+
+

एउटै मञ्चमा बस्न चाहेनन् विष्णु पौडेल र भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १९:३७

१४ चैत, काठमाडौं । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार अछामको साफेबगरमा कार्यक्रम तय भएको थियो । उक्त कार्यक्रमका लागि उपाध्यक्ष विष्णु पौडेल अछाम पुगेका थिए ।

पूर्वउपाध्यक्ष नेता भीम रावल पनि गृहजिल्ला अछाममै थिए । तर दुई नेता एकै मञ्चमा उपस्थित हुन सकेनन् । एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहरा दुई नेतालाई एकै कार्यक्रममा उपस्थित गराउने चाहना पूरा नभएको बताए ।

‘भीम रावल कमरेडको पूर्व निर्धारित कार्यक्रम रहेको जानकारी गराएर अन्यत्र जानुभयो’ बोहराले भने । नेता रावलले अन्तिम समयमा साँफेबगरको कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नेता रावलले पनि आफूलाई उपाध्यक्ष पौडेल अछाम आउँदै गरेको जानकारी नदिएको बताएका छन् । उनले भनेका छन्, ‘यदि विष्णु पौडेलजीले म आउँदै छु तपाईंको गाउँमा भनेको भए मैले स्वागत गर्ने थिएँ ।’

एमाले जिल्ला अध्यक्ष बोहरा भने आफूले जानकारी गराए पनि रावल कार्यक्रममा नबसेको बताए । ‘उपाध्यक्ष विष्णु पौडेलले भन्नुभएन होला । तर, उहाँ (भीम रावल)लाई कार्यक्रमबारे जानकारी थियो र जानकारी नै गराएर अनुपस्थित रहनुभएको हो’ उनी भन्छन् ।

सोमबार साँफेबगरमा भएको कार्यक्रममा केही नेताले भीम रावल सहभागी नभएको विषयमा प्रश्न उठाएका थिए । रावलका समर्थकले भीम रावल खै भनेर होहल्ला नै गरेका थिए ।

‘एक जना केन्द्रीय सल्लाहकार परिषदको सदस्यले भीम रावलको विषयमा प्रश्न उठाउँदा केही कार्यकर्ताले भीम रावल खै, भीम रावल जिन्दावाद भनेर नारा लगाएका थिए’ जिल्ला अध्यक्ष बोहराले भने ।

विगतमा पार्टीको नेतृत्व तहमा रहेको र हाल जिम्मेवारीमा नरहेका कारण भीम रावलका सन्दर्भमा कार्यकर्तामा चासो हुनु स्वभाविक रहेको बताउँछन् नेता बोहरा बताउँछन् । तर, उपाध्यक्ष पौडेल र नेता भीम रावललाई एउटै मञ्चमा राख्न सकिने वातावरण बनिनसकेको उनको भनाइ छ ।

‘विधि पद्धति अरु कुराहरु, सबै कुराहरुको कारणले, पार्टीको भूगोलको कारणले पनि अहिले (विष्णु पौडेल र भीम रावल) संगै बस्न सक्ने खालको वातावरण बनेको छैन’ उनले भने ।

सुदूरपश्चिममा नेता रावलको राम्रो प्रभाव छ । तर, गत आम चुनावमा उनले टिकट पाएनन् । उनलाई टिकट नदिएकोमा एमाले नेतृत्वप्रति नै कार्यकर्ताहरुले प्रश्र गर्दै आएका छन् । ग्रासरुट अभियानको सुदूरपश्चिममा अनुगमनको जिम्मेवारी उपाध्यक्ष पौडेललाई र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

मिसन ग्रासरुट अभियानमा पनि भीम रावल जिम्मेवारीविहीन छन् । एमाले नेताहरु सोमबार अछामको साँफेबगरमा देखिएको दृष्यलाई विष्णु पौडेल र भीम रावलले एउटै मञ्चमा देखिन नचाहेको घटनाका रुपमा लिन सकिने बताउँछन् ।

‘रावलले पनि पौडेललाई सम्पर्क गर्न सक्थे । पौडेलले पनि आफू अछाम आउँदै गरेको जानकारी गराउन सक्थे । तर, गरेनन्’, एमालेकै एक नेता भन्छन्, ‘दुवैले एउटै मञ्चमा देखिन नचाहेको देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?