
९ चैत, काठमाडौं। कप्तान सीता रानामगरको अलराउण्ड प्रदर्शन सहयोगमा एपीएफले ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो दिनको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशमाथि १० विकेटको जित हासिल गरेको हो ।
मधेशले दिएको ५९ रनको लक्ष्य ७.३ ओभरमा विना क्षति पूरा गर्दा ओपनर सीताले अविजित ४५ रन बनाइन् । उनले ३६ बलमा ९ चौका प्रहार गरिन् । ज्योती पाण्डे १० बलमा १ चौकासहित ८ रनमा अविजित रहिन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनको झिनो योगफल खडा गरेको थियो । मधेशका लागि साना प्रविणले सर्वाधिक २५ रनको पारी खेलिन् । उनले ४५ बलमा २ चौका प्रहार गरिन् ।
मधेशलाई सस्तैमा समेट्न सोनु खड्का र सीताले उत्कृष्ट बलिङ गरे । सोनुले २.४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिइन् । प्लेयर अफ द म्याच बनेकी सीताले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिइन् ।
यसअघि विहीबारै भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर–११ लाई ५१ रनले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4