+
+

अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १७:१३

२० चैत, काठमाडौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिने नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

परिसंघले उद्योगमन्त्री समक्ष उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न माग गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिंदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए । मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने उनको सुझाव छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरुको योगदान निरन्तर घट्दै गएको भन्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगहरुको योगदान बढाउने वातावरण बनाउनुपर्ने बताए ।

उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे । उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको “मेक इन नेपाल– स्वदेशी” अभियानका बारेमा जानकारी गराए । परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव बुझ्दै उद्योग मन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताएका हुन् । मुलुकलाई सम्वृद्धि बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रुपमा लाग्ने बताए । ‘म निजी क्षेत्रको साथमा छु । निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रुपमा लाग्नेछु, चिन्ता नगुर्न’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?