+
+

प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि के भइरहेको छ ? खुलस्त भन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १५:००

१६ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन्।

निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उनले सुझाव दिए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । उनले भने, ‘सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।’

ओलीले थपे, ‘विदेश भ्रमणमा जाँदै हुनुहुन्छ, त्यहाँ बोल्न सक्ने त उहाँको खुबी नै छैन । आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदै हुनुहुन्छ कि अरु नै कुरा ? प्रश्न दाबेदारी कि ताबेदारीको भन्ने हो ।’

नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको उनले बताए । तर सरकार यसबारे चुप रहेको ओलीको आरोप छ । ‘हाम्रो भूमि खुम्चिँदो छ, हाम्रो सीमा मिचिँदो छ, सरकार मौन छ । किनभने यसमा बोल्यो भने सरकार धरापमा पर्न सक्दछ,’ पूर्वप्रधानमन्त्री ओलीले भने । आफ्नो पद खतरामा पर्छ भनेर बोल्न डराउनेले देशको पक्षमा पनि काम गर्न नसक्ने ओलीको भनाइ छ ।

चुनावमा समेत बाहिरबाट कसले ‘सपोर्ट’ गर्छ उसैले जित्छ भनेर चर्चा चल्ने गरेको भन्दै ओलीले अभ्यास आन्तरिक हुने भए पनि हिसाब बेग्लै हुने गरेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?