+
+
स्थलगत रिपोर्ट :

त्रिवि केन्द्रीय क्याम्पसमा देखिएन स्ववियु चुनावको उत्साह

नुनुता राई नुनुता राई
२०७९ चैत ५ गते १७:१३

५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चयनका लागि मतदान गर्न लामबद्ध थिए वातावरण विज्ञान तेस्रो सेमेष्टरमा अध्यनरत रुपेश बोहरा र सविन रावल ।

मतदानका लागि लाइन लागि सक्दा पनि उनीहरुले कसलाई भोट दिने भनेर निर्णय गरिसकेका थिएनन् । त्यसैले उनीहरु मतदानस्थलमा आएर उम्मेदवार र उनीहरुको एजेण्डा बुझ्ने प्रयास गरिरहेका थिए ।

प्रतिवद्धता के छन् र ती पूरा गर्न कतिको सक्षम छन् भनेर सामान्य बुझ्नको लागि उम्मेदवारलाई नियालिरहेका रुपेशले भने, ‘चुनावमा मात्रै विद्यार्थीको हकको संरक्षण गर्छु भन्ने विद्यार्थी नेतृत्वलाई विश्वास कसरी गर्ने ? तै पनि यहाँ एकछिन हेरेर बुझेर भोट दिने हो ।’

सविन रावलले पनि अधिकांश उम्मेदवारलाई प्रत्यक्ष भेट्न पाएनन् । मतदानमा सहभागी हुन र आफूलाई मतदान गर्न केही उम्मेदवारले उनलाई एसएमएस तथा इमेल गरेका थिए ।

आफूलाई आएका एसएमएस र इमेलमा मत माग्ने उम्मेदवारले एजेण्डा नभएर उम्मेदवारी दिएको पद र संगठनको नाम मात्रै उल्लेख गरेकाले अहिलेका उम्मेदवारहरुबाट धेरै अपेक्षा गर्न नसकिने उनले बताए । उनले भने, ‘निर्वाचनको लागि मात्रै एजेण्डा उठाउँदा पनि सबै विद्यार्थीसम्म पुग्न सम्भव छैन त्यसैले मत माग्नकै लागि एसएमएस अथवा इमेल गरिरहँदा आफ्नो एजेण्डा पनि पठाएको भए हामीलाई सहज हुन्थ्यो ।’

सविनले आफूजस्तो कुनै पनि संगठनमा आवद्ध नभएका मतदाताले उम्मेदवार नचिन्ने र एजेण्डा पनि थाह नपाउने स्थिति रहेको सुनाए ।

मतदान गर्न आएका एमबीएस विद्यार्थी सागर खरेल र दामोदर अवस्थीले पनि १४ वर्षपछि स्ववियु निर्वाचन हुँदा पनि विद्यार्थीमा उत्साह देखेनन् ।

उनहरुले चुनावमा उत्साह नदेख्नुको कारण थियो, एक घन्टामै खाली भएको मतदाताको लाइन । मतदानस्थल (शिक्षा केन्द्रिय विभाग) अगाडी मतदान सुरु हुनअघि भिडभाड देखिए पनि मतदान सुरु भएको केही समयपछि सहभागी संगठन सम्बद्ध भन्दा बाहेकका मतदाता विद्यार्थीको संख्या कम देखिन्थ्यो । यहाँ ८ बजे सुरु हुने भनिएको मतदान ९ बजेमात्र सुरु भएको थियो ।

मतदान गर्न पस्ने गेटमा केहिबेर तीन लाइन थियो । दायाँबायाँ भोट माग्न उभिएका उम्मेदवारहरु र बीचमा मतदान गर्न जानेको लाइन । तर केहिबेर मै बीचको लाइन (मतदाताको लाइन) सकियो । त्यसपछि फाट्टफुट्ट मात्रै मतदाता मतदानका लागि पुगेका थिए ।

१४ वर्षपछि भइरहेको निर्वाचनमा पनि पुरानै शैलीको प्रचार प्रसार, उम्मेदवारहरुको गतिविधिले गर्दा खास उत्साह नभएका एक विद्यार्थीले अनुभव सुनाइन् । उनले भनिन् ‘चुनाव आएको बेला मात्रै एजेण्डा बोक्नको लागि त किन चाहियो र भन्ने लागेको हो तर साथी उम्मेदवार भएकोले मतदान गर्न आएकी हुँ ।’

स्ववियु निर्वाचनको प्रचारप्रसार सिर्जनात्मक नहुनु, उम्मेदवार परिचित नहुनु र उनीहरुले उठाएको एजेण्डा आकर्षक नभएका कारण स्ववियु चुनावमा कुनै उत्साह नभएको विद्यार्थीहरुको ठम्याइ छ । ‘स्ववियु राजनीति गर्नैका लागि फेरि भर्ना भएर उम्मेदवार भएका र विद्यार्थी माझ रहेर, काम गरेर भन्दा पनि पार्टी नेतृत्वले मन पराएका व्यक्तिलाई टिकट दिइएकाले कतिपय उम्मेदवार चिन्दैनौं’, सागर खरेलले भने ।

विश्वविद्यालयमा शैक्षिक समस्याहरु धेरै भएको र समाधानको पहल गर्ने निकाय नहुँदा स्ववियु निर्वाचन हुनु सकारात्मक भए पनि यसको महत्व सबै विद्यार्थीमा स्पष्ट नहुँदा कम मत खस्ने उनको अनुमान छ ।

अर्का विद्यार्थी अवस्थी मतदान गर्न आउने पनि अधिकांश कुनै न कुनै संगठनमा आवद्ध हुने भएकोले योग्य, सक्षम भन्दा पनि कुनै संगठनको प्यानलले जित्ने सम्भावना रहेको बताए । उनी भन्छन्, ‘हामी जस्ता न्यूट्रल मतदाता विद्यार्थी कम छौं जस्तो लाग्छ । हामी जस्ताले व्यक्ति क्षमता हेरेर दिने भयौं संगठनमा भएकाले संगठन हेर्छन् त्यसैले यहाँ पनि संगठनले जित्ने सम्भावना छ ।’

बुद्धिजम तेस्रो सेमेष्टरमा पढिरहेकी सुनैना महर्जनले पनि उम्मेदवार र उनीहरुको एजेण्डा विस्तृतमा नबुझे पनि मतदान गरेको सुनाइन् । केही उम्मेदवारको प्रतिबद्धता पत्र पढेपछि सामान्य जानकारी लिँदा नेतृत्व गर्न सक्षम छन् भन्ने लागेकालाई र केही चिनेका उम्मेदवारलाई मतदान गरेको उनले बताइन् । महर्जनले भनिन् ‘केही उम्मेदवारहरु मत माग्न कक्षामा आउनुभएको थियो । प्रतिबद्धता पत्र, विद्यार्थी माझ प्रस्तुत हुने शैली सबैलाई मुल्यांकन गरेर मत दिइयो र कतिपय चिनजानको हुनुहुन्थ्यो ।’

विश्वविद्यालय पढ्नको लागि मात्रै आउने विद्यार्थीहरु माझ भने उम्मेदवारहरु पुग्न नसकेको अर्की एक विद्यार्थी बताउँछिन् । भन्छिन्, ‘नेतृत्व भनेको त चासो नभएकालाई पनि स्पष्ट बुझाउने क्षमताको हुनुपर्छ । धेरै उम्मेदवारहरु विद्यार्थी माझ पुग्ने प्रयास नै गर्नुभएन जस्तो लाग्छ । सामान्य रुची भएका म जस्ताले आफैले सोधेर, खोजेर, बुझेर दियौं जस्तो लाग्छ ।’

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । त्रिवि निर्वाचन समितिको अनुसार मतदाता विद्यार्थीको संख्या तीन हजार ४०२ छन् ।

   

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?