+
+

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

घटनाबारे छानविन सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १४:१५

१२ चैत, काठमाडौं । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो ।
एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।

सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।

यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका कारण विदेशी पाइलटलाई नेपालमा कारवाही गर्न सक्ने प्रावधान छैन । सोहीकारण यसबारे प्राधिकरणले पत्र लेखेको हो । यस घटनामा सो समयमा ड्यूटीमा रहेका एटीसीलाई भने तत्काल काममा नलगाउने गरी ड्यूटी ‘अफ’ गरिएको उनले जानकारी दिए ।

‘यस घटनामा दोष कसको हो भन्नेबारे हामी अनुसन्धान गर्छौं,’ उनले भने, ‘त्यसपछि निर्णय हुन्छ ।’

सामान्यतया आकाशमा दुई जहाज बीचको दुरी १ हजार फिट हुनु पर्छ । त्यो भन्दा नजिक आउँदा जहाजमा रहेको टिकासले सचेत गराउने गर्छ ।

यस्तो घटना गत १५ फागुनमा काठमाडौं नजिकैको आकाशमा समेत भएको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारवाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ ।

कतारबाट आएको उक्त एयरवेजको जहाज होल्ड गरेकै अवस्थामा १३ हजार ५ सय फिटबाट एटीसीको अनुमतिविना तल झर्दा झण्डै नेपाल एयरलाइन्ससँग ठोक्किन पुगेको थियो । सो बेला १२ हजार ५ सय फिटको उचाइमा नेपाल एयरलाइन्स र ११ हजार ५ सय फिटको उचाइमा बुद्ध एयरको जहाज थिए । यस उडानमा कतारले एक्कासी ७ सय फिट जहाज तल झारेपछि तोकिएको १ हजार फिटको दूरी मेन्टेन हुन सकेको थिएन । यसबेला एटीसीले सावधानिपूर्वक कतारलाई पुनः उचाइ लिन निर्देशन दिएको थियो । यो भट्टेडाँडास्थित ‘गुराँस प्वाइन्ट’मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?