+
+

बारा–२ मा उपेन्द्रलाई रोक्न सीके राउतको शिवचन्द्र कार्ड

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत १५ गते २०:१०

१५ चैत, वीरगञ्ज । बुधबार शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले भने बारा–२ बाट उपेन्द्र यादवले उपनिर्वाचन लडे जनमतको अपमान हुने टिप्पणी गरे ।

सीके राउत उनै हुन् जसले ४ मंसिरको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका थिए ।

१० वैशाखमा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर निर्वाचन क्षेत्र खाली गर्ने उपेन्द्रको योजनाको पहिलेदेखि विरोधमा रहेका सीके राउतले बुधबार रामसहायसँग चुनाव लडेका माओवादीका कुशवाहलाई आफ्नो पार्टीमा ल्याएका हुन् ।

उपराष्ट्रपतिको मनोनयनकै क्रममा रामसहायलाई सत्तारुढ गठबन्धनको उम्मेदवार हुनबाट रोक्न चाहेका सीकेले आफ्नो दलबाट ममता झालाई उम्मेदवार बनाएका थिए । तर राउत सफल भएनन्, सत्ता गठबन्धन दलको समर्थनमा उपेन्द्रले बाजी मारे अर्थात् रामसहाय उपराष्ट्रपति चुनिए र बारा–२ मा उपनिर्वाचन हुने भयो ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालिन माओवादीका उम्मेदवार कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए । त्यतिबेला रामसहाय जसपा–एमाले गठबन्धनको उम्मेदवार थिए भने शिवचन्द्र कांग्रेस–माओवादी–एकीकृत समाजवादी–लोसपासहितका गठबन्धनको उम्मेदवार थिए ।

१० वैशाखको उपनिर्वाचनमा आफ्नो दल माओवादी केन्द्रले समेत उपेन्द्रलाई सघाउने संकेत पाएपछि शिवचन्द्र जनमत प्रवेश गरेका हुन् । ०५२ सालमै भूमिगत भएर माओवादीको राजनीति गरेका कुशवाह २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७० सालमा भने उनले माओवादीबाट टिकट पाएनन्, सद्भावनामा गएर चुनाव लडेका थिए । पछि नयाँ शक्ति पार्टी हुँदै फेरि माओवादी केन्द्रमा फर्किएका हुन् ।

प्रचण्डले उपेन्द्रलाई हुण्डा बटैयामा दिन खोजे : शिवचन्द्र

जनमत पार्टीमा प्रवेश गरेपछि कुशवाहले प्रचण्डले बारा–२ उपेन्द्र यादवलाई हुण्डा बटैयामा दिन लागेको टिप्पणी गरे । ‘मसिंर ४ को निर्वाचनमा झिनो मतले हारेको हुँ, अध्यक्षजीले उपेन्द्रलाई हुण्डा बटैया लगाइदिनुभयो । अनि हामीले चाहिँ खेती गर्नुपरेन ?’ उनले भने ।

उनले सीके राउतप्रतिको सेन्टिमेन्ट र आफ्नो प्रभाव नै जित्ने आधार भएको बताए ।

‘माओवादी नेताहरुले पार्टी नै डुबाईसकेका रहेछन् पुरै बारा जिल्लामा, मलाई त्यसमा दिल लागिराखेको थिएन । प्रचण्डको मुख हेरेर बसेको थिएँ, म माथि अलि विश्वास गर्नुहुन्थ्यो’, उनले भने, ‘धेरै पीडा सहेरै माओवादी केन्द्रमा बसेको थिएँ, यो पटक एउटा अवसर आयो, बाध्य भएर जानुपर्ने भयो । यसपटक उपेन्द्रलाई हराउँछु ।’

एमालेबाट पुरुषोत्तम पौडेल !

यो क्षेत्रमा एमालेले उम्मेदवार तय गरिसकेको छैन । तर बारा–२ का कतिपय नेता कार्यकर्ताले पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् । ‘मिसन ग्रास रुट अभियान’ का क्रममा पर्सा बारामा पुगेका केन्द्रीय नेताहरुसँग स्थानीय नेता कार्यकर्ताले पुरुषोत्तमलाई नै टिकट दिन आग्रह गरिरहेका छन् ।

मंगलबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ र सांसद अच्युत मैनालीलाई भेटेर उनीहरुले त्यस्तो आग्रह गरेका थिए । प्रदेश कमिटी सदस्य एवं बारा–२ को क्षेत्रीय अध्यक्ष राजेश साह पार्टीले पुरुषोत्तम पौडेललाई टिकट दिए आफूहरुले जिताएर देखाउने बताए ।

‘बारा–२ मा अहिलेको परिस्थितिमा पुरुषोत्तम पौडेल नै उत्तम उम्मेदवार हुनुहुन्छ । कार्यकर्ताको चाहना पनि त्यस्तै छ’, उनले भने, ‘पार्टीका नेताहरुलाई भेटेर उहाँलाई टिकट दिनुस्, जिताउने जिम्मा हाम्रो हो भनेका छौं ।’

बारा–२ मा पर्ने पाँचवटा पालिकामध्ये महागढीमाई नगरपालिका, पचरौता, देवताल र करैयामाई गाउँपालिकामा एमालेले धेरै मत पाउने र सुवर्ण गाउँपालिकामा जसपासँग प्रतिस्पर्धा हुने उनको दाबी छ ।

मंसिर ४ मा जनमत छैटौं

४ मंसिरमा जसपा उम्मेदवार रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा शिवचन्द्रले १३ हजार ४६८ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्षएर तेस्रो भएका थिए ।

उनी जनता समाजवादी पार्टीकै बागी उम्मेदवार भएको स्थानीय नेता कार्यकर्ता बताउँछन् । चौथो स्थानमा आएका स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादव (रोशन) ले १० हजार ७५०, अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याएका थिए । उनी कांग्रेस निकट मानिन्छन् ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत पाएर छैटौं स्थानमा थिए । स्वतन्त्र उम्मेदवारहरुको मत नै यसपटक निर्णायक हुने स्थानीय राजनीतिकर्मी बताउँछन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?