१५ चैत, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन् ।
बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए ।
‘टेलिभिजनहरु युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु’, ओलीले भने, ‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’
विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।
२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आइनसकेको बताए ।
मन्तव्यका क्रममा ओलीले पाल्पाको रानीमहल दरबार ऐतिहासिक धरोहर भन्दै यसबाट प्रेरणा लिनुपर्ने बताए ।
रानी महलको भ्रमणा गरेको भोलिपल्ट बुटवल आएका उनले आफू प्रधानमन्त्री हुँदा रानीमहलसहित एकसय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4