+
+
मध्यपहाडी लोकमार्ग :

कास्की खण्डको रेखांकनमा फेरि विवाद, पोखरा महानगरमा प्रभावितको धर्ना

विकास रोकामगर विकास रोकामगर
२०७९ चैत ९ गते १४:५६

९ चैत, पोखरा । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा महानगर खण्डको रेखांकन विषयमा फेरि विवाद चर्किएको छ । रेखांकन विषयमा सुरुदेखि नै विवादमा आइरहेको पोखरा महानगर क्षेत्रभित्र पर्ने वडा नं. १६ र १९ का बासिन्दा टेन्डर प्रक्रियापश्चात काम सुरु भइसकेपछि फेरि आन्दोलित भएका हुन् ।

पोखरा महानगरअन्तर्गत वडा नं. १६ र १९ को मध्यपहाडी लोकमार्ग प्रभावित स्थानीयले आआफ्नो वडा कार्यालय बन्द गर्नेदेखि लिएर महानगरमा धर्ना दिन सुरु गरेका छन् । पुष्पलाल मध्यपहाडी राजमार्ग पीडित संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दाले चैत १ गतेदेखि दैनिक २ घन्टा, ८ गतेबाट साढे १ बजेसम्म वडा कार्यालय बन्द गर्दै आएका छन् ।

प्रभावितले विहीबार पोखरा महानगरमा समेत धर्ना दिएका छन् । रेखांकनको विकल्प खोज्नुपर्ने र नखोजे १४ गतेबाट वडा कार्यालय पूर्ण रुपमा बन्द गर्ने समेत उनीहरुको चेतावनी छ । ‘जनतालाई सुकुम्बासी बनाउने खेल हामी मान्दैनौं । यसको विकल्प सरकारले खोज्नैपर्छ’ पोखरा १६ का अमृत थापाले भने, ‘मध्यपहाडीको नाममा हामीलाई जानकारी नै नदिई मनपरी रेखांकन भएको छ ।’

स्थानीय बासिन्दाले आफूहरुलाई जानकारी नै नदिई ‘गुमराह’मा राखेर सुकुम्बासी बनाउने खेल भएकाले आफूहरु विरोधमा उत्रन बाध्य भएको बताएका छन् । विवादकै कारण अहिले पोखरा १६ अन्तर्गत पर्ने करिब ५०० मिटरको काम पनि अगाडि बढ्न सकेको छैन ।

‘विना जानकारी, विना सूचना सीधै टेन्डर निकालेर बाटो ३० मिटरको हुन्छ भनेर काम सुरु भएपछि बल्ल थाहा पायौं’ पोखरा १९ का हरिबहादुर थापाले भने, ‘यसले हामीलाई घरबारविहीन, घरजग्गाविहीन, सुकुम्बासी हुन्छौं । यसमा गम्भीर हुनैपर्छ ।’

आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग रेखांकन विवादकै कारण कास्कीखण्डमा भने लामो समयसम्म काम सुरु हुनसकेको थिएन । कास्कीखण्डको भैंसेको बस्ती हटाउने र रेखांकन परिवर्तन गर्नुपर्ने विषयमा लामो समयको विवाद गत वर्ष मात्रै टुंगिएको थियो ।

२०७७ सालमा राजमार्ग अन्तर्गतका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि संयुक्त रुपमा बैठक बसी भैंसेदेखि याम्दीसम्मको रुट परिवर्तन गरी पुनः नक्सांकन गर्न भौतिक तथा यातायात मन्त्रालयलाई अनुरोध गरेका थिए ।

उनीहरुले अनुरोध पत्रमा पोखराको ११, १२, १३, १६ हुँदै जाँदा धेरै संरचनालाई असर पुग्ने र नागरिकसमेत घरबारविहीन हुनुपर्ने औंल्याएका थिए । जसमा करिब ८०० घरपरिवार घरबारविहीन हुनुपर्ने औंल्याइएको थियो ।

सोही विषयलाई लिएर आयोजनाले सडक रेखांकन परिवर्तन गर्न नेपाल सरकारलाई प्रतिवेदन बुझाएकाे थियो । २०७७ फागुन २६ बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनलाई आधार मानेर भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको नयाँ रेखांकन पास गर्‍यो । तर, परिवर्तित रेखांकनका विषयलाई लिएर पुनः पोखरा १६ र १९ का नागरिक विरोधमा उत्रिएका हुन् ।

नयाँ परिवर्तन गरिएको रेखांकनको विषयमा पोखरा १६ र १९ का स्थानीय तत्कालीन वडाध्यक्ष जीवन आचार्यसँग रुष्ट छन् । तत्कालीन पोखरा १६ का वडाध्यक्ष आचार्यले २०७८ जेठ २ गते सडक रेखांकनको विषयमा जग्गामा सम्बन्धमा कुनै विवाद नरहेको, कुनै मुआब्जा दिनु नपर्ने, क्षतिपूर्तिसमेत न्यून हुने भन्दै राजमार्ग निर्माणको काम अगाडि बढाउन सिफारिस गरेका थिए ।

‘सबै जनताको सहमति छ, मुआब्जा पनि दिनुपर्दैन भनेर जनतासँग सोधपुछ पनि नगरी हामीलाई झुक्याएर सहमति गरियो । रेखांकन हुँदा हामीलाई जानकारी हुनुपर्छ कि पर्दैन ?’ अमृत थापाको आक्रोश छ, ‘यो सब एकलौटी रुपमा भयो ।’

कास्की अन्तर्गत राजमार्गको ३५ किलोमिटर कामका लागि ‘स्वच्छन्द एपेक्स जेभी’लाई ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको छ । कुल ३ अर्ब ४२ करोड रुपैयाँमा ठेक्का पाएको जेभीले काम सुरु गरेको महिना दिन नबित्दै विवाद उत्पन्न भएको हो ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग २४ जिल्लाका ग्रामीण भेग जोड्ने गरी १ हजार ७५६ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?