+
+

पहिचानको आन्दोलनमा उत्रिएको जुलुश निषेधित क्षेत्रमा प्रवेश गरेपछि…

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत ५ गते २०:०३

५ चैत, विराटनगर । गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी प्रदेश राखिएपछि प्रदेशका असन्तुष्टीको स्वर उच्च छ ।

पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानवादी दल र संस्थाहरुले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।

त्यसैक्रममा समितिले आइतबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गर्ने तय भएको थियो । कार्यक्रम सुरु हुनुअघि नै मोरङ प्रशासनले मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवनसहित पाँच स्थान आसपासमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले निषेधित क्षेत्रको अग्रिम जानकारी आन्दोलनकारीलाई दिएको थियो । महेन्द्र चोकमा भेला भएपछि टोली राज्यको ध्यान केन्द्रीत गर्न भन्दै मुख्यमन्त्री कार्यालय नजिकै रोडशेष चोक पुगेर फेरि महेन्द्र चोक नै फर्कने भन्दै दक्षिणतर्फ लागे ।

कोशी राजमार्गको एउटा लेनबाट रोडशेष पुगेर अर्काे लेनबाट महेन्द्र चोक फर्किने भन्दै दक्षिणतर्फ लागेको टोली रोडशेष चोकबाट उत्तर (महेन्द्रचोक) फर्किएन् ।

आन्दोलनको नेतृत्वकर्ताले फर्कन आग्रह गर्दा गर्दै आन्दोलनकारीको समूह निषेधाज्ञा तोडेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयतर्फ अगाडि बढ्यो ।

कोशी प्रदेशका १४ जिल्लाबाट गाडी रिजर्भ गरेर विराटनगर आएका पाँच हजार भन्दा बढी प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो  ।

एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गर्दा भिड तितरवितर भएन्, प्रहरीमाथि जाइलाग्यो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थाले, त्यसपछि त प्रहरीले अनियन्त्रित भिड रोक्न भन्दै हवाइ फायर पनि गर्‍यो । आन्दोलनका कारण मुख्यमन्त्री कार्यालय अगाडि दिनभर तनावग्रस्त रह्यो ।

‘महेन्द्र चोकबाट रोडशेष चोकसम्म पुगेर फेरि महेन्द्र चोकमै फर्कने तयारी थियो, तर टोली फर्किएन,’ आन्दोलनरत पक्षका नेता अर्जुन राईले भने, ‘रोडशेष पुगेपछि सुरुमा आन्दोलन नियन्त्रण बाहिर गयो ।’

अश्रुग्यास प्रहार गरेपछि असन्तुष्ट बनेका आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाको क्रम झण्डै एक घण्टासम्म चल्यो । मुख्यमन्त्री कार्यालय अगाडि कोणसभा गर्न दिने भनेपछि झडप रोकियो । झडप रोकिएपछि आन्दोलनकारीको तर्फबाट नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कुमार लिङ्देनले पहिचानको आधारमा प्रदेशको नामाङ्कन नगरे आन्दोलनको आँधीबेरी ल्याउने बताए ।

कांग्रेस एमालेले सुटुक्क प्रदेशको नाम राखेको आरोप लगाउँदै माओवादी नेता गोपाल किरातीसहित प्रेम एकतेङन, आङकाजी शेर्पालगायतले पहिचानको आधारमा नाम नराखेसम्म आन्दोलन नरोकिने बताए ।

गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी राखिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा नामाङ्कनका लागि भएको मतदानमा ८२ मत खसेको थियो । जसमा चार जना सांसदले मात्रै कोशीको विपक्षमा मतदान गरेका थिए । सात जना सांसद अनुपस्थित थिए ।

भूगोलका आधारमा कोशी नाम राखेको भन्दै पहिचानवादी डेढ दर्जन दल र संस्थाहरुले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरेर प्रदर्शन गरिरहेका छन् ।

हामीले सम्यमता अपनायौं : प्रहरी

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल आन्दोलनकारीसँगको झडपमा दुई जना प्रहरी घाइते भएको बताउँछन् । प्रहरीले सम्यमता अपनाएका कारण अप्रिय घटना नभएको उनले बताए ।

भिड नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले सात वटा टियरग्यास प्रहार गरेको उनले बताए । टियर ग्यास र चार राउण्ड हवाई फायर गरेपछि भिड नियन्त्रणमा आएको उनले बताए । ‘भिड उत्तेजित थियो, हामीले सम्यमता अपनायौं, लाठी चार्ज गरेनौं,’ उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?