 
																			१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट अघि बढाउन नपाइने बताएका छन् ।
उनले हाल प्रतिनिधिसभामा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक व्यापक छलफल विना पारित गर्न नपाइने बताएका छन् ।
‘फास्ट ट्रयाक किन ? १८ वर्ष बित्यो । एक महिनामा हुन्छ भन्ने, दुई दिनमा छलफल नै गर्न नदिइकन बहुमत छ भनेर यसप्रकारको मजाक गर्न पाउनुहुन्छ तपाईं नेपाली जनतासँग ?’ बिहीबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले भने, ‘संसदजस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरिकन फास्ट ट्रयाक तपाईंलाई अहिलेको अहिले किन चाहियो ? यसको विरोध हुन्छ । यदि यस ढंगले, गलत ढंगले चल्न खोजियो भने सहमति हुन सक्दैन । विरोध हुन्छ ।’
अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएको प्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादी नेतृत्वमा भएको सशस्त्र युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाइ छ ।
‘…महान जनयुद्ध भनेर बिदा गर्ने, राष्ट्रको उत्सव हो भनेर सत्ताको दुरुपयोग गरेर उधुम मच्चाउने, सरकारमा मेरो पार्टी छदाँछँदै प्रचण्डले एकतर्फी रुपमा त्यो गर्नुभयो । मैले उहाँलाई आलोचना गरें । मैले त्यतिबेला पनि ठिक भनेको छैन ।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने वा नउठ्ने हो आफूले हेरिरहेको बताए ।
‘हाम्रो देशको भूमि खुम्चिएको छ । हाम्रो नक्शा अलि भित्रसम्म आउने स्थिति बनेको छ । अझ खुम्चिएको छ भने यो कुरा कानमा साउती गरेर खुसुखुसु गर्ने विषय हो र ? यो सार्वजनिक रुपमा छलफल गर्ने विषय होइन ? नेपाली जनतालाई जानकारी गराउनुपर्ने विषय होइन ?’ ओलीले प्रश्न गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4