+
+
पुस्तक–चर्चा :

जीवनी साहित्यको महत्वपूर्ण उपलब्धि ‘सुश्री पारिजात’

जयदेव गौतम जयदेव गौतम
२०७९ चैत १८ गते ८:१६

प्रसङ्ग १.

‘शिरीषको फूल’ उपन्यास लेखिसकेपछि पारिजातले शङ्कर लामिछानेलाई एक आग्रहपूर्ण पत्र लेख्दै भनिन्- शङ्कर दाइ, दुःख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु । यसको भूमिका किनकिन तपाईंबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहोला । सधन्यवाद । तपाईंको पारिजात ।

प्रसङ्ग २.

विशिष्ट लेखनशैलीले गर्दा विशेष नाम कमाइसकेका निबन्धकार शङ्कर लामिछानेले कुनै नाइँनास्ती बेगर नै ‘शिरीष फूल’ उपन्यासका लागि त्यसलाई ‘काव्यान्यास’ को संज्ञा दिँदै बहुचर्चित भूमिका मात्र लेखेनन्, आफैँले लगानीसमेत गरेर त्यो उपन्यास प्रकाशित पनि गरीदिए ।

विक्रमाब्ध २०२२ चैतमा एक हजार प्रति पहिलो संस्करण छापिँदा त्यसको प्रकाशकमा पारिजातकै नाम थियो । त्यस वर्ष अर्थात् वि.सं.२०२२ को मदन पुरस्कार पनि त्यही उपन्यास ‘शिरीषको फूल’ ले नै पायो, त्यो पुरस्कार पाउने पारिजात पहिलो महिला बनिन् । र, नेपाली साहित्यको इतिहासमा एउटा अभूतपूर्व चहलपहलपूर्ण वाद–विवादले जन्म लियो ।

प्रसङ्ग ३.

विश्वेश्रप्रसाद कोइरालाले आफ्नो डायरीमा लेखे– ….‘शिरीषको फूल’ सम्बन्धमा लामिछानेले बडो विचित्रको अर्थ व्याख्या गरेका छन् । उनको भनाइअनुसार यो कथा शून्यवादको कथारूप हो र भूमिकामा शुन्यवादको लामो र विद्रूपतापूर्ण व्याख्या गरेका छन् । मलाई भने कथाको हेतु ठीक शून्यवादको विपरीत छ ।

जीवनका प्रति अगाध ममताको मार्मिक उल्लेख छ यसमा । मूल नायक सुयोग जीवनका प्रति पटक्क उदासीन छैन ।’ उसको उदासी मानव नियतिका प्रति उठेको उच्छवास होइन, त्यो त आफ्नो प्रतिको तिरस्कारको भावना हो । यस्तो दर्दले भरिएको कृतिलाई शून्यवादको प्रतिपादन भन्नु उपन्यासको मानवमहत्व ह्युमानिज्मलाई कम गर्नु हो ।

प्रसङ्ग ४.

यही उपन्यासबारे आयामेली आन्दोलनका एक हर्ताकर्ता ईश्वरबल्लभले लेखे– ‘यो ‘शिरीषको फूल’ लाई इमच्योर मान्नुपर्छ । कवयित्रीले लेखेको उपन्यास जस्तोसुकै हुन सक्छ होइन । उसले पनि ‘बुल आई’ हान्नैपर्छ । एउटा सानो ‘पोएट्री’ले भन्न सक्ने कुरा भनी हेर्न, उपन्यास भनेर ‘शिरीषको फूल’ लेखिँदा फेसन त भयो भयो ।

नजान्ने भर्खरैकी केटीले नसुहाउने गरी ‘स्लिभलेस ब्लाउज’ लाएकामा काखीबाट चियाउने गरेका काखीका भुत्लाहरू जुगुप्सापूर्ण हुन्छन्, तिनको सुचारू ‘सेभिङ’ पनि भएन, एडिकोलनहरू लगाउन पनि बिर्सिई । सायद त्यस्तो फेसन भयो । … प्रायः ९३ पृष्ठको उपन्यासले भन्न खोजेको केही थाहा हुँदैन । … उपन्यास सम्पूर्णमा केही स्तरीय भएन । … कहीँ कहीँ सुयोगमा परेका उक्तिहरूबाहेक यसमा लालच गर्न योग्य कुनै कुरा नभएको हुनाले मैले कवयित्री पारिजातलाई जस्तै, उपन्यासकार पारिजातलाई रुचाइनँ ।

प्रसङ्ग ५.

अर्का आयामेली अगुवा इन्द्रबहादुर राईले लेखे– … (‘शिरीषको फूल’ उपन्यासमा) एक चुम्बनको पर्व छ अनि सकम्बरीको मृत्यु छ । भूमिकामा शकर लामिछानेले उपन्यासको यस केन्द्रलाई तान्त्रिकवादको डाकिनीमारणको विश्वसनीय मिलानमा स्पष्ट गर्नुभएको छ । … एक चुम्बनको विमर्श एउटा उपन्यास (हेनरी जेम्सको ‘द पोट्रेट अफ ए लेडी’) मा र एउटा नाट्यकाव्य (म्यालर्मेको ‘हेरोडिआइडी’) मा आएको प्रख्यात छ ।

प्रसङ्ग ६.

प्रगतिवादी चिन्तक गोविन्द भट्टले ‘शिरीषको फूल कि कागजको फूल’ भन्ने प्रश्न तेस्र्याउँदै लेखे– पारिजातले रहस्यवादलाई अस्तित्ववादी शब्द र परिभाषामा व्यक्त गरेर अनास्थावादको अस्वस्थ परम्परालाई अघि बढाउन खोज्नुभएको छ । … ‘शिरीषको फूल’ मा कुनै तारतम्यता वा क्रमबद्धता छैन । एउटा अविवाहित पुरुष र एउटी अविवाहित नारीका परस्परका वार्तालाप र आत्मप्रलाप मात्र यसमा सङ्गृहित छन् ।

प्रसङ्ग ७.

माथि उल्लेख भएका बाहेक पनि अन्य धेरैजनाले ‘शिरिषको फूल’ उपन्यासबारे पक्ष र विपक्षमा धेरै किसिमबाट लेखे । अरू कुनै नेपाली किताबबारे त्यसरी कहिल्यै लेखिएन जति ‘शिरीषको फूल’ को बारेमा लेखियो । त्यत्तिको चर्चा पनि अन्य कुनै पुस्तकको कहिल्यै भएन । सबैभन्दा बढी त आफुलाई प्रगतिशील भनाउने अनेक सानामसिना समूहमा संकुचित वामपन्थी लेखकहरूले नै यस पुस्तकप्रति शाब्दिक प्रहार गरिरहे । करा यत्तिमै टुङ्गिदैन ।

स्वयं पारिजातले नै त्यो उपन्यास लेखेको नौ वर्षपछि भनिन्, “आजको समाजले ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ ।… सापेक्षताको दृष्टिले ‘शिरीषको फूल’ जस्ता कृति लेखिनु हुँदैन । ‘शिरीषको फूल’ मुर्दासमान भइसकेको छ । यसको हत्या समयले गरिसक्यो । … साहित्यमा कलात्मकता केही होइन । यही सोचेर ‘शिरीषको फूल’ च्यात्नुमा म आपत्ति मान्दिनँ ।…”

यी त केही बान्की मात्र हुन् पारिजातको ‘शिरीषको फूल’ उपन्यासका सन्दर्भमा, उनका लगभग सबै उपन्यास यसैगरी समर्थन र विरोधको तराजुमा जोखिन पुगेका थिए । अझ उनको ‘मैले नजन्माएको छोरो’ शीषर्कको कथा पनि पक्ष–विपक्षमा धेरै परिचर्चा ब्यहोरेपछि मात्र स्थापित हुन पुगेको थियो ।

लोकले भुल्दै गएका, पछिल्लो पुस्ताले थाहा नपाएका र नयाँ पुस्ताले जानकारी पाउन धेरै खोजी गर्नुपर्ने यस्ता अनेकअनेक रोचक-घोचक एवं साहित्यानुरागी पाठकलाई विस्मित् तुल्याउन कुनै कसर नछोड्ने तमाम परिकार गोविन्द गिरी प्रेरणाको नयाँ पुस्तक ‘सुश्री पारिजात’ मा भरीभराउ छन् । यो किताब नेपाली साहित्यकी सर्वाधिक चर्चित र अनेक कृतिहरू प्रकाशित भए पनि विशेषतः एउटै सिर्जना ‘शिरीषको फूल’ का लागि कालजयी बन्न पुगेकी साहित्यकार पारिजातको जीवनी हो ।

पछिल्ला करिब पैँतालीस वर्षदेखि निरन्तर नेपाली साहित्यको साधनामा तल्लीन रहँदै आएका प्रेरणाको हालै बजारमा आएको ‘सुश्री पारिजात’ पुस्तक उनले करिब बीस वर्ष लामो समय लगाएर सामग्री सङ्कलन, टेपवार्ता र प्रत्यक्ष वा इमेल भेटवार्ता आदि गरेपछि लेखिसिध्याएका हुन् ।

यसअघिसम्म साना–मसिना आकार भएका पुस्तक मात्र लेख्दै र प्रकाशित गर्दै आएका प्रेरणाले ‘सुश्री पारिजात’ का रूपमा आफ्नो जीवनकै ठूलो र बृहत् किताब सार्वजनिक गरेका छन् किनभने यो किताब दुई पृष्ठ लेखकीय मन्तव्य, चार पृष्ठ विषय-सूची, दुई पृष्ठ आभार, एक पृष्ठ अन्तर्वार्ता लिइएकाहरूको नामावली, दश पृष्ठ सन्दर्भ-सूची, नौ पृष्ठ अनुक्रमणिका, एक पृष्ठ लेखक परिचय र आठ पृष्ठ पारिजातसँग सम्बन्धित रङ्गीन तस्बिरहरूको खण्ड छाड्दा मूलपाठ नै ३८६ पृष्ठसम्म विस्तारिएको छ । राम्रो कागजमा सजिएर डिमाइ आकार लिएर प्रकट भएको यो पुस्तकलाई ८७५– रुपैयाँ मूल्य राखेर फाइन प्रिन्टले मंसिर २०७९ मा बजारमा ल्याएको हो ।

यो किताब लेखेर मानौं लेखक प्रेरणाले नेपाली साहित्यको शान्त तलाउमा ठूलै ढुङ्गा हानेका छन् किनभने यसरी ढुङ्गाको काम गर्न पारिजातको एउटा नाम नै पर्याप्त छ । नेपाली साहित्यमा आदिकवि भानुभक्त, महाकवि देवकोटा र विपी कोइरालापछि सर्वाधिक लेखिएकी–पढिएकी साहित्यकार नै पारिजात हुन् । त्यसमा पनि नेपालका महिला साहित्यकारको सूचीमा त पारिजात शीर्षमा छन् नै ।

उनी ‘भूतो न भविष्यति’ जस्ती हुन् किनभने न विगतमा उनीजस्तो कोही भयो, न भविष्यमा हुने सम्भावन छ । अब त झन् विविध क्षेत्रको विकासले अभूतपूर्व फड्को मारिसकेको बिछट्टको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को समयमा हुने सम्भावना पनि छैन । उनको जीवन दुःख, कष्ट, पीडा, कुण्ठा, सुस्केरा, तनाव, आजीवन आर्थिक सङ्कट, एकान्तिकता, साहित्यकारहरूसितको महफिल र कलमको अजस्र खेती आदि पक्षहरूले भरिएको छ । शारीरिक कष्ट र आर्थिक अभावबीच पनि आफुलाई हराउन नदिएर निरन्तरको साहित्य–साधनामा दत्तचित्त रहन सकेकी उनको जीवन वास्तवमा एउटा ‘कमिक–ट्र्याजिडी’ हो ।

वि.सं. २०२२ मा पारिजातको नितान्त पहिलो पुस्तकका रूपमा उपन्यास प्रकाशित भयो, ‘शिरीषको फूल’ र यसले त्यस वर्षको ‘मदन पुरस्कार’ पनि पायो । त्यतिबेला उनी केवल बत्तीस वर्षकी थिइन् । कालान्तरमा यही एक कृति उनलाई चिनाउने आधिकारिक सिर्जनात्मक आधार बन्यो ।

शिरीषको फूल उपन्यास र लेखक पारिजात एकअर्काको पर्याय बनेर नेपाली वाङ्मयमा स्थापित छन्, यद्यपि उनले महत्ताहीन\तोरी बारी, बाटा र सपनाहरू-बैंसको मान्छे\उसले रोजेको बाटो\पर्खालभित्र र बाहिर\अनिँदो पहाडसँगै\परिभाषित आँखाहरू\साल्गीको बलात्कृत आँसु\बोनी आदि थप केही उपन्यास, थुप्रै कथा, कविता र संस्मरणहरू लेखेकी छन् । जीवन बाँच्ने क्रममा चरम व्यक्तिवादबाट देबे्र धारको तत्कालीन साहित्यिक\सांस्कृतिक घुमन्ते समूह राल्फा हुँदै वामपन्थी समूहवादमा प्रवेश गरेर पनि आजीवन चर्चाको शिखरमा रहेकी उनको गद्य भाषा, शैली र प्रस्तुतिको प्रशंसा सबैले गर्ने गरेका छन् ।

समग्रमा उनन्साठी वर्ष बाँचेकी पारिजातको जीवनकथा आफैँमा कुनै सिनेमा वा बिछट्टैको उपन्यासभन्दा कम छैन । भारतको दार्जीलिङ सहरको लिङ्गिया चियाबगानमा पिता डा.कालुसिंह तामाङ र आमा अमृत मोक्तानको परिवारमा वि.सं.१९९० फागुन ३० गते जन्मेकी पारिजातको परिवार त्यहाँबाट बसाइँ लिम्बू बस्ती सरेको थियो ।

सानैमा उनकी आमा बितेकी थिइन् । अन्य चारजना भाइबहिनी पनि सानैमा बितेका थिए, पछि एकमात्र छोरा (पारिजातका दाइ) शिवकुमारको पनि सत्र वर्षको उमेरमा पानीमा डुबेर मृत्यु भएको थियो, र अब छोरीहरू मात्र जीवित थिए । त्यसपछि पहिले एकजना काकाका छोरा कुमार नेपाल पसे, कुमारपछि पिता पनि काठमाडौं बस्न थाले । वि.स.२०११ मंसिरदेखि पारिजात पनि काठमाडौं छिरिन् र वि.सं.२०५० वैशाखमा निधन नहुँदासम्म काठमाडौंकै रैथाने भएर बसिन् । पारिजात यता आएको एक वर्षभित्रै सुकन्या पनि नेपाल बस्न आइपुगेकी थिइन् ।

गोविन्द गिरी प्रेरणाले पारिजातको जीवनकथा लेख्नका लागि धेरै परिश्रम गरेको देखिन्छ । त्यसले गर्दा पुस्तक पठनीय पनि बनेको छ । जीवनी पढेको भन्दा पनि फरक–फरक समयमा पारिजातको जीवनका भिन्न–भिन्न घुम्तीहरू पढिरहेको महसुस हुन्छ । त्यसो त कुनै व्यक्ति–विशेषको जीवनी लेख्नु अथवा जीवनकथा तयार पार्नु अथवा निजले नै आत्मकथा लेख्नु आफैँमा दुष्कर कार्य हो ।

जीवनकथा लेख्दा त्यसमा सम्बन्धित व्यक्तिको जीवनका दृश्य, अदृश्य एवं स्थूल गरी अनेकानेक पक्षहरू समेट्नुपर्ने हुन्छ । त्यसमा पनि जीवित व्यक्तिको सम्बन्धमा लेख्दा त सम्बन्धित पात्रलाई प्रत्यक्ष भेटेर धेरै तथ्य फेला पार्न सकिन्छ तर यो धराधाम नै छाडिसकेको मानिसको समग्र जीवनी लेख्नु झन् बढी चुनौतीपूर्ण हुन्छ ।

यसमा पनि विभिन्न पक्ष र तथ्यहरू खोज्ने क्रममा सम्बन्धित व्यक्ति वा जोडिएका तमाम सूत्रहरूले व्यक्तिका बारेमा बताउँदा सत्य र इमानदारी दर्साएका छन् छैनन् भन्ने सवालले लेखनमा निर्णायक भूमिका खेलेको हुन्छ । सँगसँगै लेखकले सम्बन्धित विषयमा खोज, अनुसन्धान र अन्वेषणमा के कस्तो सूक्ष्मता एवं विश्वसनीयता अख्तियार गर्न सकेको छ भन्ने पक्ष उत्तिकै विचारणीय हुन्छ । यो मूल्याङ्कन–कसीमा ‘सुश्री पारिजात’ पुस्तकका लेखक गोविन्द गिरी प्रेरणा कहाँ पर्छन् ? अब यो सवाल पाठक र निष्पक्ष समालोचकहरूले निर्णय गर्ने पक्ष भइसकेको छ ।

किताबको पहिलो पृष्ठ फर्काउने बित्तिकै आँखा पर्छन् प्रेरणाको पहिलो शीर्षकमा, ‘पारिजातको जीवनीकथा’ । पहिलो गासमै ढुङ्गा लाग्छ, उनको भाषिक असावधानी देखेर– जीवनीकथा हुँदैन, या त ‘जीवनी’ हुन्छ, होइन भने ‘जीवनकथा’ । त्यही शीर्षकको पाँचौं परिच्छेदको अन्त्यमा उनले लेखेका छन, ‘अध्ययनका क्रममा थाहा पाएँ, एउटै व्यक्तिका जीवनी पनि धेरै हुँदा रहेछन् ।’ साहित्य लेखेर अनि पढेर साढे चार दशक बिताइसकेका वरिष्ठ लेखकको जीवनीसम्बन्धी ज्ञानको यो दायरा विस्मित् तुल्याउने किसिमको भएन र ? उही तथ्य राखेर अनि यताको माल उता गरेर मात्र लेख्नुको कुनै तुक हुँदैन तर धेरै खोज–अनुसन्धान गरेर अरूको भन्दा नयाँ तथ्य दिएर दर्जनौं जीवनी लेख्न सकिन्छ ।

लेखिएको पनि छ । भलै नेपालीमा एउटै व्यक्ति÷साहित्यकारका त्यतिविधि धेरै जीवनीहरू लेखिएका छैनन् । यद्यपि पारिजातकै पनि प्रस्तुत ‘सुश्री पारिजात’ बाहेक अरू चार–पाँचवटा जीवनी प्रकाशित छन् ।

किताबको छिद्रान्वेषण पंक्तिकारको ध्येय पटक्कै होइन तथापि पढ्ने क्रममा आँखाले देखिहाल्छन्, मनले मान्दैन र त्यसलाई लेख्न हात सलबलाउन पुग्छन् । जस्तो– किताबमा पारिजातका पिताकी पहिली श्रीमतीको नाम ? (उल्लेख छैन) । पारिजातकी आमा अमृतको निधन कहिले भयो ? (मिति छैन) । दार्जीलिङ कसरी प्रेमका लागि उर्वर ठाउँ थियो र त्यहाँ प्रेम कसरी फेसन थियो ? (यस बारेमा केही लेखिएको छैन) । विष्णु–सुकन्या दिदीबहिनीमा हिरो वर्सिप मानसिकता के थियो र त्यति सानो उमेरमा कसरी आयो ? (यो बारे एकै शब्द उल्लेख छैन) ।

लाटीसोझी केटीहरूको जमातमा विष्णु …? (अग्राह्य शब्द चयनको नमुना) । सात कक्षमा पढ्ने बालिका विष्णु वाइबा स्कुल जाँदा नेपाली ढाकाको साडी लगाएर गएकी छन् …! (अविश्सनीय लाग्दैन र ?) । सन्त टेरेजा भन्ने हो या सेन्ट टेरेसा ? आतिथ्यता लेख्ने हो या आतिथ्य ? पुस्तकको नाम ‘गुलाबकली’ हो या ‘गुलाबकावली’ ? यी र यस्ता अनेकअनेक असावधानी फेला पर्छन् । समग्रमा, लेखकको पुनर्लेखनप्रतिको अरुचि (?) अथवा गम्भीर सम्पादनप्रति अनास्था (?) पटकपटक झल्किइरहन्छ, पुस्तक नसकिँदासम्मै ।

पारिजातको समग्र जीवनी भए पनि महिला साहित्यकारहरूसित पारिजातको के कस्तो सम्बन्ध थियो भन्ने सम्बन्धमा पुस्तक मौन छ । तमाम पुरुष साहित्यकारहरूसित पारिजातको दिनहँुजसो भेटघाट, छलफल र चुरोट–मदिरायुक्त जमघट भइरहन्छ तर दार्जीलिङकी बिन्द्या सुब्बा, र वानिरा गिरि औ प्रेमा शाहबाहेक अन्य कुनै समकालीन महिला साहित्यकारहरूसित उनै पारिजातको उठाबसी, संवाद र छलफल भएको पढ्न वा सुन्न पाइँदैन । तिनताका महिला साहित्यकारको सङ्ख्या थोरै भए पनि एकजना जागरुक, जनप्रेमी एवं प्रगतिशील महिला व्यक्तित्व पारिजातसित उनीहरूको यस्तो कम उठाबसी किन भएको होला भन्ने आम पाठकको यो जिज्ञासा किताब पढिसक्दा पनि केवल जिज्ञासा बनेर रहन्छ ।

सामान्यतया जीवनकथाहरूमा सम्बन्धित व्यक्तिको जिन्दगीका तमाम उतार–चढावहरूको समय अर्थात् वर्ष र उमेरको अत्यन्त महत्व हुन्छ । त्यसमा पनि कुन सालमा भन्दा पनि व्यक्तिले के कति उमेरमा खास खास कार्यसम्पादन गरेको थियो भन्ने तथ्य चासोको कुरा हुन्छ । यहाँनिर पारिजात कति वर्षकी भएपछि स्कुल जान थालेकी थिइन्, उनले कति उमेरको हुँदा पहिलो कविता र पहिलो कथा लेखेकी थिइन्, धनुवर मुखियासित प्रेम गाँस्दा र त्यो विघटन हुँदा उनी कति वर्षकी थिइन्, कति उमेर पुग्दा नेपाल आइन्, पछि जलाएका आफ्ना प्रथम दुई उपन्यास लेख्दा उनको उमेर कति थियो, ‘शिरीषको फूल ’ उपन्यास लेख्दा र मदन पुरस्कार पाउँदा अथवा त्यसपश्चात्का तमाम घटनाक्रममा उनको उमेर आदि सम्बन्धमा लेखक प्रेरणाले उदासीनता देखाएका छन् । जीवनी लेखिएको व्यक्तिको उमेर नदिने असावधानीलाई सामान्य मान्न सकिँदैन ।

म अर्थात् पंक्तिकारले पनि एकाधपटक पारिजातलाई भेट्ने अवसर पाएको थिएँ । पहिलोपटक भेट्दा उनी काठमाडौंको म्हैपीस्थित आफ्नो निवासमा थिइन्– प्लास्टर नगरिएको भित्ता, खाली भुइँ, भित्तामा ल्याटिन अमेरिकी क्रान्तिकारी चे ग्वेभाराको तस्बिर, अर्को भित्तातिर एउटा साधारण खाट–ओछ्यान, एउटा टेबल र कुर्सीसहितको साधारण कोठा । उनी कुर्सीमा बसेकी थिइन् र तिनताका ‘परिभाषित आँखाहरू’ उपन्यास लेख्ने क्रममा थिइन् । दोस्रोपटक मैले उनलाई पञ्चायती शासनले अन्तिम दिनहरू गनिरहेको समयमा २०४६ साल ‘चैत ३’ गते साहित्यकारहरूले त्रिचन्द्र क्याम्पस प्राङ्गणमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिरहेको र प्रहरी धरपकड भइरहेको अवधिमा भेटेको थिएँ ।

तेस्रोपटक ‘शान्ति आन्दोलन, नेपाल’ नामक गैरसरकारी संस्थाले काठमाडौंकै होटल बज्रमा गरेको एक अन्तर्राष्ट्रिय कार्यक्रममा हाम्रो भेट भएको थियो र त्यहाँ सम्बन्धित विषयका अतिरिक्त हामीले केही समय ‘रम–पञ्च’ सहित पनि बिताएका थियौं । चौथो र अन्तिम भेट एकतर्फी थियो– उनी चीर निद्रामा टुँडीखेल खुलामञ्चमा थिइन् तर त्यो केवल मेरो तर्फबाट उनलाई श्रद्धाञ्जलि–दर्शन मात्र थियो । त्यहाँ मैले अपेक्षा गरे जस्तो मानिसहरूको हूल थिएन । त्योबेला म, स्वतन्त्र लेखन एवं अनुवादकको रूपमा मैले सघाउँदै आइरहेको नारीवादी पत्रिका ‘अस्मिता’ का सम्पादकद्वय सुसन मास्के र अञ्जु क्षेत्रीसमेत विभिन्न महिलाले पारिजातको शवलाई बोकेर केही परसम्म पु¥याएको प्रत्यक्षदर्शी बनेको थिएँ ।

पारिजातको एउटा स्वभाव थियो– उनी नलेखी बस्न सक्दिन थिइन् । अझ आपूm वा आप्mनो रचनाबारे कसैले केही लेखेमा उनी तत्काल त्यसको प्रतिउत्तर लेखिहाल्थिन् । ‘रचना’ र ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाबाहेक उनका रचना प्रायः वामपन्थी विचारधारा बोक्ने पत्रिकाहरूमा छापिन्थे । उनको लेखन धेरै पढिन्थ्यो र बिक्थ्यो पनि तर पत्रिकाहरूले अक्सर लेखको पारिश्रमिक (रोयल्टी) दिँदैन थिए । यसकारण पनि अभाव र गरिबीले उनलाई कहिल्यै छाडेन ।

पुस्तकको अन्त्यमा, पारिजातको मृत्यु भइसकेपछिको एक प्रसङ्गमा, खगेन्द्र सङ्ग्रौलाले पारिजात–निकटका पत्रकार शक्ति लम्साललाई फोन गर्छन् र भन्छन्, “पारिजातको मलामी त यो गति भो, तपाईंको मलामी कति होलान्, शक्तिजी ?” यो प्रश्नले आगो भएका शक्ति लम्सालले ‘जनादेश’ पत्रिकाको अफिसमा अर्का वामपन्थी चिन्तक आहुतिलाई भनेका थिए, “मैले पनि कार्ल माक्र्सको मलामी छजना थिए । सवाल मलामीको होइन, विचारको हो भन्दिएँ ।” अर्थात्, चर्चा र आलोचना वा खिसीट्युरी केवल पारिजात अनि उनका कृतिहरूबारे मात्र हुँदैन थियो बरु पारिजातका निकटवर्तीहरू अक्सर आलोचनाको तारो बनेका हुन्थे ! छुद्रताको पराकाष्ठासम्म पनि !

किताबका लेखक त निःसंदेह गोविन्द गिरी हुन् तर किताबमा उनको आफ्नो लेखन वा दृष्टिकोणको अभाव खड्किइरहन्छ । मौलिक लेखन दिनुभन्दा बरु उनले पारिजातबारे बृहत्देखि खुद्रास्तरसम्म लेखिएका र आफूले भेटे जतिका व्यक्तित्वका लेख–रचना सङ्ग्रह गरेका छन् र ती सबैका लेखनबाट भनाइहरू साभार गरेका छन् । यस क्रममा धेरै ठाउँमा उनले ‘…फलानाले यसको पुष्टि गरेका छन्’, ‘…फलाना\फलानीले यसो भनेका छन्…’, ‘…यसरी व्याख्या गरे÷गरिन्…’, ‘…यसरी सम्झन्छन्’, ‘…यसरी मूल्याङ्कन गरे’, ‘…पारिजातको कथाकारितालाई यसरी हेरेका छन्…÷ उनको दृष्टिमा यस्तो रह्यो…÷ यसरी उल्लेख गरेका छन्…÷ यस रूपमा चित्रण गरेका छन्…÷ यसरी पोखेका छन् …÷ ब्यहोरा यस्तो थियो ÷ …प्रतिक्रिया यस्तो थियो…’ आदि–इत्यादि भनी उल्लेख गरेका छन् । यस्ता धेरै उद्धरण खासै महत्वका छैनन्, धेरै अर्थ पनि बोक्दैनन् र केवल नामोल्लेखसहित ठाउँ मात्र ओगट्न पुगेका छन् ।

प्रेरणाको यस्तै झिना–मसिना प्रस्तुतिको पछिल्लो उदाहरण पारिजातको मृत्युपछि कुन–कुन पत्रिकाले विशेषाङ्क निकाले भन्नेसम्मको विवरण हो । यो विवरणमा उनले पारिजातको निधन लगत्तै २०५० वैशाखमा निस्केको विशेषाङ्कदेखि २०७५ सालमा निस्केका विशेषङ्कसम्मको नामावली दिएका छन् ! तर त्यही बेला कान्तिपुर दैनिकले पारिजातको मृत्युपछि गरेको व्यापक ‘कभरेज’ बारे उनको आँखा परेकै छैन ।

उसै पनि, पारिजातको स्तरका साहित्यकारको सम्बन्धमा विशेषाङ्क निकाल्नु सामान्य कुरा हो र यस्ता औपचारिकताले स्वर्गीय व्यक्तित्वको जीवनकथामा कुनै उल्लेखनीय भूमिका निर्वाह गर्दैनन् । बरु विशेषाङ्क निस्कन सकेनन् भने त्यो समाचार बन्छ र त्यसले खास अर्थ पनि राख्छ ।

प्रेरणाले केही सभा–सम्मेलनको प्रसङ्ग पनि उल्लेख गरेका छन् र त्यसमा को सभापति थिएदेखि लिएर वक्ता अनि कार्यक्रम सञ्चालकको थिए भन्नेसम्मको नामावली प्रस्तुत गरेका छन् ! पारिजात आफैँ पनि धेरै सभा–समारोहमा सहभागी हुने गर्थिन्, उनलाई बोकेर कार्यक्रम–स्थल वा मञ्चमा लैजाने गरिन्थ्यो । प्रेरणाले दिएको यो विवरण सर्वथा उचित छ जतिखेर उनले लेखेका छन्– पञ्चायतको अवसान अर्थात् २०४६ चैतपछि आप्mनो जीवनको अन्तिम समयसम्म पारिजात गैरसरकारी संस्थाहरूका कार्यक्रम र विभिन्न सभा–समारोहहरूमा अत्यधिक व्यस्त हुन थालेकी थिइन् ।

यसले गर्दा उनको समय त्यस्ता कार्यहरूमा बढी व्यतीत हुन थालेको थियो र लेखनकार्य ओझेलमा पर्दै गएको थियो । यही तीन वर्षको अवधिमा उनी बिरामी पनि भइन्, अशक्त पनि भइन् र खानपीनमा उनी असंयमित पनि हुँदै गइन् । अन्ततः वीर अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनले दुनियाँलाई अलविदा भनिन् ।

यसै गरी पारिजातको सन्दर्भमा पनि लेखक गोविन्द गिरीले ‘…पारिजातले स्विकारेकी छन्’, ‘…पारिजातको धारणा यस्तो थियो’, ‘… उनको स्वकथन यस्तो थियो’, ‘… यसरी पोखेकी छन्’ आदि–इत्यादि भनेर उल्लेख गरेका छन् । पारिजातको सन्दर्भमा यी सबै शब्द–शब्दावलीहरू प्रयोग गर्नुमा कुनै तुक छैन किनभने यिनले पारिजातको जीवनी–लेखनमा कुनै सबलता थप्दैनन् । पारिजातले जे जति लेखेकी छन्, पूर्ण विश्वासका साथ लेखेकी छन् । जे खण्डन गरेकी छन्, आत्मविश्वासपूर्वक गरेकी छन् । उनको हठ र स्वाभिमान जगजाहेर थियो । उनी जो कसैलाई कुनै भाउ दिने गर्दिन थिइन् । यस्तोमा ‘उनको स्वीकारोक्ति’, ‘उनको धारणा’, ‘उनले केही पोख्नुपर्ने’ केही थिएन । पारिजातका विचार सपाट ढङ्गले दिँदा नै बेस हुने थियो ।

समग्रमा ‘सुश्री पारिजात’ पढिसकेपछि र किताबको सन्दर्भमा यति लेखिसकेपछि एउटा सहज जिज्ञासाले पनि टाउको उठायो– नेपाली साहित्यमा भानुभक्त आचार्यलाई ‘रामायण’ का लागि, सरदार रुद्रराज पाण्डेलाई ‘रूपमती’ का लागि, लक्ष्मीप्रसाद देवकोटालाई ‘मुना–मदन’ का लागि, बालकृष्ण समलाई ‘भक्त प्रह्लाद’\‘मुकुन्द इन्दिरा’का लागि, लेखनाथ पौड्याललाई ‘तरुण–तपसी’\‘बुद्धि–बिनोद’ का लागि, लैनसिंह वाङ्देललाई ‘मुलुकबाहिर’ का लागि, बीपी कोइरालालाई ‘सुम्निमा’\‘मोदीआइन’ का लागि, पारिजातलाई ‘शिरिषको फूल’ लागि, धच गोतामेलाई ‘घामका पाइला’ का लागि, मदनमणि दीक्षितलाई ‘माधवी’ का लागि, ध्रुवचन्द्र गौतमलाई ‘अलिखित’ का लागि, वानीरा गिरिलाई ‘कारागार’ का लागि र अन्य धेरैलाई जे जसरी सम्झने गरिन्छ, के त्यसैगरी आफ्नो यस कृति “सुश्री पारिजात” का लागि गोविन्द गिरी प्रेरणाले पनि भविष्यको क्यानभासमा आफ्नो नाम सुरक्षित गराउन सक्लान् ? यो प्रश्न मनमा उठे पनि निर्विवाद सत्य–तथ्य के हो भने आखिर तमाम त्रुटि, असावधानी र हतारोका बाबजुद निःसंदेह यो पुस्तकले साहित्यकार पारिजातबारे यथाशक्य आधिकारिता दिने काम भने गरेकै छ ।

यस आधारमा के भन्न सकिन्छ भने सहमति–असहमतिको सार्वभौम अधिकार सुरक्षित राखेरै हेरे पनि पारिजातबारे प्रकाशित र उनीसँग सम्बन्धित धेरैजसो व्यक्तिलाई भेटेर लेखक प्रेरणाले पारिजातलाई पढ्न, जान्न र बुझ्न चाहने जोसुकैका लागि निःसंदेह गतिलो अनि गहकिलो खुराक प्रस्तुत गरेका छन् । जीवनी साहित्यको यस्तो महत्वपूर्ण उपलब्धिका लागि उनलाई धन्यवाद नदिनु उनीप्रति अन्याय हुनेछ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?