
१० चैत, धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कालोमसो दलको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जानकारी दिए । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
उनकाअनुसार प्रमुख गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको जानकारी आएको तर घटनाबारे अनुुसन्धान भइरहेको छ ।
नेविसंघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो । तालाबन्दीकै बीच कलेजले शुक्रबार परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।
परिषद्को अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाहेकको उम्मेदवारी नपरेपछि निर्वाचन समिति सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरेको थियो ।
जसअनुसार परिषद्को अध्यक्षमा नेशिव धिमाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरुमा अर्जुन चदारा, सुुरेन्द्रप्रसाद जोशी र आंचल उपाध्याय चयन भएका छन् ।
प्रतिक्रिया 4