+
+

करिडोरमा छैन फुटपाथ, सडकबाटै हिँड्दा जोखिममा पैदलयात्री

अमृत चिमरिया अमृत चिमरिया
२०७९ चैत ७ गते १५:२०

७ चैत काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा अति जाम र भिडभाड भएपछि सवारी र पैदलयात्रुले करिडोर सडक रोज्न थालेका छन् । उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, महादेव खोला, साङ्ले खोला र गोदावरी खोलामा करिडोर सडक खुलेका छन् ।

यीमध्ये सबै करिडोर सडकले पूर्णता नपाउँदा सवारीचालकले मुख्य सडकमा जानैपर्ने बाध्यता पनि छ । चलेका करिडोर सडकमा सवारी चाप बढ्दा पैदलयात्रु मूल सडकमा जस्तै मारमा परेका छन् ।

करिडोर सडकका फुटपाथलाई पसले र घर बनाउनेहरुको सामग्री थुपार्नेदेखि गाडी तथा मोटरसाइकल पार्किङसम्मले भद्रगोल बनाएको छ । सम्बन्धित निकायले करिडोर सडकको फुटपाथ निर्माणमा ध्यान दिएको छैन ।

अहिले मूल सडकको भिडभाड छल्न करिडोरतिर मोडिने पैदलयात्रुहरुको एउटै समस्या छ, फुटपाथ नहुनु । ‘अलि शान्त र छोटो पनि भनेर करिडोरमा हिँड्न खोज्दा फुटपाथ नै छैन,’ बालकुमारी पुलबाट च्यासलतर्फ आउँदै गरेका श्रीहरि राजथलाले भने, ‘अनि सडकमा नझरी सुख छैन । फेरि, करिडोरमा पनि गाडी कति बढेको हेर्नुस् न !’

धोविखोला करिडोरमा सडक र फुटपाथ मिचेर थुपारिएको निर्माण सामग्री ।

ट्राफिक व्यवस्थापनमा समस्या

बढ्दो सवारी र पैदल यात्रुको चापले करिडोरमा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । ‘उपत्यकामा वर्षेनी सवारी साधन बढेको बढ्यै छन्’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट भन्छन्, ‘वैकल्पिक बाटोको रुपमा करिडोर प्रयोग गर्नेहरु पनि बढे ।’

उनका अनुसार अहिले शंखमूल, यूएन पार्क नजिकै बागमतीको पुल र मुख्य सडक जोड्ने घुम्तीहरुमा सवारी साधन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यीमध्ये पनि यूएन पार्कमा धेरै समस्या भएको उनले बताए ।

‘त्यहाँ ‘बोटल नेक’जस्तो भयो’, एसएसपी भट्ट भन्छन्, ‘एकतर्फी गरेर केही हदसम्म व्यवस्थापन गर्न खोजिए पनि अफिस लाग्ने र छुट्ने समयमा धेरै जाम हुन थालेको छ ।’

फुटपाथ नहुँदा सवारी चाप धेरै भएको बेला पैदलयात्रू पनि सडकमै हिड्नुपर्ने बाध्यता छ । भट्ट भन्छन्, ‘यूएन पार्कमा जाम हुँदा फुटपाथ नभएकोले पैदल यात्रू पनि सडकमा थपिन्छन्, सडक जाम छ, अनि को, कहाँबाट जाने ?’

सबै करिडोर सडक निर्माण सकिएपछि जाम धेरै घट्ने आशा व्यक्त गर्दै एसएसपी भट्टले भने, ‘सडकसँगै फुटपाथ पनि बनाइदिए पैदल यात्रुलाई सडकमा हिँड्न पर्ने थिएन, ट्राफिक व्यवस्थापन सहज हुन्थ्यो ।’

आफ्नो काम गर्दैछौं : प्राधिकरण

उपत्यका विकास प्राधिकरणले धोबीखोला, महादेव खोला र गोदावरी खोला करिडोरको हेरिरहेको छ । अर्थात्, सबै करिडोर एउटै निकायको जिम्मेवारीमा छैन ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को लागि महादेव खोला करिडोरको लागि २० करोड र गोदावरीको लागि ५ करोड रुपैयाँ बजेट छुट्याएर काम गरिरहेको छ ।

प्राधिकरणका सूचना अधिकारी सौरभ ढकाल छुट्टै आयोजना बनाएर काम भइरहेको धोबी खोला करिडोरमा विद्युत प्राधिकरणको बक्सहरुले फुटपाथमा अवरोध गरेको बताउँछन् । ‘अवरोधहरुका बीच पनि प्राधिकरण आफ्नो काम गर्दैछ’, उनी भन्छन् ।

बागमती नदी करिडोर अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत छ । समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्यालले बागमतीका १९ सहायक खोलामध्ये १३ वटामा समितिले काम गरिरहेको बताए ।

समितिका प्रवक्ता वीरेन्द्र थपलिया उपत्यकामा अत्यधिक सवारी चाप बढेकाले करिडोर सडकको काम छिटो सक्ने योजनामा रहेको बताउँछन् । सडक सञ्चालनमा ल्याइहाल्ने गरी काम गर्दा फुटपाथ निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

सूचना अधिकारी अर्याल भने करिडोर खुलेको ठाउँमा फुटपाथ पनि बनिरहेको बताउँछन् । ‘पहिले खोलाको तटबन्ध लगाउन पर्‍यो, त्यसपछि ढलको पाइप बिच्छयाउन पर्‍यो त्यसपछि बल्ल सडकको काम हुने गर्छ’, उनले भने, ‘सडकको काम हुँदा फुटपाथको पनि हुन्छ’ उनी भन्छन् ।

यस वर्ष भने फुटपाथको लागि छुट्टै बजेट नभएको अर्यालले बताए । उनका अनुसार, समितिले काठमाडौं महानगरपालिकाको समन्वयमा विष्णुमती सौन्दर्यीकरण र फुटपाथसहित करिडोरको काम पनि गरिरहेको छ ।

आफैं मातहत ल्याउने काठमाडौं महानगरको चाहना

अहिले उपत्यकाका करिडोर सडक फरक–फरक निकायको जिम्मेवारीमा छन् । एकीकृत बागमती सभ्यता विकास समिति, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाले आ–आफ्नै ढंगले काम गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रको सबै करिडोर सडक आफैं मातहत ल्याउने तयारी गरेको छ । महानगरपालिकाका सार्वजनिक निर्माण प्रमुख रामबहादुर थापा अहिले महादेव खोला, बल्खु खोला, करखुशी र सामाखुशी करिडोरको काम भइरहेको बताउँछन् ।

‘यी करिडोरमा पर्खालको काम भइरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको लागि यसमा महानगरपालिकाले करिब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।’

निकायहरुबीच काममा समन्वय नहुँदा करिडोरका सडक र फुटपाथ भद्रगोल भएका छन् । आप्mनो क्षेत्रको जिम्मा आफैंले लिएपछि काम राम्ररी भएको काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण प्रमुख थापाको दाबी छ ।

समन्वयको कमी

फरक निकायले हेर्दा करिडोरहरुको काममा समन्वय नभएको सम्बन्धित कार्यालयका अधिकारीहरु बताउँछन् । उपत्यका विकास प्राधिकरणका एक अधिकारी सम्बन्धित मन्त्रालय र विभागहरुसंग समन्वय हुनै नसकेको बताउँछन् ।

‘हामीले काम गरिरहेको ठाउँमा अरु निकायले सहयोग गर्दैनन्, बरु असहयोग गर्छन्’, ती अधिकारी भन्छन्, ‘सबैको समन्वयात्मक भूमिका नहुँदा करिडोर निर्माणमा समस्या भइरहेको छ ।’

काठमाडौं महानगरका एक अधिकारीका अनुसार बालेन्द्र साह मेयर भएपछि करिडोर सडकका विषयमा दुईपटक उपत्यका स्तरीय समन्वय बैठक बसेको छ ।
तर उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पनि उपत्यकाका सडकको समन्वय गर्न आफैं बैठक बोलाएका थिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?