+
+
जनगणना २०७८ :

नेपालमा काम गर्न सक्ने जनसंख्या उच्च

नेपालमा काम गर्न सक्ने उमेर समुह (१५–५९) को संख्या सबैभन्दा उच्च विन्दुमा पुगेको छ । जनगणना २०७८ अनुसार यतिबेला ६२ प्रतिशत मानिस यो समुहमा पर्छन् । यो संख्या १ करोड ८० लाख ७१ हजार माथि हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते २०:५६

१२ चैत, काठमाडौं । नेपाल क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूह (१५–५९ वर्ष) का हिसाबले सबैभन्दा सुविधाजनक अवस्थामा पुगेको छ । जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन अनुसार यस उमेर समूहमा यतिबेला कुल जनसंख्याको ६१.९६ प्रतिशत मानिस पर्छन् । यो संख्या १ करोड ८० लाख ७१ हजार ६८५ हो ।

अघिल्लो जनगणना २०६८ को तुलनामा यो ५ प्रतिशत विन्दुले बढी हो । तथ्यांक अनुसार ५ वर्षभन्दा कम उमेरको संख्या १.३३ प्रतिशत विन्दुले कम हुँदा ६० वर्ष भन्दा माथिको उमेर समुहको संख्या २.०८ प्रतिशत विन्दुले बढेको छ ।

यसले नयाँ जन्मिने भन्दा बुढ्यौली उमेरमा जानेको अनुपात बढ्दै गएको देखाउँछ । यसको अर्थ अब क्रमश जानसाङ्खिक लाभ (काम गर्न सक्ने उमेर समुहका मानिसको बाहुल्यता भएको अवस्था) लिन सक्ने सुविधाजनक अवस्था नेपालले गुमाउँदै जानेछ ।

२०७८ सालको जनगणनाको तथ्यांक अनुसार जानसाङ्खिक लाभ लिन सकिने सक्रिय श्रमशक्तिको यस्तो सुविधा नेपालले अझै दुई दशकसम्म निरन्तर लिन सक्ने सरोकारवालाको विश्लेषण छ । तर, मुलुकको विकासको धिमा गति र राजनीतिक अस्थिरता हेर्दा यो अवसरलाई उपयोग गरी मुलुक समृद्ध बनाउने अवसरबाट नेपाल चुक्न सक्ने जोखिम रहेको समेत उनीहरु बताउँछन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने उमेर समूह अनुसार जनसंख्याको संरचना विश्लेषण गर्दा आगामी २०–२४ वर्षसम्म नेपाल जानसाङ्खिक लाभको सुविधाजनक अवस्थामा रहने बताउँछन् । यसपछि भने संख्यात्मक रुपमा युवा बढी भए पनि आर्थिक रुपमा आश्रित हुनेको अनुपात बढ्छ । १४ वर्ष भन्दा कम र ६० वर्षभन्दा माथिको उमेरका मानिस आश्रित समूहमा रहन्छन् ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्राध्यापक डा.केशवप्रसाद अधिकारीसमेत २०९८ सालको जनगणनासम्म नेपालमा अहिलेकै अनुपातमा जनसंख्याको संरचना रहने अनुमान गर्छन् । ‘जानसाङ्खिक संरचनाको प्रवृत्तिलाई अध्ययन÷विश्लेषणबीना ठ्याक्कै यही होला भन्ने त सकिँदैन,’ उनी भन्छन्, ‘तर अझै दुई दशक युवाको बाहुल्य रहन्छ ।’ २०९८ सालपछि आजको ठूलो जनसंख्या बुढ्यौली उमेरमा पुग्ने भएकाले त्यसपछिको व्यवस्थापनमा भने आजैबाट काम सुरु गर्नुपर्ने उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका विभागीय प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङ नेपालले अझै ३० देखि ४० वर्षसम्म जानसाङ्खिक लाभ लिन सक्ने अवस्था रहेको विश्लेषण गर्छन् । जसमा सबैभन्दा सहज अवस्था यसै दशकमा रहेको उनी बताउँछन् ।

‘यो सबैभन्दा ठूलो अवसर हो, यसलाई उपयोग गर्न सकेनौं भने हामी खेर जान्छौं’, जनसाङ्खिक लाभ लिन सक्ने ठूलो जनसंख्या सक्रिय रहेको अवस्थालाई उपयोग गरेर मुलुक निर्माणमा लाग्ने हो भने नेपालको भविष्य उज्वल हुने उनको भनाइ छ ।

उमेर अनुसार जनसंख्याको विवरण

उमेर समुह २०६८ २०७८
जम्मा प्रतिशत जम्मा प्रतिशत
१ वर्षभन्दा कम ४६९९७९ १.७७ ४१११५९ १.४१
५ वर्षभन्दा कम २५६७९६३ ९.६९ २४३९२८३ ८.३६
०–१४ वर्ष ९२४८२४६ ३४.९१ ८११५५७५ २७.८३
१६ वर्ष वा सो भन्दा माथि १६५९३७३३ ६२.६३ २०४४१८७५ ७०.०९
०–१८ वर्ष ११७६७९३५ ४४.४२ १०५७७९६९ ३६.२७
१५–५९ वर्ष १५०९१८४८ ५६.९६ १८०७१६८५ ६१.९६
६० वर्ष वा सो भन्दा माथि २१५४४१० ८.१३ २९७७३१८ १०.२१
६८ वर्ष वा सो भन्दा माथि ९९९४१७ ३.७७ १५२४७६३ ५.२३

स्वास्थ्य सुविधामा लगानी बढाउनु पर्ने सन्देश

विज्ञहरुका अनुसार विज्ञान–प्रविधिको विकास, बढ्दो औसत आयु र स्वास्थ्य सेवामा भएको गुणात्मक परिवर्तनका कारण अहिले उमेर वा आर्थिक रुपमा सक्रिय अवस्थालाई ठ्याक्कै अंकमा तोकेर डराइहाल्नु पर्ने अवस्था भने छैन ।

प्रा‌.डा. अधिकारी मानिसको बुढेसकाललाई आजभन्दा ३० वर्ष अगाडिको परिभाषाले मात्र अब हेर्न नहुने बताउँछन् । व्यक्तिले राम्रोसँग काम गर्न सक्ने, आफ्नो परिवारलाई आर्थिक रुपमा सहायता गर्न सक्ने उमेरलाई सक्रिय उमेर नै मान्नु पर्ने उनको तर्क छ । यद्यपि वृद्ध अवस्थामा मानिसलाई निरन्तर सक्रिय राख्न स्वास्थ्य सुविधामा भने राज्यले लगानी बढाउनु पर्ने उनको सुझाव छ ।

प्रा.डा. अधिकारी भन्छन्, ‘मानिसलाई लामो समयसम्म आर्थिक रुपमा सक्रिय राख्न स्वास्थ्य सुविधामा बढी ध्यान दिनुपर्छ, आजभन्दा ३० वर्ष अगाडिसम्म सरकारले बाल मृत्युदर घटाउन, मातृ मृत्युदर घटाउन बढी लगानी गरेको थियो । अबको तीस वर्ष सरकारले वृद्धवृद्धाको स्वास्थ्यमा बढी लगानी गर्नुपर्छ ।’ उनीहरुलाई लामो समयसम्म सक्रिय राख्न सोही अनुसार विशेष योजना ल्याउनु पर्नेमा उनको जोड छ ।

अधिारीकै भनाइमा सहमत छन्, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने । भन्छन्, ‘गाउँमा बस्ने बुबा आमाले शहरमा पठाएको गुन्द्रुकले पनि अर्थतन्त्रमा योगदान गरिरहेको हुन्छ ।’

भविष्यको चुनौती

आर्थिक रुपमा सक्रिय मानिने श्रमशक्तिको ठूलो हिस्सा अहिले वैदेशिक रोजगारीमा छ । उनीहरुबाट नेपालले रेमिट्यान्स प्राप्त गरिरहेको छ । तर, रेमिट्यान्सबाट प्राप्त ठूलो रकम उपभोगमा प्रयोग भइरहेको छ । यसले नेपालको भविष्यलाई भने सुखदः सन्देश नदिने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल बताउँछन् ।

‘जनगणनाले स्पष्ट संकेत गरेको छ, अब जानसाङ्खिक लाभ लिन नेपालसँग धेरै समय छैन,’ उनी भन्छन्, ‘यो युवालाई अर्थतन्त्रको विकासमा लगाएर मुलुकलाई समृद्ध बनाउने समय हो ।’ विकासको हुटहुटी हुने नेताले यो सन्देशलाई गम्भीरतापूर्वक लिएर मुलुकको विकासमा केन्द्रित गर्नुपर्ने उनी बताउँछन् ।

‘अब हामीसँग कुर्ने समय छैन’, उनी भन्छन्, ‘हाम्रा योजना अब उत्पादन, विकास र समृद्धिमा आधारित हुनुपर्‍यो ।’ निकट भविष्यमै सामाजिक सुरक्षाले धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै यसतर्फ बेलैमा वैज्ञानिक उपायहरु लगाउनु पर्ने उनको सुझाव छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक लामिछाने समेत अब सेवा क्षेत्रको अधिकतम उपयोगमार्फत मुलुकलाई समृद्ध बनाउनुको विकल्न नरहेको बताउँछन् । ‘हाम्रा योजना आर्थिक समृद्धि, दक्ष युवाको स्वदेश फिर्ति र आत्मनिर्भर अर्थतन्त्रमा हुनुपर्छ,’ उनी भन्छन्, ‘जनगणनाले दिएको संकेत पनि यही हो ।’

प्रा.डा. केशवप्रसाद अधिकारी युवाको जोश र पाका उमेरका जनशक्तिको अनुभवलाई मिश्रण गरेर मुलुक समृद्ध बनाउन सकिने भन्दै राज्यले यसतर्फ लगानी बढाउनु पर्ने सुझाव दिन्छन् । ६० वर्षभन्दा माथिका जनशक्तिको अनुभवले सक्रिय श्रमशक्तिलाई अझ ठूलो सहयोग गर्ने भन्दै उनले बुढ्यौली उमेरका व्यक्तिलाई निरन्तर सक्रिय राख्न प्रयास गरिरहनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?