+
+

विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुरू गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:४७

३० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ-नयाँ प्रविधिको आवश्यकता रहेको छ। चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ।’

उनले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे। उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे ।

उनले भने, ‘पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ।’

उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए । प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

उनले भने, ‘दुई देशबीचको व्यवसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको छ । अबका दिनमा पनि निजी क्षेत्रहरुले दुई देशबीचको व्यवसायलाई प्रवर्द्धन गर्न त्यत्तिकै भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।’

उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।

‘चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकहरुलाई पनि विदेश जाने अनुमति दिएको छ । हामी छिमेकी देश भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकहरुको स्वागतका लागि तयार छौँ । ’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए । उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे ।

दुई पक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए । उनले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि बताए । उनले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताए ।

उनले भने, ‘चीन नेपालको राम्रो मित्र हो। विगत ६७ वर्षदेखि नेपाल र चीनबीछ दौत्य सम्बन्ध कायम रहेको छ । नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिइ बजारमा पहुँच बिस्तार गरेको छ। त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ।’

कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ । हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ । जलविद्युत, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग गर्ने हामीले एक किसिमको सोच बनाएका छौँ ।’

राजदुत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल सुरू भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो ।

बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?