+
+

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते ९:१९

११ चैत, काठमाडौं । भेट्रान अलराउण्डर मोहम्मद नावीको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गरेको छ ।

शारजाहमा शुक्रबार राति भएको पहिलो टी-२० खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले हरायो ।

पाकिस्तानसँग खेल्न थालेको एक दशकपछि अफगानिस्तानले पहिलो जित निकालेको हो । पाकिस्तानले नियमित कप्तान बाबर अजामलगायत मुख्य खेलाडी आराम दिंदै शादाब खानको कप्तानीमा नयाँ खेलाडीहरुलाई अवसर दिएको थियो ।

लो स्कोरिङ म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो ।

पाकिस्तानले दिएको ९३ रनको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ४ विकेट गुमाउर पूरा गर्‍यो ।

यसै खेलमार्फत पुनरागमन गरेका ३७ वर्षीय नावीले अफगानिस्तानका लागि अविजित रहँदै ३८ रन बनाए ।

उनले पाकिस्तानका इहसानुल्लाहलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । उनले ३८ बल खेल्दै ३ चौका १ छक्का प्रहार गरे । नजिबुल्लाह जद्रान १७ रनमा अविजित रहे । रहमानुल्लाह गुर्बाजले १६ रन बनाए ।

पाकिस्तानका लागि यसै खेलबाट डेब्यु गरेका इहसानुल्लाहले ३.५ ओभरमा १७ रन खर्चेर २ तथा नसिम शाह र इमाद वासिमले समान एक/एक विकेट लिए ।

त्यसअघि अफगानिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तान ९२ रनमै समेटिएको थियो ।

पाकिस्तानका इमाद वासिमले १८, सइम अयुबले १७,  तयाब ताहिरले १६ र कप्तान शादब खानले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नावीले २/२ विकेट लिए । मुजिवले ४ ओभरमा ९ र फजलहकले ४ ओभरमा १३ रन मात्र खर्चिए । नावीले ३ ओभरमा १२ रन खर्चे । कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान एक/एक विकेट लिए ।

दोस्रो टी-२० शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?