+
+

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

रासस रासस
२०७९ फागुन २९ गते २०:४२

२९ फागुन, ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ ।

पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुने चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रुपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । ‘गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर ३८ हजारदेखि ४० हजारमा कारोबार भइरहेको छ’, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।

गत वर्ष १८ हजार हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।

व्यवसायीका अनुसार चिराइतो सुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । ‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा रु एक हजार बढी दिन्छन्’, व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।

मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् । लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन रु ३२/३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावसायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए ।

यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् ।

तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए । ‘गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ’ उनले भने ।

उता सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो सङ्कलन भएको बताए । उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए ।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ ।

भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।

औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?