+

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

२०७९ चैत  ६ गते १४:१७ २०७९ चैत ६ गते १४:१७
२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा के–कस्ता व्यायाम गर्न सकिन्छ  त ?

व्यायामलाई मुख्य दुई प्रकारमा विभाजन गर्न सकिन्छ, ऊर्जा बढाउने र ऊर्जा घटाउने । श्वास र शरीरको क्रियामा ध्यान नदिई दौडिने र उफ्रिने गतिविधिमा मात्र ध्यान दिने हो भने  थकान बढाउँछ र शरीरको ऊर्जा घटाउँछ ।

व्यायामसँगै श्वासप्रश्वासको गतिमा ध्यान दिएर शरीरको आवश्यकता अनुसार व्यायाम गर्दा भने ऊर्जा बढ्छ । शरीरको आवश्यकता अनुसार यी दुवै प्रकारका व्यायामलाई अपनाउन सकिन्छ ।

छोटो अवधिमा कस्तो व्यायाम गर्ने ?

दैनिक २० मिनेटमा गर्ने व्यायाममा १० मिनेट शरीर र १० मिनेट श्वासलाई दिनुपर्छ । शारीरिक व्ययाममा दौडिने, खेल्ने, डान्स, जुम्बा वा सबै मांसपेशी चल्नेगरी योगाभ्यास गर्न सकिन्छ । र, १० मिनेट जति प्राणायाम गर्नु उचित हुन्छ ।

२० मिनेटभरि नै पसिना निकाल्ने गरी व्यायाम गर्ने भन्ने सोच्नु हुँदैन । तन्किने, निहुरिने, उफ्रिने, बसेर गर्ने, पल्टिएर गर्ने खालका व्यायाम गर्नुपर्छ । त्यस्तै, सूर्यनमस्कार, ताडासन, चक्रासन, धनुरासन, गोमुख आसन, नौकासन र लौकासन उमेर क्षमताअनुसार दुई–दुई मिनेटको समय दिएर गर्न सकिन्छ । यी व्यायाम गर्दा  कुनै पनि मांसपेशी छुट्नु हुँदैन, यसले  शरीरका सम्पूर्ण अंगमा फाइदा पुग्छ ।

शरीरका पुग्ने फाइदा

नियमित व्यायामले शरीरलाई हल्का बनाउँछ । काम गर्न, हिंड्न शरीरमा स्फूर्ति पैदा गर्छ । मुटु, फोक्सो र मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने, शरीरका विकारहरुलाई निकाल्ने,  रक्तसञ्चारलाई व्यवस्थित गर्दै सुचारु गर्न सन्तुलित बनाउने, मांसपेशीलाई लचिलो र बलियो बनाउने, हरेक अंगलाई सक्रिय बनाउन नियमित व्यायामले मद्दत गर्छ ।

रोगबाट मुक्ति

व्यायामले पेट बढ्ने समस्या, मधुमेह, बोसो बढ्ने समस्या, हृदयरोग, फोक्सो, उच्च रक्तचाप, निम्न रक्तचाप, थाइराइड लगायतलाई धेरै फाइदा पुर्‍याउँछ । शरीरको आवश्यकता अनुसार गरेको व्यायाम र प्राणायामले दीर्घरोग नियन्त्रण गर्नुको साथै मानसिक रोगबाट समेत मुक्त गर्न सक्छ । यद्यपि कमजोरी, दुर्बलता, हृदयघातपछिको अवस्थामा भने चिकित्सकको निगरानी र सल्लाहमा सूक्ष्म व्यायाम गर्न सकिन्छ ।

व्यायामका लागि उत्तम समय

व्यायामका लागि उत्कृष्ट समय भनेको सूर्योदयसँगैको समयमा उठेर नित्यकर्म गरेपछि हल्का शरीर, खाली पेट, ताजा हावा र शान्त वातावरणमा योगासन र व्यायाम गर्नु उत्तम हुन्छ ।

बुढापाका र रोगीलाई व्यायाम

वृद्ध उमेर र अशक्त बिरामीले सूर्य नमस्कार र सूक्ष्म व्यायाम गर्न सक्छन् । मन्द गतिमा गर्दा पनि थाकेपछि आराम गर्दै श्वास नफुलाउने र भार नपर्ने गरी व्यायाम गर्नु राम्रो हुन्छ ।

(डा. अधिकारी जीवनशैली प्रशिक्षक हुन् ।)  

व्यायाम
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय