+
+
स्ववियु चुनाव :

त्रिचन्द्रमा एकातिर परीक्षा, अर्कातिर चुनावको चटारो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत २ गते २१:०४

२ चैत, काठमाडौं । बिहीबार दिउँसो काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस पुग्दा दुई खाले वातावरण देखियो ।

एक : प्राङ्गण र बगैंचातिर विद्यार्थीहरु स्ववियु चुनावबारे गफिइरहेका थिए । क्याम्पस परिसरमै एक समूह नमूना मतदान गराइरहेको थियो । ‘फर्जी मतदान गर्नु भएन’ नमूना मतदानमा खटिएकाहरु मतदानको प्रक्रिया सिकाउँदै थिए ।

विद्यार्थीलाई आफ्नो पक्षमा पार्ने, चुनाव जित्ने रणनीति बनाउनेमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को क्याम्पस कमिटी पदाधिकारीका आकांक्षीहरुको मेहनत प्रष्टै देखिन्थ्यो ।

विद्यार्थी नेताहरुको चुनावी रन्कोमा हुन सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मीहरु क्याम्पसभित्रै तैनाथ थिए । गेटको दायाँवायाँ समेत नेपाल प्रहरी खटाइएको थियो । बुधबार मात्रै क्याम्पसमा तोडफोड भएकाले पनि सुरक्षा सतर्कता अपनाइएको हो ।

दुई : कक्षाकोठामा अध्यापन चलिरहेको थियो । क्लास जाने र सिधै घर निस्कने अर्थात, स्ववियु चुनावलाई मतलब नगर्ने विद्यार्थीहरु पनि थिए । तर, यो संख्या क्याम्पस परिसरमा नअडिएर हो वा अन्य कारणले कम देखिन्थ्यो ।

विद्यार्थी नेताहरु लामो समयपछि स्ववियु चुनाव हुन लागेकाले चुनाव केन्द्रित गतिविधि हुनु स्वभाविक ठान्छन् ।

चुनावी माहोलको ब्याख्या गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट क्याम्पस कमिटीमा स्ववियु सभापतिका दाबेदार सुमन बसौला भन्छन्, ‘यो क्याम्पसले मुलुकमा धेरै ठूला व्यक्तिहरु जन्माएको छ । फेरि पनि जन्माउनेछ ।’

स्ववियु अध्यक्षका आकांक्षी बाँयाबाट क्रमशः नेविसंघ संस्थापनका विपिन ढुंगाना, अनेरास्ववियुका जगतजंग शाही, अखिल क्रान्तिकारीका अशोक भण्डारी र नेविसंघ संस्थापन इतरका सुमन बसौला ।

बसौलाले भने जस्तै धेरै ठूला नेताहरु खासगरी कांग्रेसका नेताहरु उत्पादन भएको थलो हो – त्रिचन्द्र क्याम्पस । कांग्रेस सभापति शेरबहादुर देउवा त्रिचन्द्रकै विद्यार्थी हुन् ।

सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका देउवा पछि नेविसंघको सभापति भए । देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्ने अवसर पाउने नेतामा पर्छन् । पाँचौँ पटक प्रधानमन्त्री भइसकेका देउवा अहिले पनि नेपाली कांग्रेस संसदीय दलको नेता हुन् ।

कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, दिपक गिरी, किशोर सिंह राठौर, शंकर भण्डारी जस्ता नेताहरु त्रिचन्द्रकै उत्पादन हुन् । शीर्ष नेताहरु नै उत्पादन भएको क्याम्पस भएर होला हालसम्म पनि त्रिचन्द्रमा नेविसंघको प्रभाव राम्रो छ । क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारी लगायत क्याम्पसका पदाधिकारीहरुमा पनि कांग्रेस निकटस्थहरु बढ्ता छन् ।

तथापि, विगतको प्रभाव खस्केला कि भन्ने चिन्ताले नेताहरुलाई तर्साउन थालेको छ । त्यसका लागि मिल्नेसम्मको प्रयास गरेका छन् । आरोप लगाउनेहरु तीन वटा भर्ना काउण्टर नै कब्जा गरेर भर्ना नै विद्यार्थीहरु आफैंले गरेको बताउँछन् ।

गत फागुन ४ गतेसम्म भर्नाको समय थियो । क्याम्पस प्रशासन र कांग्रेस निकट विद्यार्थी संगठनको मिलेमतोमा फागुन ४ गते फर्जी भर्ना गराइएको आरोप एमाले र माओवादी निकट विद्यार्थी संगठनले लगाएका छन् ।

यसबारे स्ववियु निर्वाचन अधिकृत राजेन्द्र गौतम भन्छन्, ‘४ गते गतेकै भौचर छ । तर, भर्ना ७/८ गते पनि भएका छन् । केही भर्ना काउण्टर विद्यार्थीहरुले बन्द गरिदिँदा र अन्य विविध कारणले त्यस्तो हुन गएको हो ।’

फर्जी भर्नाको विवादले चैत ५ गते अन्यत्र चुनाव हुँदै गर्दा त्रिचन्द्रमा ९ गते मात्रै हुने भएको छ । ‘नियम अनुसार भर्ना भएकाहरु कायम रहने । नियम भन्दा बाहिर गएर भर्ना भएकाहरुलाई हटाउने सहमति भएअनुसार निर्वाचनको संशोधित नयाँ तालिका सार्वजनिक गरिएको हो’ क्याम्पसका सहायक प्रमुख शिव कुमार महतोले अनलाइनखबरसित भने ।

केन्द्रीय राजनीतिको छाया

चुनाव स्ववियुको क्याम्पस तहको हो । तर, क्याम्पसभित्रको चुनावी माहोल केन्द्रीय राजनीतिबाट निर्देशित भइरहेको भान हुन्छ । विद्यार्थीहरु स्वविवेकले नेतृत्वका लागि दाबी गर्न सकिरहेका छैनन् । क्याम्पस कमिटीको पदाधिकारी हुनका लागि ठूला नेताको साथ र समर्थन खोजिरहेका छन् ।

नेविसंघका दुई धार प्रष्टै देखिन्छ । नेपाली कांग्रेस संस्थापन (शेरबहादुर देउवा) पक्षबाट बिपिन ढुंगाना आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै गतिविधि सञ्चालन गरिरहेका छन् । संस्थापन इतर पक्षबाट सुमन बसौला सभापतिका दाबेदार छन् । दुई धारलाई चुनावमा एक धार बनाउने प्रयासमा छन् – कांग्रेस नेता शंकर भण्डारी । उनी पार्टीका तर्फबाट त्रिचन्द्र क्याम्पसको स्ववियु चुनाव हेर्न खटिएका नेता हुन् ।

त्रिचन्द्र क्याम्पसको हकमा माओवादी केन्द्रले संगठनबाट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष टुकमान महरालाई खटाएको छ । एमालेबाट ऐन महर खटिएका छन् । तर, नेताहरुले पनि तालमेलको प्रष्ट खाका दिन सकिरहेका छैनन् ।

चुनावी तालमेलका लागि अनेरास्ववियु र अखिल क्रान्तिकारी केन्द्रीय निर्देशन कुरिरहेका छन् । अखिल क्रान्तिकारीलाई केन्द्रले केन्द्रीय सत्तासमीकरण अनुसार नै क्याम्पस कमिटीमा भागवण्डा गरेर चुनाव लड्न आग्रह गर्ने विश्वास छ । अखिल क्रान्तिकारीबाट सभापतिका दाबेदार अशोक भण्डारी भन्छन्, ‘हामी सहकार्यका लागि खुला छौं । एक्लै चुनाव लड्न पनि सक्षम छौं ।’

एमाले र माओवादीका बीचमा तालमेलको प्रयास पनि चलिरहेको छ ।

‘कांग्रेसले गढ भन्छ । एमाले र माओवादी मिल्न सके चुनावी नतिजा कम्युनिस्टको पक्षमा आउन सक्छ’ एमालेका एक विद्यार्थी नेता गुनासो गर्छन्, ‘माओवादीको क्याम्पस कमिटी तयार छ । माथिल्लो कमिटीले मानिराखेको छैन ।’

एमाले विद्यार्थी नेता सुनिल कंडेल पनि एमाले र माओवादी मिल्न दुवै पार्टीको केन्द्रीय निर्णय नै आवश्यक हुने बताउँछन् । ‘माओवादीका साथीहरुलाई माथिबाट चर्को दबाब छ भन्ने सुनिन्छ । हामी एक्लै चुनाव लडने तयारी गरिरहेका छौं । तैपनि हेरौं मनोनयनको दिनसम्म के हुन्छ’, कंडेलले अनलाइनखबरसित भने । एमालेबाट सभापतिका दाबेदार छन् – जगतजंग शाही र मनराम थापा ।

९ चैतमा हुने चुनावका लागि ४ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । ५ र ६ गते उम्मेदवारहरुउपर दावी विरोध र उम्मेदवारी फिर्ताको लागि समय दिइएको छ । त्यसबेलासम्म कांग्रेस एकातिर र कम्युनिस्ट अर्कोतिर बनाउने प्रयासमा एमाले छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?