 
																			३ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । यससँगै भोलि आइतबार नै प्रतिनिधिसभाको बैठक बस्नेछ र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ ।
माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो । तर कांग्रेस औपचारिक रुपमा सरकारमा नगएकाले संसदको प्रतिपक्षी बेञ्च छाडेन । सरकार छाडेको एमालेले पनि प्रतिपक्षमा बस्ने भएपछि सिट व्यवस्थापनमा समस्या भएकै कारण संसद बैठक बस्न सकेको थिएन ।
सूचना टाँसेर स्थगित संसद बैठक भोलि आइतबार १ बजेका लागि बोलाइएको छ । तर कांग्रेसले प्रतिपक्षी बेञ्च नछाडेको र एमालेले प्रतिपक्षी बेञ्चमा बस्ने बताएका कारण के गर्ने भनेर छलफल गर्न सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका थिए ।
सिंहदरबारमा भएको छलफलमा एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरु प्रमुख प्रतिपक्षी भएको र त्यसअनुसार नै संसदमा सिट व्यवस्थापन हुनुपर्ने बताएका छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने भोलि विहान साढे १० बजे आफ्नो दलको बैठक बसेर एउटा धारणा बनाउने भन्दै सिटको विषय समस्या नहुने बताए । कांग्रेसका एक पदाधिकारीका अनुसार भोलि विहान कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यो बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी छ । ती पदाधिकारी भन्छन्, यो निर्णय भएपछि हामी प्रतिपक्षबाट सत्ता पक्षको बेञ्चमा सर्छौं ।’
त्यसो भएमा एमाले प्रमुख प्रतिपक्षी बेञ्चमा बस्नेछ र, सिट व्यवस्थापनको सकस टर्नेछ ।
दुई विधेयक टेबल गर्ने तयारी
संसद बैठक बस्ने भएपछि सचिवालयले सम्भावित कार्यसूची समेत तयार पारेको छ, जसअनुसार संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुनेछ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दिएका छन् भन वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका सुवालले विरोधको सूचना दिएका छन् ।
सुरुमा विरोधको सूचना निर्णयार्थ पेश हुनेछ, त्यसपछि प्रधानमन्त्रीले विधेयक पेश गर्ने प्रस्तावित कार्यसूची छ । सभामुख घिमिरेले शनिबार गरेको छालफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरु दुबै विधेयक भोलि आइतबारकै संसद बैठकमा पेश गर्न सहमत भएका छन् ।
तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने एमाले प्रमुख सचेतक गिरीले बताएका छन् । बैठकपछि उनले सञ्चारकर्मीहरुसँग भने, ‘हतारहतार पारित गरेर जान हुन्न, छलफलका लागि समितिमा पठाउनुपर्छ ।’
कांगेस प्रमुख सचेतक लेखकले पनि यो विधेयक पास गर्नुपर्छ भन्नेमा कसैको विमति नभएको, तर विषयवस्तुमा केही मतहरु रहेको बताए । उनले भने, ‘यसबारे छलफल गरेर टुंगोमा पुग्न सकिन्छ ।’
संसदको भोलिकै बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन समेत पेश हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4