+
+

‘बलात्कृत महिला गाउँ छाडेर भागेका छन्’

मुद्दा जिते पनि बलात्कार पीडितले समाजसँग थप लड्नुपर्छ । यस्ता घटनामा पीडितहरू सामाजिक पुनर्स्थापना हुन एकदमै मुश्किल छ । यस्तो अवस्थामा पीडितले आफ्ना सबै इच्छा मारेर बस्नुपर्ने हुन्छ, नभए ठाउँ नै छोड्नुपर्छ ।

बिनु श्रेष्ठ, अधिवक्ता बिनु श्रेष्ठ, अधिवक्ता
२०७९ चैत १० गते १०:४३

हाम्रो समाजमा बलात्कार भन्ने वित्तिकै महिलाको इज्जतसँग जोडेर हेरिन्छ । कुनै महिलामाथि बलात्कार भए इज्जत जान्छ भन्ने बुझाइले पीडितले परिवार र आफन्तबाट पहिलो साथ पाउँदैनन् । घटना भइसकेपछि पीडितको पहिलो चुनौती नै यही हुन्छ ।

यही चुनौतीका बीच पनि जब पीडितहरू आफू अन्यायमा परेको ठानेर उजुरी गर्न तयार हुन्छन्, त्यो आफैंमा ठूलो आँट र हिम्मतको कुरा हो । किनभने पीडितले हिम्मत र आँट नपाउँदा समाजका यस्ता धेरै घटना बाहिर आउँदैनन्, घरभित्रै लुकाइन्छन् ।

त्यसपछि जब महिला मुद्दा–मामिला गर्न प्रहरी र जाहेरी लेखाउन वकिल समक्ष पुग्छन् त्यहाँ पनि महिलाको अवस्था हेरेर प्रश्नहरू सोधिन्छ । हर्ताकर्ता महिला छिन् भने त ‘साँच्चिकै बलात्कारमा परेको हो कि सहमतिमा हो’ भने जस्ता प्रश्नहरू सोधिन्छ ।

यस्तो बेलामा प्रश्न सोध्ने शैली मात्रै होइन, सोधिने ठाउँ पनि पीडितमैत्री हुँदैन । कतिपय भन्न नसकिने कुराहरू पनि पीडितहरूले खुल्ला ठाउँमा भन्नुपर्ने अवस्था हुन्छ । उसै पनि बलात्कारमा परेर प्रतिष्ठा र आत्मसम्मानमा चोट पुगेको बेला सोधिने यस्ता खाले प्रश्नले पीडितलाई थप चोट पुर्‍याउँछ ।

त्यसपछि जब मुद्दा अदालतमा जान्छ, तब थुपै्र पटक पीडितको बयान लिइन्छ । विपक्षी वकिलहरूबाट असंवेदनशील प्रश्नहरू सोधिन्छन् । यो क्रम पटक–पटक चल्छ । अझ मेडिकल रिपोर्ट जाँच गर्दा पनि पीडितले निकै अप्ठ्यारो महसुस गर्नुपर्ने अवस्था रहन्छ ।

हाम्रा कतिपय कानुनी प्रणालीहरू यस्ता छन्, जहाँ न्यायको लडाईं लड्ने क्रममा एकपटक शारीरिक रूपमा बलात्कार भइसकेका पीडितहरू अदालतमा पटक–पटक भावनात्मक रूपमा बलात्कृत भइरहेका हुन्छन् । पटक–पटक अदालत धाइरहनुपर्ने बाध्यता र त्यो क्रममा उनीहरूमाथि कर्मचारी, वकिल र प्रहरीले हेर्ने दृष्टिकोण र गरिने कानेखुसीले पीडितलाई थप आघात बनाउँछ ।

जसै जसै मुद्दा अघि बढ्छ, पीडितहरूलाई विभिन्न प्रलोभनमा पारेर वा धाकधम्की दिएर बयान फेर्न खोजिन्छ । यसलाई कानुनी भाषामा ‘होस्टाइल’ भनिन्छ । प्रायः हरेकजसो मुद्दामा पीडितलाई पीडक पक्षले होस्टाइल गराउने प्रयास गर्छन् । मुद्दा अघि बढेदेखि फैसला नहुँदासम्म पीडितलाई धम्क्याउने र प्रलोभनमा पार्न खोजिन्छ ।

यो अवधिमा पीडितले थुप्रै मानसिक यातनाका बीच गुज्रनुपर्छ । यो क्रममा पीडितले यति धेरै हैरानी भोग्नुपर्छ कि न्यायका लागि धाउँदा धाउँदै पीडित नै थाक्छन् । र, त्यही मौकामा पीडकहरूले खेल्ने मौका पाउँछन् र घटनालाई प्रभावित गर्न खोज्छन् । न्याय पाउन पीडितका सामु यति धेरै तगारा आउँछन् कि, त्यहीकारण पनि धेरै पीडित बयान फेर्न बाध्य हुन्छन् ।

त्यति गरेर सबै प्रमाण पुर्‍याएर पीडितले मुद्दा जिते पनि फेरि क्षतिपूर्तिको लागि अर्काे संघर्ष सुरु हुन्छ । पीडितले क्षतिपूर्ति पाइहाले विपक्षले पुनरावेदन गर्छन् । त्यसपछि फेरि पीडितलाई अदालत धाइरहनुपर्छ । पीडितको न्यायको लडाईं यतिमै सकिंदैन । कानुनी मुद्दा जिते पनि पीडितले समाजसँग थप लड्नुपर्छ । बलात्कार घटनामा पीडितहरू सामाजिक पुनर्स्थापना हुन एकदमै मुश्किल छ ।

घटनापछि पीडितको अवस्था पहिलो जस्तो हुँदैन । पहिलेको जस्तै खुलेर हाँस्ने, बोल्ने वातावरण उनीहरूले पाउँदैनन् । उनीहरूले कसैसँग हाँस्न, बोल्न मात्र हैन, राम्रो लुगा समेत लगाउन पाउँदैनन् । कसैसँग हाँसे, बोले वा राम्रो भएर हिंडे, पीडितकै चरित्रमाथि प्रश्न उठाइन्छ ।

यसरी घटनापछि पीडित महिला संकोचमा बाँच्नुपर्ने स्थिति आउँछ । समाजमा पीडित महिलाले खुलेर बाँच्न पाउने अधिकार नै खोसिन्छ । समाजले लगाउने अनेक, लाञ्छना र टीकाटिप्पणीका कारण पीडित हरेक कोणबाट पटक–पटक अन्यायमा परेको महसुस गर्छन् । यस्तो अवस्थामा पीडितले आफ्ना सबै इच्छा मारेर बस्नुपर्ने हुन्छ । नभए ठाउँ नै छोड्नुपर्ने हुन्छ ।

अझ कतिपय घटनामा त पीडित नै समाजबाट विस्थापित हुनुपर्ने अवस्था छ । बलात्कार घटनामा सबै पीडितले परिवारको साथ र माया पाउँदैनन् । हाडनाता करणीका घटनामा त आफ्नै परिवारभित्र पीडित बस्न सक्ने अवस्था हुँदैन । पीडित नै घर छोडेर जानुपर्ने अवस्था हुन्छ । त्यसको कारण हो– बलात्कारका घटनामा समाजले पुरुषलाई होइन, महिलालाई नै दोषी देख्नु र पीडितलाई तिरस्कार गर्नु ।

त्यसैले पनि पीडितले मुद्दा जित्दैमा न्याय पाउँदैनन् । सामाजिक न्याय नपाउँदा पीडितहरू गाउँ–समाजमा बस्न सक्ने स्थिति हुँदैन । उनीहरू संघ–संस्थाको शरणमा जानुपर्ने अवस्था आउँछ । समाजले पीडितमाथि नै गर्ने टीकाटिप्पणी र लाञ्छनाले उनीहरू विस्थापित भएका थुपै्र घटना छन् । कति महिला त गाउँ नै फर्किन नसकेको अवस्थामा छन् । कति महिला गाउँ नै छोडेर भागेका छन् ।

गाउँमा मात्रै हैन, शहरमा पढेलेखेका व्यक्तिहरू पनि पीडितलाई नै दोषी देख्छन् । यो सबैको जड, हाम्रो सामाजिक मूल्यमान्यता हो । जहाँ हामी हुक्र्यौं, बढ्यौं । अझ भनौं छोरीको इज्जतलाई योनीसँग मात्र जोडेर हेर्‍यौं । त्यहीकारण छोरीलाई हेर्ने हाम्रो दृष्टिकोण कमजोर हुँदै गयो ।

मुख्य कुरा भनेको छोरीलाई हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउनु हो । छोरीको इज्जत उसको योनी होइन र हुँदैन भनेर सोचाइ बदल्नुपर्छ । जबसम्म यो सोचाइ बदल्न सक्दैनौं, तबसम्म छोरीहरूले न्याय पाउँदैनन् ।

त्यसकारण न्यायको जुन लडाईं छ, अदालतबाट न्याय पाइहाले पनि परिवार र समाजले सजिलै स्वीकार गर्दैन । कानुनी लडाईं जिते पनि परिवार र समाजको साथ नपाउँदा पीडितले वास्तविक न्यायको अनुभूति गर्न पाउँदैनन् । पीडित सधैं झन् पीडामा हुन्छन् ।

सामाजिक न्यायको कुरा कानुनमा नभएको होइन । कानुनले पीडितलाई सामाजिक पुनर्स्थापना गराउने व्यवस्था गरे पनि व्यवहारमा ती कुरा लागू हुनसकेका छैनन् । छिटो, छरितो मुद्दा फैसला गर्ने र पीडितलाई क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ ।

त्यस्तै मुद्दा जितेपछि पीडितलाई सामाजिक पुनर्स्थापना गराउन पीडितको परिवार, गाउँ–समाज र स्कुलमा समेत गएर काउन्सिलिङ गर्नेसम्मका व्यवस्था कानुनमा छ, तर यी सबै कुरा कागजमा मात्र छन् । रिपोर्टमा मात्रै सीमित भए । कागजमा भएको कानुन व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन ।

(महिला मुद्दामा लामो समय काम गर्दै आएकी अधिवक्ता श्रेष्ठसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?