+
+

मिटरब्याजीलाई राजनीतिक संरक्षण, प्रमुख दलहरु तैँचुप मैचुप

‘स्थानीय नेता कार्यकर्ता पीडितको पक्षमा बोल्दैनन् । मिटरब्याजीको समाजमा सान हुन्छ । उसले चाहिएको बेला आर्थिक सहयोग गर्नसक्छ । प्रमुख राजनीतिक दलहरु मिटरब्याजीको विरुद्धमा नबोल्नुको कारण यही हो ।’

शैलेन्द्र महतो नवीन ढुंगाना शैलेन्द्र महतो, नवीन ढुंगाना
२०७९ चैत १४ गते २१:५८
पासोदेवी मण्डलको परिवार ।

१४ चैत, काठमाडौ । महोत्तरीको औरही नगरपालिका–१ बजारटोलकी पासोदेवी मण्डल खत्वेको लैनो भैंसी जबर्जस्ती लैजान छिमेकी विजय चौधरी परिवारसहित पुगे । १४ भदौ २०७७ एकाबिहानै पुगेका विजयका परिवारका सदस्यले ‘ऋण अहिले चुक्ता गर, नत्र भैंसी लान्छौं’ भन्दै नानाथरी गाली गरे ।

‘कोरोनाले लकडाउन छ । साँझ बिहानको छाक टार्न मुश्किल छ, ऋण कसरी तिर्नु ? पछि तिर्छु’ पासोदेवीले हात जोडेर बिन्ती गरिन् । त्यसअघि पनि उनीहरुले तीन पटक घरमै पुगेर यसरी धम्की दिने र गाली गर्ने गरेका थिए । त्यसदिन भने विजयका परिवारका सदस्यले लैनो भैंसी लिएर जाने अड्डी कसे ।

भनाभनका क्रममा चौधरी परिवारका सदस्यले पासोदेवीमाथि हातपात गरे । स्थानीयका अनुसार, कुटपिट भएको बेला त्यहाँ नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामबाबु चौधरी पनि थिए । उनी नबोली बसे । स्थानीयका भनाइमा, रामबाबुकै बलमा विजयको परिवारले पासोदेवी माथि कुटपिट गर्ने आँट गरेको थियो ।

घर व्यवहारका लागि मिटरब्याजी विजयसँग २०७५ सालमा दुईपटक गरी पासोदेवीले १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । विजयले त्यसको चारगुणा बढीको तमसुक बनाएका रहेछन् । कुटपिट घटनापछि पीडितले प्रहरीमा उजुरी दिइन् ।

आफूविरुद्ध प्रहरीमा उजुरी परेको सुनेपछि विजय गाउँमै बसेर मिलापत्र गर्न राजी भए । २० भदौ २०७७ मा पासोदेवीको एक मात्र आम्दानीको स्रोत लैनो भैंसी लैजाने शर्तमा कुरा मिल्यो । विजयले भैंसी लगे, तत्कालै कपाली तमसुक पनि फिर्ता गरे ।

मिटरब्याजी विजय चौधरी ।

विजयको पासोमा पर्ने पासोदेवी एक्ली होइनन् । उनीजस्तै बाध्यतामा परेका दर्जनौं गरिब विपन्न परिवारलाई विजयले मौका छोपेर १० गुणासम्मको कपाली तमसुक बनाएर दुई सय प्रतिशतसम्म ब्याजमा ऋण लगानी गरेको पाइएको छ ।

स्थानीय बासिन्दाका भनाइमा, विजयलाई स्थानीय माओवादी नेताहरुको साथ छ । त्यसैले विजयको मिटरब्याजको धन्दामा थुप्रै कुटिए, कति घरबाटै विस्थापित हुन पुगे । तर उनीमाथि कुनै कारबाही भएन ।

****

गोलबजार नगरपलिका–८, सिरहाका वीरेन्द्र यादवले घरायसी र व्यवसायिक कामका लागि २०६९ देखि २०७५ सालसम्म पटकपटक गरेर ६५ लाख रुपैयाँ स्थानीय रामसेवक यादवबाट ऋण लिएका थिए ।

सिरहाकै अर्नामा गाउँपालिका–३ का रामसेवकसँग ऋण लिँदा उनले झण्डै डेढ विघा जग्गा दृष्टिबन्धक राखेर कपाली तमसुक गरेका थिए । पटक–पटक गरी ४ करोड रुपैयाँ साँवा ब्याजसमेत चुक्ता गरिसकेको वीरेन्द्र बताउँछन् । जसको प्रमाण पनि उनीसँग छ ।

तर रामसेवकले ऋण अझै बाँकी रहेको भन्दै दृष्टिबन्धक राखेको ७ करोड रुपैयाँ मूल्य पर्ने जग्गा र १८ लाखको कपाली तमसुक फिर्ता गर्न मानेका छैनन् । मिटरब्याजी रामसेवकबाट अन्यायमा परेको भन्दै वीरेन्द्रले जिल्ला प्रशासन कार्यालय, सिराहमा उजुरी दिएका छन् र पैदल हिँडेर अहिले आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।

रामसेवकबाट पीडित वीरेन्द्र एक्ला होइनन् । रामसेवकले टोलछिमेकमा ठूलो मिटरब्याजको धन्दा चलाएका छन् । अवकाश प्राप्त शिक्षकसमेत रहेका रामसेवकले लामो समयदेखि सोही धन्दा गरेर धेरै जोडेका उनलाई चिन्नेहरु बताउँछन् ।

पैदल हिँडेर काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितहरु ।

रामसेवक नता समाजवादी पार्टीका मधेश प्रदेश उपाध्यक्षसमेत हुन् । उनका ज्वाइँ राजकिशोर यादव जसपाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री हुन् । रामसेवकले पनि लगानी गर्ने गरेको स्वीकार गरेका छन् । ‘म धेरै पहिला जग्गा बेचेर ऋण लगानी गर्थेँ । तर अहिले गर्दिन’ उनले अनलाइनखबरसँग भने, ‘शहरमा धेरै पहिले जग्गा सस्तोमा किनेको थिएँ । त्यो जग्गा अहिले महँगो भएको छ । त्यहीमध्ये केही बेचेर ऋण लगानी गरेको थिएँ ।’

तर अहिले आफूविरुद्ध जिल्ला प्रशासन कार्यालय, सिरहामा ४÷५ वटा उजुरी हालेर बदनाम गर्ने प्रयास गरिएको दाबी गरे । रामसेवकले भने, ‘अहिले सबै मुद्दा मिलिसकेको छ, बाहिर हल्ला भए जस्तो म मिटरब्याजी होइन ।’

****

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ पिपरारीका दिनेश यादवले २०७६ सालमा गाउँकै उतिम यादवसँग घर व्यवहारका लागि दुई पटक गरेर २४ हजार रुपैयाँ ऋण लिएका थिए ।

उनले ६ हजारको साँवा ब्याजसहित २० हजार र १८ हजारको साँवा ब्याजसहित ६० हजार तिरे । तर उतिमले कपाली तमसुक फिर्ता गरेनन् । हराएको छ, खोजेर दिन्छु भनेर पटक–पटक ढाँटे । अहिले १५ लाख रुपैयाँ ऋण पुगिसक्यो भनेर तिर्न ताकेता गर्न थालेपछि उनी तनावमा छन् ।

‘मैले लिएको ऋण तिरिसकेको छु । तमसुक हराएको छ, पछि खोजेर दिन्छु भन्यो’, दिनेशले दुखेसो पोखे, ‘अहिले ‘साँवा ब्याजसहित १५ लाख भयो, नतिरे मुद्दा हाल्छु भनेर धम्क्याउँछ ।’

दिनेशले न्याय माग्दै जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा उतिमविरुद्ध उजुरी दिएका छन् । उतिमले गाउँका धेरैलाई यसरी नै सताएको र सम्पत्ति हत्याएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार उतिम वृद्ध भएपछि पछिल्लो समय छोरा रामवीरले मिटरब्याजको धन्दा सम्हालेका छन् । उतिम नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । कांग्रेसमा पहुँच र गाउँमा बोलवाला रहेकाले उनीविरुद्ध बोल्ने आँट पीडितहरुमा नरहेको स्थानीयको भनाइ छ ।

रामवीरले पनि आफन्तजनबाट ल्याएको पैसा कहिलेकाहीँ लगानी गर्ने गरेको स्वीकार गरे । ‘तर हामी मिटरब्याजी होइनौं । आफन्तजन तथा अन्यबाट ल्याएर काम परेका व्यक्तिलाई कहिलेकाहीँ सहयोग गरिदिन्छौं’, उनले भने ।

****

सिरहाको कर्जन्हा नगरपालिका–३ कि कुसुमदेवी साहले २०७४ फागुनमा घर बनाउन स्थानीय मिटरब्याजी हिना यादवसँग पटक–पटक गरेर ६ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

हिनाले ब्याजसहित रकम फिर्ता गर्न वा तमसुक बनाउन दबाव दिन थालिन् । तीन महिनापछि तमसुक बनाउन पुग्दा हिसाब सुनेर कुसुमदेवी आत्तिइन् । किनकी ६ लाख ऋणको हप्ताको ब्याज जोडेर २० लाख रुपैयाँ पु¥याइएको थियो । अर्थात्, एक लाख रुपैयाँ ऋणको हप्ताको १० हजार रुपैयाँ ब्याज ।

मिलाएर ब्याज जोड्न कुसुमले पटकपटक अनुरोध गरिन् । तर हिना टसको मस भइनन् । बरु २० लाखको तीन गुना आर्थात् ६० लाखको तमसुक बनाउन बाध्य पारिन् । २०७५ जेठमा हिनाले आफू साहु भएर दुईवटा तमसुक बनाइन् ।

ससुरा पल्टु यादवलाई साहु खडा गरेर एउटा र विदेशमा रहेका श्रीमान् दीपेन्द्र यादवका नाममा अर्काे गरी जम्मा ४ वटा कागज बनाइन् । जसमध्ये एउटा ६ लाख, एउटा २१ लाख, एउटा १८ लाख र एउटा १५ लाखको थियो । ‘हिनालाई धेरै हात जोडेँ, तर मानिनन् । एक लाखको हप्ताको १० हजार ब्याज जोडेर जबर्जस्ती चार वटा कागज गराइन्’, कुसुमले भनिन् ।

कुसुमले हालसम्म हिनालाई ऋण वापत ७ लाख नगद र ३ लाख रुपैयाँ भन्दा बढीको गरगहना दिइसकेको बताइन् । पछिल्लो समय अदालतमा लेनदेनको मुद्दा हालेर कुसुमदेवीलाई हिनाले घर न घाटको बनाएकी छन् ।

हिनाको मिटरब्याजमा फस्ने कुसम जस्तै दर्जनौं गाउँले छन् । तर उनीमाथि कसैले प्रश्न गर्ने आँट गर्दैन । किनभने उनी नेकपा एमालेमा आवद्ध छिन् । पार्टीका नेतालाई बेलाबेलामा आर्थिक सहयोग गर्ने गरेको स्थानीयको भनाइ छ ।

विजय चौधरी, रामसेवक, उतिम र हिनाजस्ता मिटरब्याजी तराई मधेशको गाउँगाउँ टोलटोलमा छन् । बैंकमा सर्वसाधारणले सहजै ऋण नपाउँदा बाध्य भएर अति आवश्यक परेको बेला तिनै मिटरब्याजीबाट चर्को ब्याजदरमा कयौं गुणा बढीको कपाली तमसुक बनाई ऋण लिन बाध्य हुन्छन् सर्वसाधारण ।

****

सिरहाकी रामवती सिंह पैदलै काठमाडौ आएको १३ औं दिनमा मंगलबार (आज) सुटुक्क घर फर्किएकी छिन् ।

संघर्ष समितिका संयोजन गरिरहेका सन्तोष दाहालका अनुसार पीडित सिंहलाई सोमबार बेलुकादेखि जनमत पार्टीका सांसद त्रिभुवन साहका आफन्तले पछ्याइरहेका थिए ।

एक अन्तर्वार्तामा रामवतीले आफ्नो मिटर ब्याजी साहू सिरहा ४ (क) बाट प्रदेश सांसद निर्वाचित जनमत पार्टी त्रिभुवन साह रहेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई साहको आफन्त आएर समस्या हल गर्ने भन्दै घर जान आग्रह गरे । ‘हिजो नै लैजान खोजेका थिए, हामीले जान दिएनौं तर आज बिहान लिएर गए’, दाहालले भने, उहाँको सुरक्षाबारे हामीलाई चिन्ता छ ।’

****

२०७६ माघमा सिरहा मिर्चैया नगरपालिका–६ मटीयर्बाकी मञ्जुदेवी पासवान (४०) ले स्थानीय बबिता साहसँग २ लाख रुपैयाँ ऋण लिइन् । एक वर्षका लागि उनले लिएको ऋणको ब्याज हप्ताको ९ हजार रुपैयाँ तोकियो । एक वर्षका लागि उनले लिएको ऋण कोरोना महामारीले मजदुरी गर्न नपाए पछि तिर्न सकिनन् ।

‘त्यसपछि बबिताले ऋणको कागज गर्न दबाव दिइन्, नभए जेल हाल्ने धम्की दिइन्’, सोमबार खुलामञ्च प्रवेश गर्न नपाएर सडकमा बसेर न्यायको माग गरिरहेकी मञ्जुदेवी पासवानले अनलाइनखबरसंग भनिन्, ‘त्यसपछि हप्ताको ९ हजारका दरले अहिलेसम्म ब्याज बढ्दै गयो ।’

काठमाडौंको खुलामञ्चबाहिर धर्नामा बसेका मिटरब्याज पीडित ।

ऋणको ब्याजका कारण मञ्जुदेवीलाई धम्की आउन थालेपछि उनले आफ्नो पीडा वडाअध्यक्ष रामप्रकाश महासेठलाई सुनाइन् । महासेठ माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

‘मलाई सहयोग गरिदिनुप¥यो, ऋण चलनचल्तीको हिसाबले तिर्छु भनेर वडा अध्यक्षलाई बिन्ती गरें,’ उनले भनिन् ‘तर वडाअध्यक्ष महासेठले आफूबाट समस्या समाधान नहुने भन्दै सिडिओसँग कुरा गर्न भनेर तर्किए । त्यसपछि कहिल्यै कुरा गरेनन् ।’

आफैंले भोट हालेको नेताले आफ्नो कुरा नसुने पछि ठूलो नेताबाट समस्या समाधान हुन्छ कि भन्दै उनी समस्या सुनाउन मेयर श्रवणकुमार यादव समक्ष पुगिन् । तर उनले उल्टो थर्काएर साहुकै पक्ष लिएको मञ्जुदेवीको आरोप छ । ‘वडाले समस्या नसुनेपछि मेयर यादवसमक्ष समस्या राख्न गएँ, उनलाई पनि हामीले भोट दिएको हो’, पासवानले अनलाइनखबरसँग भन्छिन् ‘खाएपछि तिर्नुपर्छ भनेर थप कुरा गर्न नआऊ भनेर थर्काए ।’

मिटर ब्याजका कारण साहूले दिनदिनै तनाव दिन थालेको र वडा, नगर र जिल्ला कसैले पनि कुरा नसुनेपछि समस्या सुनाउन आफू काठमाडौं आउनुपरेको उनले दुखेसो पोखिन् । मिटरब्याजी बबिता राजनीतिक दलसंग पहुँच राख्छिन्, सबैलाई मिलाउँछिन् तर उनी कुन दलकी हुन मञ्जुलाई थाहा छैन । ‘जुन नेता आए पनि उनीसंग कुरो मिल्छ, उनी सबै नेताका प्यारी छन्’, मञ्जु भन्छिन् ।

****

सिराहा अर्नमा गाउँपालिका–१ मनौलक मायादेवी चौधरी (पुरुष) मिटर ब्याजबाट मुक्ति पाउन माग गर्दै १२ औं दिन हिंडेर सोमबार काठमाडौं आइपुगेका छन् । आगामी २२ चैतमा ६८ वर्ष पूरा हुने चौधरीले सिरहाका सांसद राजकिशोर यादवका ससुरा रामसेवक यादवसँग ५८ सालमा ४ लाख रुपैयाँ ऋण लिएका थिइन् ।

त्यो बापत उनले ८ कठ्ठा २ धुर जग्गा यादवको नाममा पास गरिदिए । त्यसपछि फेरि उनले २ लाख ८१ हजार रुपैयाँ ऋण लिए र सो बापत थप ४ कित्ताको ३२ धुर जग्गा यादवकै नाममा पास गरिदिए ।

तर, यादवले तनाव दिन छोडेनन् । त्यसपछि उनले अर्को ५ कठ्ठा जग्गा बिक्री गरेर यादवको ऋण तिर्न भन्दै एक जना मास्टर्स साबसंग बसेर सबै हिसाब गरे । चौधरीका अनुसार आफ्नो पुरानो जग्गा फिर्ता पाउन उनले अर्को जग्गा बिक्री गरेका थिए ।

तर, रामसेवकले पहिला हुन्छ भने तर पटक पटक उनलाई हुन्छ हुन्छ मात्रै भनेर झुलाए जग्गा फिर्ता दिएनन् । यसरी जग्गा फिर्तालिन धाएको आठौं दिनमा यादवले उनको पुरानो ८ कठ्ठा २ धुर जग्गामध्येको ५ कठ्ठा जग्गा बिक्री गरिदिए ।

जुन जग्गा बचाउनका लागि उनले २ करोडको जग्गा बिक्री गरेका थिए त्यो जग्गा नजोगिएको थाहा पाएपछि चौधरीले यादवलाई किन यस्तो गरेको भनेर प्रश्न गरेका थिए । यादवले ‘तिम्रो ऋणको कुल रकम एक करोड ८१ लाख रुपैयाँ पुग्यो भन्ने जवाफ दिएका थिए । यादवले ३६ प्रतिशतको दरले ब्याज हिसाब गरेका थिए । चौधरी भन्छन्, ‘अनि मैले सबै सम्पत्ति तिमी नै खाऊ भनेँ ।’

चौधरीका अनुसार उनले यो कुरा प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराए । सिडिओकै अगाडि यादवले ऋणको कुल ३६ प्रतिशतका दरले ब्याज जोडेर कागजमा हिसाब पनि देखाए । सिडियोले उनलाई तपाई मिटर ब्याजी हो भनेर थर्काए र अन्तिममा चौधरीसँग मिलेर आउन सल्लाह दिए । यसरी सांसद राजकिशोर यादवको ससुरालाई प्रशासनले मिटर ब्याजीको प्रमाण हुँदा हुँदै पनि केही गरेन ।

घरबार बिहीन बन्ने अवस्था आएपछि चौधरीले आफूलाई परेको समस्या आफूले भोट हालेको पार्टी नेपाली कांग्रेसका नेतालाई सुनाए । तर उनीहरुले सिडिओले मात्रै मिलाउन सक्छ हामीबाट हुन्न भने ।

उनले गुनासो लिएर वडा अध्यक्ष निर्वाचित माओवादी केन्द्रका गफार मियाँलाई पनि भेटे । उनले पनि सिडिओलाई देखाए । त्यसपछि उनले नगरप्रमुख जनता समाजवादी पार्टीका अशोककुमार यादवलाई भेटेर पटक पटक समस्या सुनाए । चौधरीका भनाइमा, ‘उनी पनि सिडिओ देखाएर पन्छिए ।’

****

सिरहा औरही गाउँपालिका–४ कल्याणपुरका रामबाबु पासवानका बुबाले स्थानीय राम अवतारी यादवसंग ४ वर्ष पहिले २ लाख रुपैयाँ ऋण लिएका थिए । त्यो रकमको ब्याज चुक्ता गर्न पासवान परिवारले ३७ लाख रुपैयाँ तिरिसकेको र त्यही पीडामा बुबाको मृत्यु भएको छोरा रामबाबु बताउँछन् । ऋण लिएबापत घर रहेको ४ कठ्ठा जग्गा तत्काल छोड भन्दै आफूलाई धम्की आउने गरेको उनले सुनाए ।

पासवानका अनुसार उनको गाउँ टोलमा मात्रै यादवले ५ करोड रुपैयाँ यसरी मिटरब्याजमा लगाएका छन् । कयौं मानिसहरु यादवबाट पीडित छन् । आफूहलाई घरबास उठाउने साहू २०६३/०६४ पछि माओवादीमा लागेको र उसले भनेको जिल्ला, नगरका सबैले मान्ने हुँदा आफूहरुको समस्या समाधान नभएको पासवान बताउँछन् ।

ठूला दलहरु तैँचुप मैचुप

मिटरब्याजीबाट सताइएका गाउँ गाउँमा थुप्रै पीडितहरु छन् । तर, स्थानीयदेखि केन्द्रीय नेताहरु उनीहरुको विरुद्धमा मुख खोल्दैनन् । पीडितको पक्षमा बोल्नु त परै जाओस, प्राय राजनीतिक दलका नेता कार्यकर्ता मिटरब्याजीकै संरक्षक बन्छन् ।

राजनीतिक संरक्षणकै कारण मधेशका गाउँगाउँमा मिटरब्याजको धन्दा फस्टाएको जनकपुरधामका वुद्धिजीवि जिवछ झा बताउँछन् । झाका भनाइमा, स्थानीय नेता कार्यकर्ता पीडितको पक्षमा बोल्दै, बोल्दैनन् । बरू पछिल्लो समय पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नेक्रम बढेपछि मिटरब्याजीको बचाउका लागि राजनीतिक दलकै नेता कार्यकर्ताहरु पुग्ने गरेका छन् ।

राजनीतिक विश्लेषक तथा लेखक रोशन जनकपुरी केन्द्रीय राजनीतिमा जसरी दलाल पूँजीपति वर्गको वर्चस्व छ, त्यसरी नै स्थानीय राजनीतिमा मिटरब्याजीको पक्कड मजबुत रहेको बताउँछन् । उनका अनुसार जो साहु महाजन छन्, उनीहरुसित पैसा छ । उनीहरुकै राजनीतिमा पकड छ । कि त उनीहरु आफैं राजनीति गर्छन् कि उनीहरुद्वारा संचालित राजनीति लिडरसिप छन् ।

उनले अघि भने, ‘गाउँघरको राजनीतिमा उनीहरु नै नेताहरुलाई पैसा दिन्छन्, खुवाउने पाल्ने काम गर्छन् । त्यसकारण मिटरब्याजीको राजनीति संरक्षण स्वभाविकै हो ।’

त्यही कारण गाउँघरको सिंहरदरबार भनिएको स्थानीय सरकारहरुले पनि पीडितको पक्षमा काम गरेनन् । प्रदेश र केन्द्र सरकारले पनि आन्दोलनकारीहरुलाई थामथुम पारेर फर्काउने प्रयास गर्दै आएको छ । ‘जति खेर मिटरब्याज पीडितहरुको प्रदर्शन हुन्छ, त्यो बेलामा उनीहरुलाई नै सम्झाउने, थमथुम पार्ने प्रयास हुन्छ’, जनकपुरी भन्छन्, ‘बाध्य भएपछि मात्र मिटरब्याजीलाई समात्ने कोसिस हुन्छ । किनकी उनीहरुलाई राजनीति संरक्षण छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?