाहरू विचरण गर्न थाल्ने उनको अध्ययनले देखाएको थियो । ‘बच्चाहरू जनवरी–फेब्रुअरीमा आफ्नी आमासँग छुट्टिन्छन् र नयाँ वासस्थान खोज्न शुरू गर्छन् । उनीहरूलाई आफ्नो क्षेत्र स्थापना गर्न झन्डै तीन महिना लाग्छ’, उनले भने । एक्लै नयाँ यात्रामा निस्कनुपर्ने भएकोले यो तिनीहरूको जीवनको सबैभन्दा चुनौतीपूर्ण चरण भएको विष्ट बताउँछन् । ‘यस बाहेक उच्च गतिविधिको कारणले तिनीहरूलाई बढी ऊर्जा चाहिन्छ । तर हिउँदमा उसको खाना (बाँसका पात र टुसा) को गुणस्तर त्यति राम्रो हुँदैन ।’

सन् २०१६ मा गरिएको रेड पान्डाको पहिलो राष्ट्रिय सर्वेक्षणले यसको ७० प्रतिशत वासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर रहेको देखाएको थियो । यो तथ्य बाहिर आएपछि संरक्षित क्षेत्रभन्दा बाहिर समुदायमा आधारित संरक्षणमा जोड दिन थालिएको रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले बताए । ‘निकुञ्जभित्र त सेना हुन्छ । अरू जनशक्ति हुन्छ । तर सबैभन्दा बढी समस्या जहाँ कुनै संयन्त्र छैन, त्यहाँ पाइयो । त्यसैले हामीले समुदायलाई नै संरक्षणको केन्द्रमा राख्ने योजना गर्‍यौं’, उनले भने । स्थानीय जनतालाई यसको महत्व बुझाउने, कक्षाका पाठ्यक्रममा रेड पान्डा बारेको पाठ्यपुस्तक समावेश गर्नेदेखि लिएर स्थानीय तहसँग मिलेर उसको वासस्थान विस्तार लगायतका काम यो संस्थाले गरेको छ ।

रेड पान्डाको संरक्षण किन जरूरी छ त ? वन्यजन्तु विज्ञहरूका अनुसार ‘इन्डिकेटर स्पिसिज’ मानिने यसको उपस्थितिलाई पारिस्थितिकी प्रणाली स्वस्थ भएको संकेतका रूपमा लिइन्छ । रेड पान्डा घना जंगल र हरियालीमा मात्र बाँच्छ । यसको वासस्थानमा नयाँ र पुराना रूख (जसमा ऊ आराम गर्छ र बच्चा पाउँछ) का साथै आहाराका लागि पर्याप्त बाँस र फलफूल चाहिन्छ ।

रुखमा बसिरहेको रेड पाण्डा

यसको स्वस्थ संख्या हुनु भनेको नेपालको महाभारत पर्वत शृंखलाका साथै हिमाली भेगको पर्यावरण स्वस्थ हुनु हो । ताइवानको एकेडेमिया सिनिकाबाट रेड पान्डामा पीएचडी गरेका हरिप्रसाद शर्मा पहाडमा पानीको स्रोत जोगाउन यसको संरक्षण जरूरी भएको बताउँछन् । ‘यसको लागि घना जंगल चाहिन्छ । जंगलमा पानीको स्रोतको संरक्षण हुन्छ’ उनी भन्छन्, ‘त्यसकारण यसको वासस्थानभन्दा तल बस्ने जनावर र मान्छे दुवैले यसबाट लाभ पाउँछन् ।’

रूखमा बस्ने जीवनशैली रेड पान्डाले शिकारी जनावरहरूबाट बच्नका लागि अपनाएको उपाय भएको वन्यजन्तु विज्ञहरू बताउँछन् । ‘तिनीहरूको रंग र शारीरिक बनावट नै शिकारीहरूबाट बच्नका लागि बनेको देखिन्छ । रूखमा उनीहरू यत्तिकै अप्ठ्यारो गरी बसे जस्तो देखिए पनि जमिनमा भने निकै फुर्तिला हुन्छन्, जसले शिकारीहरूबाट उम्कन मद्दत गर्छ’, विष्ट भन्छन् ।

रूखबाट ओर्लिने बित्तिकै रेड पान्डाले जोखिमको सामना गर्नुपर्ने हुन सक्छ । ताप्लेजुङमा कार्यरत हिमाली संरक्षण मञ्चका रमेश राईले भुस्याहा वा शिकारी कुकुरहरू रूखमुनि कुरेर बस्ने र रेड पान्डा जमिनमा आउनासाथ आक्रमण गर्ने गरेको सुनाए । (यो समस्या खासगरी पाथीभरा क्षेत्रमा चर्किंदै गएपछि कुकुरहरूको बन्ध्याकरण गरिएको छ ।)

खुला ठाउँहरू जस्तै खेत, गाईवस्तु चराउने गोठहरू र सडक उनीहरूका लागि जोखिमपूर्ण हुन्छन् किनभने त्यहाँ लुक्ने ठाउँ विरलै भेटिन्छ । रेड पान्डाले यस्ता खतराबाट जोगिने उपाय अपनाउने र जोखिमपूर्ण क्षेत्रहरूप्रति सचेत रहने गरेको आफ्नो अध्ययनले देखाएको विष्टले बताए । विष्टको अनुसन्धानमा रेड पान्डा सामान्यतया जोखिमपूर्ण क्षेत्रहरू रातको समयमा पार गर्ने देखाएको थियो । ‘यस्ता व्यवहारले खतराले भरिएको वासस्थानमा अनुकूलन गर्ने तिनीहरूको क्षमतालाई उजागर गर्छ । तर यसका पनि सीमाहरू छन् । बढ्दो खतरा र चुनौतीको सामना गर्न नसक्दा यसले प्रतिकूल परिणामहरू भोग्न सक्छ’, उनी भन्छन् ।

फल्स थम्ब

रेड पान्डाले बदलिंदो पारिस्थितिकी र मानवीय हस्तक्षेपबीच कसरी अनुकूलन गर्दै आएको छ भन्ने दृष्टान्त ‘फल्स थम्ब’ भनिने औक्लो जस्तो उसको अंग हो जसले उसलाई रूख चढ्न र बाँसको टुसा र पात समाउन मद्दत गर्छ । आफ्नो शरीर जत्तिकै लामो पुच्छर र भुत्ला भएको खुट्टाका पञ्जाका कारण यो जनावर ठण्डीमा समेत जिउन सक्छ ।

स्थानीय समुदायलाई संरक्षणको केन्द्रमा राख्ने प्रयासहरू कति प्रभावकारी भएका छन् भन्ने आधार त छैन तर हिमालयन हाब्रे केन्द्रका निशान लिम्बू, वन अभिभावक सूर्य भट्टराई र चन्द्रकुमारी लिम्बू जस्ता पर्यावरण पहरेदार नै यस प्रजातिका लागि अन्तिम रक्षा पंक्ति हुन् ।

‘रेड पान्डाको खाद्य साङ्लोमा खासै भूमिका छैन । यसलाई मलसाप्रो, चील आदिले खान्छ तर यो वन्यजन्तुको प्राथमिक शिकार होइन’, रेड पान्डा नेटवर्कका शेर्पाले भने । उनका अनुसार पाचन प्रणाली मांसहारीको जस्तो भएको रेड पान्डा खानेकुराको कमीले गर्दा शाकाहारी भएको हुनसक्छ । तर ऊ शाकाहारी हुँदा धेरैजसो बाँसको पात र टुसामा भर पर्ने भएकाले उसलाई सम्भवत: क्यालोरी नपुग्ने अवस्था आएको हुनसक्ने उनले बताए । एक अध्ययन अनुसार एक दिनमा उसले करीब दुई किलोसम्म बाँसका पात र टुसा खान्छ । शेर्पाले बाँसबाट धेरै पौष्टिक तत्व नपाइने भएकाले उसले धेरै आराम गर्नुपर्ने हुनसक्ने बताए । तर उसको यस स्वभावलाई कतिपयले अल्छीपनको रूपमा लिन्छन् ।

त्यसो त चिनियाँ र नेपाली वैज्ञानिकको टोलीले गरेको अध्ययनले रेड पान्डाका दुई प्रजाति रहेको देखाएको छ । हाल चीनको चाइनिज एकेडेमी अफ साइन्सेजको इन्ष्टिच्युट अफ जुलोजीमा पोस्ट डक अध्ययन गरिरहेका प्राणीशास्त्री अर्जुन थापाले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर गरेको अध्ययनले पूर्वी हिमाली क्षेत्रमा फैलिएको रेड पान्डाका दुई प्रजाति रहेको फेला पारेको थियो । सन् २०२० फेब्रुअरीमा ‘साइन्स एड्भान्टेज’ जर्नलमा छापिएको लेख अनुसार नेपाल, भूटान, उत्तरी भारत, उत्तरी म्यानमार, तिब्बत र चीनको पश्चिम युनान प्रान्तमा फेला परेको हिमालयन रेड पान्डा हो भने चीनको सिचुवान प्रान्तमा पाइएको प्रजाति चिनियाँ रेड पान्डा हो । यो टोलीले ६५ वटा रेड पान्डाको आनुवंशिक अध्ययन गरेर सो निष्कर्ष निकालेको थियो । रेड पान्डा नेटवर्कका शेर्पाले भने यो बहस प्राज्ञिक क्षेत्रमा सीमित रहेको र अहिले रेड पान्डालाई एउटै प्रजाति मानिने बताए ।

आफ्नो विकासक्रममा यो परिस्थिति अनुसार घुलमिल हुँदै आए पनि पूर्वी नेपालको इलाम–पाँचथर–ताप्लेजुङ कोरिडोरमा रहेको यसको संख्या कुनै महामारी फैलिएमा सोत्तर हुनसक्ने शेर्पाको आकलन छ । ‘जब कुनै प्रजातिको संख्या एक ठाउँमा मात्र सीमित हुन्छ, तब उसले आफ्नो परिवार भित्र मात्र बच्चा जन्माउँछ’ उनले भने, ‘त्यसबाट उन्नत सन्तान जन्मिंदैन । यस्तोमा कुनै महामारी वा रोग लाग्यो भने सबै सखाप पनि हुनसक्छ ।’

यसको समाधानका लागि भूपरिधि स्तरको संरक्षण जरूरी भएको उनले बताए । कञ्चनजंघा संरक्षण क्षेत्र र इलामसँग जोडिएको भारतको पश्चिम बंगालस्थित सिंहलीला राष्ट्रिय निकुञ्ज बीचको रेड पान्डाको वासस्थान खण्डीकृत भएकोले त्यसलाई जोड्न रेड पान्डा नेटवर्कले पुन:रोपण अभियान शुरू गरेको छ ।

यसअघि नै नेपाल–भारत सीमामा पर्ने इलामको जौबारीमा २०० हेक्टर जंगलमा रूख रोपिएको छ । त्यस्तै हालै मात्र इलाममा ८०० रोपनी जग्गा किनेर सरकारलाई हस्तान्तरण गरी वृक्षरोपण शुरू गरिएको शेर्पाले बताए । ‘रेड पान्डाको सन्तान उन्नत होस् भन्ने प्रयोजनका लागि नेपाल पट्टिकाले भारततिरका रेड पान्डासँग संसर्ग गर्नुपर्छ । जंगल जोडियो भने उनीहरू ओहोरदोहोर गर्न सक्छन्’, उनले भने । त्यसैगरी इलाम नगरपालिका वडा नं ३ को पुवामझुवा क्षेत्रमा ११६ हेक्टर सामुदायिक वनलाई रेड पान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । पालिकास्तरबाट रेड पान्डाका लागि भनेर घोषणा गरिएको यो पहिलो सामुदायिक संरक्षण क्षेत्र हो ।

रेड पान्डाले बच्चा पाउने याम मनसुन शुरू हुँदै गर्दा हामी त्यसको वासस्थान ताप्लेजुङको देउरालीबाट ओरालो लाग्यौं । सदरमुकाम फुङलिङ नजिकैको गाउँ फुरुम्बुमा निर्माणाधीन सडक छिचोल्दै सानो गाउँमा रहेको विद्यालय पुग्यौं जसको खेलमैदानमा युवाहरू भलिबल खेल्दै थिए ।

रेड पाण्डा नेटवर्कको सहयोगमा ताप्लेजुङको फुरुम्बुमा सञ्चालित अल्लोबाट बनेका सामग्री बनाउने संस्थामा कार्यरत दीपा लिम्बु ।

विद्यालयको कुनामा रहेको भवनमा भेटिइन्, चन्द्रकुमारी लिम्बू । उनी सहित १६ महिलाले दुई वर्षदेखि चलाइरहेका छन्, अल्लो प्रशोधन कपडा उद्योग जसमा सिस्नोलाई प्रशोधन गरी धागो निकालेर र जंगलबाट लोक्ता ल्याई पकाएर प्रशोधन गरी झोला, पर्स, रुमाल, टोपी, सर्ट र कोटका कपडा आदि बनाउने गरिएको छ ।

रेड पान्डा नेटवर्कको सहयोगमा सञ्चालित यो कार्यक्रम अन्तर्गत महिलाहरूको रोजगारी अभिवृद्धिका लागि १६ वटा लुगा सिउने मेसिन र ४ वटा तान दिइएको छ ।

यहाँका उत्पादनमध्ये रेड पान्डाको तस्बिर भएको झोला स्कुले विद्यार्थीले मन पराएको लिम्बूले बताइन् । ‘मेरो झोलामा रेड पान्डा हुनुपर्छ भन्ने धेरै विद्यार्थीको माग छ’, उनले भनिन् । यहाँका अधिकांश सामग्री हिमाली संरक्षण मञ्चको सहयोगमा काठमाडौंमा बिक्री गरिन्छ ।

स्थानीय समुदायलाई संरक्षणको केन्द्रमा राख्ने यस्ता प्रयासहरू कति प्रभावकारी भएका छन् भन्ने आधार त छैन तर हिमालयन हाब्रे केन्द्रका निशान लिम्बू, वन अभिभावक सूर्य भट्टराई र चन्द्रकुमारी लिम्बू जस्ता पर्यावरण पहरेदार नै यस प्रजातिका लागि अन्तिम रक्षा पंक्ति हुन् जसले नेपालको बदलिंदो परिदृश्यमा रेड पान्डालाई बचाउन अहम् भूमिका खेलेका छन् ।

ताप्लेजुङको देउरालीमा हिमालयन हाब्रे केन्द्रको भवनको अगाडि निशान लिम्बु ।
लेखक
दीपक अधिकारी

अधिकारी नेपालको एक द्विभाषिक तथ्य जाँच वेबसाइट नेपाल चेकका सम्पादक हुन् । उनले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबाट रिपोर्टिङ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?