+
+

फुटसलबाट उदाएका ‘मेस्सी’ फुटबलको राष्ट्रिय टिममा

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत ७ गते १७:१६

७ चैत, काठमाडौं । असोज, २०७८ मा नेपालमा पहिलोपल्ट ए डिभिजन फुटसल लिग पोखरामा सञ्चालन भएको थियो । घरेलु टिम स्पोर्टस क्यासलको खेल हुँदा पोखरा रंगशालाको कभर्डहल समर्थकले भरिभराउ हुन्थ्यो । स्पोर्टस क्यासलका समर्थकहरु खेलभर नै चर्को स्वरमा कराउँथे– मेस्सी.. मेस्सी.. मेस्सी ।

साथीभाइ र समर्थकबाट मेस्सीको उपनाम पाएका युवा सुमित श्रेष्ठ स्पोर्टस क्यासललाई ए डिभिजन फुटबलको उपाधि दिलाउन प्रभावशाली रहे । उनी प्रतियोगिताको इमर्जिङ खेलाडी चुनिए । छरितो शरीर, ड्रिब्लिङ र लेफ्ट फुटेटमा शशक्त प्रहारले उनलाई १ महिनाको प्रतियोगितामा स्थापित गरिदिएको थियो ।

फुटसलबाट उदाएका ‘मेस्सी’ले ठूलो छलाङ मारेका छन् । फुटसलको अनुभवले खारिएका उनी भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपालको राष्ट्रिय फुटबल टिममा परेका छन् । प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले शहीद स्मारक ए डिभिजन लिगको सुरुवाती पाँच चरणमा गरेको प्रदर्शनका आधारमा छनोट गरेको २३ सदस्यीय टिममा सुमितसहित सातजना नयाँ खेलाडीले स्थान बनाएका छन् ।

अघिल्ला दुई संस्करण बाँसबारी क्लबबाट बी डिभिजन लिग खेलेका सुमितले धेरै अवसर पनि पाएका थिएनन् । यसपल्ट ए डिभिजनकै सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीले युवा खेलाडीलाई समेटेर लिगका लागि नयाँ टिम बनाउँदा सुमित रोजाइमा परे । मिडफिल्डरको भूमिकामा सुमितले ए डिभिजन लिगमा मनाङका लागि पाँचै खेलमा सुरुवाती रोजाइमा परेका छन् । उनले एपीएफमाथि २–१ को जितमा एक असिस्ट समेत गरेका थिए ।

पहिलोपल्ट ए डिभिजन लिग खेलेका सुमितलाई यति छिट्टै राष्ट्रिय टिममा अवसर पाउँछु जस्तो लागेको थिएन । यद्यपि आफूलाई तयार राखेका थिए । ‘नयाँ प्रशिक्षकले आउने वित्तिकै युवा खेलाडीमा केन्द्रित हुने बताउनुभएको थियो । मलाई बोलाइन्छ भनेर अपेक्षा त थिएन तर, आफूमा खेल्नसक्छु भन्ने विश्वास चाहीँ थियो,’ सुमितले अनलाइनखबरसँग राष्ट्रिय टिममा पर्नुको खुसी बाँडे ।

सुमितसँगै फुटसलबाट उदाएका मणि लामाले पनि फुटबलको राष्ट्रिय टिममा पहिलोपल्ट स्थान बनाएका छन् । नेपालले एएफसी एसियन कप फुटसल प्रतियोगिताको तीन संस्करण खेलेको छ । सन् २०१७ यता नियमित राष्ट्रिय फुटसल टिममा रहेका मणिले तीनै संस्करणमा नेपालका लागि गोल गरेका छन् । एपीएफ क्लबका लागि गत सिजन नै ए डिभिजन लिग खेलिसकेका मणिले यसपल्ट ए डिभिजन लिगमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

मणिको तुलनामा सुमितले करिअरमा तीव्र छलाङ मारेका हुन् । २०७८ असोजमा पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगिता जितेपछि सोही वर्ष चैतमा फुटसल राष्ट्रिय टिमबाट एएफसी एसियन कप छनोट खेले । त्यसपछि सुमितले फुटबलमा उचाइ लिन थाले । २०७९ मा उनले नेपालको यू–२० राष्ट्रिय फुटबल टोलीका लागि दुईवटा प्रतियोगिता खेले । साउन तेस्रो साता भारतको भूवनेश्वरमा सम्पन्न यू–२० साफ च्याम्पियनसिपमा सुमितले नेपालका लागि खेलेका हुन् । श्रीलंका र माल्दिभ्सलाई हराएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो भने भारतसँग पराजित थियो ।

त्यसपछि भदौ अन्तिममा बहराइनमा सम्पन्न एएफसी यू–२० एसियन कप छनोटमा उनले सोही टोलीबाट नेपालको प्रतिनिधित्व गरे । उमेर समूहका दुई महत्वपूर्ण प्रतियोगिताले खारिएका उनलाई ए डिभिजन लिगका लागि मनाङको टिममा लायक बनायो भने लिगमा १५ दिनको बीचमा पाँच खेलमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय टिमसम्म पुर्‍यायो ।

राष्ट्रिय टिममा यसअघि परेका तेज तामाङ, सुमन लामा, सन्तोष तामाङजस्ता खेलाडीले फुटसलबाटै करिअर सुरु गरेका थिए । तर, राष्ट्रिय टिममा पुग्नुअघि उनीहरुले फुटसलमै लामो संघर्ष गरेका थिए । सुमितले छिट्टै ठूलो अवसर पाएका छन् ।

सुमितसहित स्पोर्टस क्यासललाई ए डिभिजन फुटसलको च्याम्पियन बनाएका प्रशिक्षक विष्णु गुरुङ फुटबलका लागि फुटसलको ज्ञान महत्वपूर्ण ब्याकअपका रुपमा रहने बताउँछन् । ‘फुटसलमा सीमित मैदान र समयले खेलाडीलाई निर्णय क्षमता राम्रो बनाउँछ । सुमितले फुटसलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव बनाइसकेको छ । त्यसले उसको फुटबल करिअरलाई नै सहयोग भइरहेको छ,’ फुटसल राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भइसकेका विष्णुले अनलाइनखबरसँग भने, ‘फुटसलमार्फत यस्ता प्रतिभाको पहिचानले फुटबलको विकासमै सहयोग पुग्नेछ ।’

एन्फाले ए डिभिजन फुटसल लिगलाई यो वर्ष निरन्तरता दिन सकेन । फुटसलमा एन्फाको प्राथमिकता नपुगेको हो कि भन्ने विष्णुलाई पनि लागेको छ । फुटसलबाट राष्ट्रिय टिमसम्मका लागि खेलाडीको उत्पादन गर्न सकिन्छ भने त्यस विधालाई पनि उत्तिकै महत्व दिइनुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका १, बगरका सुमितले सिनियर राष्ट्रिय टिमबाट अवसर पाए राम्रो खेल्ने आत्मविश्वास बढेको बताए । फुटसलको सियिनयर टिम तथा फुटबलको उमेर समूहको टिमको अनुभव आसन्न प्रतियोगितामा लगाउने तयारी सुमितले गरेका छन् ।

सानैदेखि फुटबललाई करिअर बनाउने सपना देखेका सुमितका लागि राष्ट्रिय टिममा प्रवेश एउटा सपना पूराभएजस्तै हो । तर, यसले जिम्मेवारी पनि बढाएको छ । १९ वर्षमै सिनियर टिमका लागि लायक भएका उनलाई टिमको जितमा सहयोग गर्नुछ, देशका लागि अन्तर्राष्ट्रिय गोल गर्नुछ ।

फुटसलबाट स्थापित भए पनि तुलनात्मक रुपमा फुटबलमै रमाइलो लागेको सुमित बताउँछन् । सानैदेखि मेस्सीको उपनाम पाएका उनलाई स्थानीय छवीलाई दशरथ रंगशालामा प्रमाणित गर्ने चुनौति पनि हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?