+
+

सोच्ने काम गर्दैछन् नरहरि आचार्य

उनको ध्यान दैनन्दिन राजनीतिमा भन्दा दीर्घकालसम्म कामयाब हुने वैचारिक चिन्तन मननमै बढ्ता छ । आजको व्यस्त दैनन्दिन सत्ता राजनीति, समीकरण निर्माण, गठन–विघटन आदिमा कुनै नेताले धुम्धुम्ती सोचिरहनु, चिन्तन गर्नु पनि कुनै काम नै त हो ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत ७ गते १९:५५

७ चैत, काठमाडौं । सोचेको सोच्यै गरिबस्नु पनि कुनै काम हो र ? फिल्डमा उत्रिएर क्रियाशीलता देखाउनु पो काम हो ।

कतिपय मानिस यस्तै ठान्छन्, तर राजनीतिमा यो सधैं लागु हुदैन । अझ दैनन्दिन गतिविधिलाई मात्रै राजनीति मान्ने हो भने राजनीतिको परिभाषा नै अपूरो हुन्छ ।

मष्तिष्काघातपछि सार्वजनिक मञ्चहरुमा कम देखिएका कांग्रेस नेता नरहरि आचार्यलाई आफ्नै परिवेशमा घोत्लिरहेको देख्नेले यो कुरा अझै खुलेर भन्न सक्छ ।

नरहरि आचार्य पहिले पनि सोचिरहने मध्येका नेता हुन् । अहिले त्यो क्रम अझै बढेको छ ।

नेपाली कांग्रेसमा वैचारिक विमर्शका अगुवा नेता नरहरि आचार्यको विचार मन्थनमा २०७२ माघ २६ गतेबाट अल्पविराम लागेको थियो । तत्कालीन सभापति सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली दिन महाराजगञ्ज पुगेका आचार्य मस्तिष्कघातले अकस्मात ढल्न पुगे ।

आचार्यको दाहिने हात र खुट्टाले काम गरेन । बोलीमा समस्या देखियो । समाजवादी चिन्तक तथा वैचारिक मन्थनका अगुवा आचार्य अस्वस्थ भएपछि पार्टीभित्र वैचारिक बहस सुस्ताउन पुग्यो । मूल नेतृत्वसँग बागी विचार राख्ने आचार्य कांग्रेसले लिने नीतिका पथ प्रदर्शक पनि हुन् ।

गणतन्त्रको पक्षमा कांग्रेस तयार नहुँदै उनी देशभर डुलेर त्यसको पक्षमा माहोल बनाउँथे । गणतन्त्र, संघीयता, समावेशिता मुद्धामा कार्यकर्तालाई प्रशिक्षित गरे । ‘गणराज्य अभियान’ लिएर देशव्यापी भ्रमण गरे । आचार्य पार्टी नेतृत्वको बागी रहेको पुष्टि गर्दै २०७६ सालमा लेखक तथा राजनीतिक विश्लेषक कृष्ण खनालले लेखेका थिए, ‘नरहरि आचार्यलगायत हामी गणतन्त्र, संघीयता, समावेशितालगायतका विषय लिएर देशव्यापी रूपमा ‘गणराज्य अभियान’ मा लाग्दा पार्टीको संस्थापन पक्ष भने यसको विपक्षमा युवाहरूलाई प्रशिक्षण दिँदै थियो ।’

संविधान सभाबाट संविधान बनाउने कार्यमा उल्लेख्य भूमिका खेलेका आचार्यलाई शारीरिक अस्वस्थताले सक्रिय हुन दिएन । नेपाल, भारत र अमेरिकामा उपचार गराए । स्वास्थ्यमा उल्लेख्य सुधार आयो । पूर्ववत सरहकै सक्रिय हुनलाई स्वास्थ्यले साथ दिँदैन । तथापि, सार्वजनिक मञ्चमा देखिन थालेका छन् । साहित्यिक व्यक्ति समेत रहेका आचार्यले लेखन कार्यलाई पूर्ववत् रुपमा निरन्तरता दिएका छन् ।

अहिले उनको काम भनेको केही सोचिबस्नु, अनि केही लेखिबस्नु हो । नेपाली राजनीतिमा नरहरि आचार्यको खास महत्व पनि त्यसैमा देखिन्छ ।

६ चैतमा चुनदेवीस्थित निवासमा आचार्यलाई भेट्दा उनी उज्यालो मुहारमा देखिए । प्रारम्भमै स्वास्थ्य अवस्थाको जिज्ञासामा राख्दा उनले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ । केही जटिलता छैन ।’ यही उपचारका लागि भनेर डाक्टरलाई नभेटेको सात महिनाभन्दा बढी भएको आचार्यले सुनाए ।

अनुहारको चमक र लेखन सक्रियताले आचार्य २०७२ को माघ २३ अघिकै अवस्थामा देखिन्छन् । चैतको पहिलो साता काठमाडौं बाहिर पुगेर चार दिन बिताए । उनी चितवन र तनहुँ पुगेर फर्किएका थिए । यसपटक काठमाडौं बाहिर जानु राजनीतिक तथा साहित्यिक कार्यका लागि नभएको उनले प्रष्ट्याए ।

‘कोभिडअघि चितवन पोखरा, चितवन, विराटनगर धेरै ठाउँ पुगे । त्यो बेला साहित्यिक र राजनीति जोडिएका कार्यक्रममा गएको थिएँ’, आचार्य भन्छन्, ‘लेखक संघले गरेका कार्यक्रममा बोलाएर कोभिड अघि पोखरा गएँ । मैले लेखेका किताबमाथिको चर्चाको लागि पनि बाहिर जानुपरेको थियो ।’

स्वास्थ्यमा सुधार आएपछि १४ औं महाधिवेशनअघिको केन्द्रीय समितिको बैठकमा पनि सहभागी भएका थिए । उपत्यका र बाहिरबाट उनलाई दर्जनौं कार्यक्रममा बोलावट हुन्छ । तर, सबै ठाउँमा पुग्न उनका लागि सम्भव हुँदैन । आचार्यलाई आमन्त्रण गर्नुको ध्येय वौद्धिक नेताको विचार सुन्नका लागि हुन्छ ।

स्वास्थ्यमा सुधार सुधार हुँदै गएपछि यसै बीचमा आचार्यले दुई पुस्तक निकाले । ‘जीवनको पाठशाला’ र ‘गणतन्त्रको यात्रा’ पछिल्लो समय बजारमा आएका आचार्यका पुस्तक हुन् । ‘जीवनको पाठशाला’ आचार्यको आत्मवृतान्तमा आधारित पुस्तक २०७८ सालमा विमोचन भएको थियो । गणतन्त्रको यात्रा भने तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा बन्दी जीवन बिताउँदाको दैनिकी हो । त्यसअघि आचार्यका राज्यको पुनः संरचना तथा रूपान्तरण, पार्टीमा लोकतन्त्र, नयाँ नेपालको प्रस्तावना लगायतका पुस्तकहरू प्रकाशित थिए । पछिल्लो समय पनि लेखन जारी रहेको उनले सुनाए ।

आचार्य हिजोआज के लेख्दै होलान् त ? उनी यत्तिकै बस्ने खाले सर्जक त हुँदै होइनन् ।

उनले भने, ‘अहिले मेरो काम पढ्ने र लेख्ने मात्रै हो । लेखिरहेको छु, त्यसले कुनै आकार भने लिएको छैन । पुस्तकको आकृति बनिसकेको छैन ।’ नेपाली साहित्यमा एमए गरेका आचार्यका पुस्तक विशेषतः राजनीतिसँग अन्तरसम्बन्धित हुन्छन् । सिर्जनात्मक साहित्य नभई विश्लेषणात्मक र आलोचनात्मक साहित्य रुचिको क्षेत्र रहेको उनी बताउँछन् ।

लेखन र अध्ययनलाई भन्दा उनले पहिलो प्राथमिकता शारीरिक व्यायामका लागि दिन्छन् । दिनमा तीनपटक अनिवार्य व्यायाम र थेरापी गर्छन् । घरकै प्राङ्गणमा हिँडडुल गर्छन् । एक पटकमा एक/डेढ घण्टा शारीरिक व्यायाम गर्ने उनले सुनाए । शारीरिक व्यायाम नै अहिले उनका लागि सबैभन्दा राम्रो उपचार बन्न गएको छ । थेरापीमा पनि फरक फरक उपचार विधि गर्नुपर्ने आचार्यले सुनाए ।

नरहरि आचार्यको घर ।

सक्रिय राजनीतिका लागि शरीरले साथ दिइसकेको छैन । तथापि, उनलाई पार्टीका कतिपय नेता कार्यकर्ताहरु अझै पनि सार्वजनिक मञ्चमा सहभागी भएको देख्न खोज्छन् । गत निर्वाचनमा आफ्नै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका प्रदीप पौडेलका लागि सार्वजनिक मञ्चबाट मत मागेका थिए । पौडेललाई मत माग्नुलाई आचार्य आफ्नो दायित्व सम्झन्छन् ।

‘प्रदीपलाई जिताउन २/४ कार्यक्रममा म गएँ’, आचार्य भन्छन्, ‘अकस्मात् पार्टीले टिकट दियो, चिनिरहेको भाइ आएपछि जिताउनु मेरो दायित्व पनि थियो ।’ यो क्षेत्र आचार्यले जित्दै आएको क्षेत्र पनि हो । कांग्रेसका नेता कार्यकर्ता बेला बेलामा उनको घर पुग्छन् । पछिल्लो समय शीर्ष तहका नेतामा महामन्त्री विश्वप्रकाश शर्मा उनलाई भेट्न पुगेका थिए । पार्टीले लिने नीति वा निर्णयका लागि आचार्यलाई नेतृत्वले राय लिने क्रम भने रोकिएको छ ।

पार्टीभित्र अग्रगामी विचार बोक्ने बौद्धिक नेताको छबि बनाएका आचार्यले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा कांग्रेस खुल्नुपर्ने विचार राख्थे । तथापि, उनको विचार पार्टीको नीति बन्न सकेन । पुरानो विचारमा आचार्य अहिले पनि अडिग छन् ।

‘नेपालको वर्तमान अवस्था हेर्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता देखिन्छ,’ आचार्य भन्छन्, ‘बहुमत ल्याएपनि सरकार टिक्न नसक्ने । बहुमत नल्याए त त्यसै पनि सरकार फेरिरहने भयो ।’

संविधान निर्माणको क्रममा संसदबाट नै प्रधानमन्त्री छानिने प्रणाली अपनाइयो । कतिपय दलले उक्त प्रावधानमा असहमति पनि दर्ज गरे । संसदबाट प्रधानमन्त्री निर्वाचित गर्नुपर्ने प्रणालीको सबैभन्दा बढी पक्षपाति कांग्रेस नै बन्यो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जान नसके कम्तीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्ने आचार्यको मत छ ।

संविधानमा उल्लिखित कतिपय प्रावधानको विपक्षमा छन् आचार्य । प्रधानमन्त्रीलाई २ वर्ष नपुगी अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था संविधानको व्यवस्था छ । उक्त प्रावधान लोकतान्त्रिक नभएको आचार्य तर्क गर्छन् ।

‘लोकतान्त्रिक व्यवस्थामा अविश्वासको प्रस्ताव २ वर्ष होइन, २ महिनामा पनि ल्याउन मिल्छ’, आचार्य तर्क गर्छन्, ‘२ वर्ष ल्याउन मिल्दैन भने त्यसलाई बढाएर ४ वर्ष किन राख्न नमिल्ने ?’ यो विषयलाई आचार्यले जीवनको पाठशाला पुस्तकमा पनि उल्लेख गरेका छन् । संविधान सभामा आफ्नो मात्रै रायले मान्यता नपाउने भएकाले सबैतिरको सहमति खोजिएको उनले स्मरण गरे ।

कांग्रेसभित्र निर्वाचन अघि र पछिको गठबन्धन बीचमा फरक फरक मत थियो । संस्थापनइतरका नेताहरु निर्वाचन अघिको गठबन्धनका विपक्षीमा थिए । पार्टीको बहुमत पक्ष चुनावी तालमेलको पक्षमा रहेपछि त्यसै अनुसार निर्णय गरियो । चुनावपछि हुने सरकारलाई केन्द्रमा राखेर चुनावअघि गठबन्धन गर्न नहुनेमा आचार्य दृढ छन् । कांग्रेसले गरेको चुनावी तालमेल उनलाई पटक्कै मन परेको छैन ।

‘प्रि एलायन्स कहिले पनि भएको थिएन । यो अनौठो घटना हो’, आचार्य आश्चर्य मिश्रित स्वरमा भन्छन्, ‘कि ठूलो दलको नेतृत्वमा सरकार बन्न सक्नुपर्थ्यो । मतदाता पनि रिसाएका छन् ।’ बहुमत नपुगे संयुक्त सरकार बन्नु स्वभाविक भए पनि चुनावअघि नै गठबन्धन गर्नु उपयुक्त नहुने आचार्यको धारणा छ ।

२०४८ देखि कांग्रेसको पूर्णकालीन राजनीतिमा लागेका आचार्यलाई १४ औं महाधिवेशनबाट नयाँ उर्जासहितका महामन्त्री आएकाले उर्जाशील कांग्रेसको अपेक्षा गरेका थिए/छन् । पार्टी विधानले सभापतिलाई नै सर्वेसर्वा बनाएकाले महामन्त्रीबाट आशा अनुरुप अझै भूमिका देख्न नसकिएको उनी बताउँछन् । महाधिवेशन सकिएको एक वर्ष मात्रै भएकाले दुई महामन्त्रीको भूमिकामा प्रश्न उठाइहाल्ने अवस्था नरहेको आचार्य बताउँछन् ।

यद्यपि उनको ध्यान दैनन्दिन राजनीतिमा भन्दा दीर्घकालसम्म कामयाब हुने वैचारिक चिन्तन मननमै बढ्ता छ । आजको व्यस्त दैनन्दिन सत्ता राजनीति, समीकरण निर्माण, गठन–विघटन आदिमा सारा राजनीतिकर्मी कुदिरहेका बेला कुनै नेताले धुम्धुम्ती सोचिरहनु, चिन्तन गर्नु पनि कुनै काम नै त हो ।

त्यही सोच्ने काम गर्दैछन् नरहरि आचार्य ।

(तस्वीर/भिडिओ : शंकर गिरी)

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?