+
+
Shares

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १ गते १९:५३

१ चैत, काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए ।

अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताए । यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।

‘संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ,’ झाले भने, ‘बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने निर्णय गरिएको छ ।’

संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीले बजारमा बिक्री गर्ने चार प्रकारका प्याकेटको दूधको मूल्य निर्धारण भने संस्थानको बोर्ड बैठक सकिएपछि थाहा हुने बताए । हाल संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अधिकारीकाअनुसार सबै दूधमा प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने देखिन्छ । तर, ठ्याक्कै कति बढ्यो भन्ने साँझसम्म मात्रै थाहा हुने उनले बताए ।

महाप्रबन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ ।

गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?