+
+
चिनियाँ प्राध्यापक तथा फिल्म विश्लेषक ली रानसँग संवाद :

‘नेपाली फिल्मले बेइजिङ र बलिउडलाई पछ्याउने होइन’

कलाको बजारीकरणका लागि अर्को हिस्सा पनि छ । बेइजिङ, सांघाईजस्ता ठूला फिल्म बजारमा यस्तो समस्या छ । ती सहरका युवा दर्शकले हलिउड र ठूला फिल्म हेर्न रुचि राख्छन् । यदि नेपाली फिल्म चिनियाँ बजारमा जाने हो भने राम्रो साझेदारको खोजी गर्नुपर्छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०७९ चैत ३ गते १७:४८

काठमाडौ । बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक तथा फिल्म विश्लेषक ली रान यतिबेला काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको छैटौं संस्करणको प्रमुख जुरीको रुपमा सहभागी हुन काठमाडौं आइपुगेकी उनले केही दिनदेखि नेपाली फिल्म र डकुमेन्ट्री अवलोकन गरिरहेकी छन् ।

फिल्ममा मौलिक दृश्यभाषाको पक्षमा वकालत गर्ने उनी नेपालले आफ्नै ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बनाउनुपर्ने खाँचो औंल्याउँछिन् । बलिउड र अन्य कुनै पनि फिल्मलाई पछ्याउने भन्दा मौलिक कथामा फिल्म बनाउन उनको सुझाव छ । फेस्टिभल दौरान प्राध्यापक लीले चीन र नेपाली फिल्मको आयामबारे कुरा गरेकी छन् । लीसँग अनलाइनखबरले गरेको संक्षिप्त संवाद :

नेपाली फिल्मलाई कसरी बुझ्नुभएको छ ?

जुरी प्रमुखको रुपमा मैले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको क्रममा केही नेपाली वृत्तचित्र र छोटा फिल्म हेरें । ती फिल्मले मेरो हृदयलाई छोए किनभने ती फिल्ममा नेपालको मौलिक संस्कृति थियो । केही डकुमेन्ट्रीलाई दुःख गरेर खिचिएको पाएँ । मलाई लाग्छ उनीहरुले आफ्नो फिल्मलाई धेरै मन पराउँछन् । हामीले धेरैभन्दा धेरै नेपाली फिल्म हेर्न सक्छौं र भविष्यमा राम्रोभन्दा राम्रो काम गर्न सक्छौं ।

नेपालका दुई छिमेकी चीन र भारत फिल्मका ठूला फिल्म बजार हुन् । यी बजारमा नेपाली फिल्मले कसरी पहुँच बढाउन सक्छन् ?

हामीलाई थाहा छ भारतीय फिल्मको विकासको इतिहास लामो छ । फिल्म निर्माणमा भारतले पछिल्लो समय ठूलै आकारमा पैसा खन्याइरहेको छ । फिल्मको लागि गुणस्तर अति आवश्यक छ । हुन सक्छ संख्याले गुणलाई पछ्याउन सक्छ । धेरै संख्यामा फिल्म बनाउँदा हामीले कतिपयमा गुणस्तर पाउन सक्छौं । मलाई लाग्छ, चीनमा पनि दर्शकले पछिल्ला केही वर्षमा भारतीय फिल्म हेरिरहेका छन् ।

नेपालमा केही फिल्ममेकरले भर्खरै करिअर सुरु गर्दैछन् । उनीहरुलाई हुर्कन केही समय लाग्छ । गुणस्तरमा सुधार आउन पनि केही समय लाग्छ । तर मलाई लाग्छ, फिल्म कला र प्रविधिको संयोजन हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको फिल्ममा दर्शकको हृदयलाई स्पर्श गर्ने केही तत्व हुनुपर्छ । यस्तो गर्न कलात्मक ढंगबाट कथा भन्नु जरुरी हुन्छ । नेपाली फिल्ममेकरले संस्कृतिलाई सतर्कतापूर्वक फिल्ममा समावेश गर्नुपर्छ र मौलिक संस्कृतिलाई संसारका दर्शकसामु पेस गर्नुपर्छ ।

यदि हामी राम्रो कमर्सियल फिल्म बनाउन चाहन्छौं भने प्रविधिमा पनि दक्ष हुनु जरुरी छ । हामीले हलिउडसँग तुलना त गर्दैनौं तर राम्रो आइडिया र राम्रो कथामा मेहनत गर्नुपर्छ । बेइजिङ फिल्म एकेडेमीको प्रमुखको नाताले पछिल्ला १० वर्षमा मैले धेरै फिल्म हेरें । केही फिल्ममा प्रविधिका उच्चतम प्रयोग थिएन तर तिनले सामान्य शैलीमा हृदयबाट कथा भनेका थिए । मलाई लाग्छ, नेपाली फिल्ममेकर र निर्देशकले राम्रो आइडियामा हृदयबाट कथा भन्नुपर्छ ।

नेपाली फिल्म प्रारम्भदेखि नै भारतीय फिल्मको शैलीबाट प्रभावित छ । बेइजिङले यसलाई कसरी हेरेको छ ? नेपालले बलिउडलाई पछ्याउनुपर्छ वा आफ्नै दृश्यभाषा बनाउनुपर्छ ?

मलाई लाग्दैन कि नेपाली फिल्ममेकरले बेइजिङ र बलिउडलाई पछ्याउनुपर्छ । यसरी पछ्याइने फिल्महरु प्रायः व्यावसायिक फिल्म हुन्छन् । त्यसको अर्थ धेरै रकम, ठूला स्टार र उच्च प्रविधिको खाँचो पर्छ । यस्तो जनराका फिल्म दर्शकलाई मन पनि पर्न सक्ला । नेपाली फिल्ममेकरले आफ्नै शैली बनाउनुपर्छ । आफ्नै विशेष संस्कृतिमा आधारित रहेर कथा भन्नुपर्छ । यो कुराले नै दर्शकको हृदयलाई छुन सक्छ । तपाईंले कलात्मक र डकुमेन्ट्री फिल्म नै हेर्न सक्नुहुन्छ । डकुमेन्ट्री फिल्मको राम्रो भविष्य देख्छु मैले ।

चिनियाँ अधिकारीहरुले नेपाली फिल्मलाई स्वागत गर्छौं भनेपनि चीनको सेन्सर नीति, भाषा र बजार प्रणालीको कारण रिलिजमा समस्या देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा फिल्मको गुणस्तर नै हो । उपयुक्त बजारीकरण र वितरण प्रणाली पनि आवश्यक कुरा हो । किनभने चीन विशाल बजार हो । तर वितरणलाई लिएर हुने प्रतिस्पर्धा निकै जोखिमपूर्ण देखिन्छ । चिनियाँ बजारको अधिकांश हिस्सा ठूला फिल्मले ओगटेका छन् । यसकारण धेरै फिल्मले हलमा रिलिजको लागि पहुँच पाउन सक्ने कम सम्भावना छ । कम बजेटका फिल्मलाई हलमा रिलिजको सम्भावना पनि कम नै हुन्छ । वितरकले यसमा रुचि दिएका हुँदैनन् । यसका लागि टीभीजस्ता अन्य प्लेटफर्म प्रभावकारी हुन सक्छन् ।

कलाको बजारीकरणका लागि अर्को हिस्सा पनि छ । बेइजिङ, सांघाईजस्ता ठूला फिल्म बजारमा यस्तो समस्या छ । ती सहरका युवा दर्शकले हलिउड र ठूला फिल्म हेर्न रुचि राख्छन् । यदि नेपाली फिल्म चिनियाँ बजारमा जाने हो भने राम्रो साझेदारको खोजी गर्नुपर्छ । कसलाई के थाहा बजारले तपाईंलाई सघाउँछ भनेर । फिल्म हल मात्र होइन टीभी र भिडियो प्लेटफर्म पनि उपयुक्त विकल्प बन्न सक्छन् भन्ने बारेमा मेरो सुझाव छ ।

फिल्ममा सहकार्य गर्नेबारे चीन र नेपाल सरकारलाई तपाईंका सुझाव के छन् ?

हिजो मात्र राजदूत छेङ सोङले दुई मुलुकबीचको सहकार्य अझै कसरी बढाउन सकिन्छ भनेर मसँग कुरा राख्नुभयो । २० वर्षअघि चीनमा राज्यले नै सिनेमा हल र स्टुडियोमाथि नियन्त्रण गथ्र्यो । यसो गर्दा उनीहरुले मुनाफा कमाउनुपर्छ भन्ने आवश्यक थिएन । तर अहिले मुनाफा फिल्मको बजारीकरणमा प्रमुख कारण बनेको छ । यसर्थ मैले फिल्मको गुणस्तर नै आवश्यक हुने कुरामा जोड दिइरहेको छु । यदि कम्पनीले फिल्म अरु मुलुकमा रिलिज गर्न चाहन्छ भने बक्स अफिसमार्फत उनीहरु जान्छन् । मुनाफा महत्वपूर्ण छ वितरक र कम्पनीको लागि । तर कन्टेन्ट नै गुणस्तर हुनुपर्छ भन्ने धारणा छ ।

राम्रो फिल्म बनाउने बारेमा नेपाली फिल्ममेकरलाई तपाईंका सल्लाह कस्ता छन् ?

व्यावसायिक फिल्ममा प्रविधि र पैसाको खाँचो पर्छ । तर कलात्मक फिल्ममा कन्टेन्ट र भन्ने शैली महत्वपूर्ण छ । प्रविधि फिल्मको हृदय होइन जति महत्वपूर्ण कथा र सोच हो । नेपाली निर्देशकले गहिरो र मौलिक शैलीमार्फत कसरी कथा भन्ने बारेमा सोच्नुपर्छ । यो कुरा नै महत्वपूर्ण कुरा हो ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?