
११ चैत, काठमाडौं । सुदूरपश्चिमले ललितपुर मेयर वुमन्स टी-२० क्रिकेट प्रतियोगितामा शनिबार मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा दोस्रो जित निकालेको सुदूरपश्चिमले फाइनलको सम्भावना पनि कायम राखेको छ । तीन खेलबाट सुदूरपश्चिमले ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर मेयर ११ लाई पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा सूदूरपश्चिमले मधेश प्रदेशले दिएको ६६ रनको लक्ष्य १०.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।
सूदूरपश्चिमले ओपनरद्वय कविता कुँवर (१) र सम्झना खड्का (९) लाई सुरुवाती दुई ओभरमै गुमाएको थियो । तर त्यसपछि कप्तान विन्दु रावल, रितु कनौजिया र रुवि पोदराले जितसम्म पुर्याए । बिन्दले १०, रितुले अविजित २१ रन र रुविले १४ रन जोडे ।
सुदूरपश्चिमले अतिरिक्त रन मात्र ११ बनाएको थियो । बलिङमा मधेशका सरस्वती कुमारी, सन्तोषी चौधरी र अनुराधा चौधरीले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश १९ ओभरमा ६५ रनमा अलआउट भयो । मधेशका लागि ओपनर एलिशा यादव र सरस्वती कुमारीले १५-१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशलाई अलआउट गर्न सुदूरपश्चिमका लक्ष्मी साउदले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । किफायती बलिङ गरेकी रितुले ४ ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चेर २ विकेट लिइन् । एक ओभर बलिङ गरेकी सम्झनाले ८ रन खर्चेर २ विकेट लिइन् । इश्वरी विष्ट र कविता जोशीले समान १ विकेट लिइन् ।
अलराउण्ड प्रदर्शन गरेकी सुदूरकी रितु प्लेअर अफ दि म्याच घोषित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4