+
+

२२औं तिलोत्तमा गोल्डकप आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते ९:५८

४ चैत, बुटवल । २२औं संस्करणको तिलोत्तमा गोल्डकप आज शनिबारदेखि सुरु हुँदैछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही- ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे र खेल तीन बजे सुरु हुने रुपन्देहीजिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि पाँच हजार क्षमताको स्थायी प्याराफिटसँगै दुई हजार ५०० जना क्षमताको दुई वटा अस्थायी प्याराफिट तयार गरिएको छ  ।

पहिलो चरणका खेल अवलोकनका लागि दुई सय र एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ ।

कोरोना महामारी र आर्थिक अभावका कारण चार वर्षसम्म रोकिएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले भाग लिएका छन् ।

जितेश गुरुङको कप्तानीमा ‘ए’ डिभिजन खेल्ने र स्थानीय खेलाडीहरू मिश्रित रुपन्देही ११ टिम तयार भएको व्यवस्थापक एवं एन्फा रुपन्देहीका उपाध्यक्ष मुकेश कुँवरले बताए । दिपेश थापा गोल रक्षक रहने टिमको प्रशिक्षक पुकार गहतराज छन् ।

सुदूरपश्चिम ११ माअनुभवी खेलाडीहरू रहेकाले रुपन्देहीलाई चुनौती दिने आंकलन गरिएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ क्लब, हिमालय शेर्पा, थ्री स्टार, फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँवा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।

यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

२०७५ सालमा भएको २१औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

चार वर्षअघि विजेताले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिता विगत २३ वर्षदेखि रुपन्देही जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?