२० चैत, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले महिलाको उत्पादनको बजारीकण हुने हो भने लघुवित्तको समस्या समाधान हुने दाबी गरेको छन् ।
नवपरासीको कावासोतीमा आयेजित वित्तीय साक्षरता कार्यक्रममा अध्यक्ष शर्माले महिलाले उत्पादन गरेका सामग्रीको बिक्रीका लागि बजार व्यवस्थापन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
महिलाको जीवनस्तर सुधार गर्न लघुवित्त संस्था सहयोगी बनिरहेको उनको दाबी छ । सधैं लघुवित्तले मात्रै समस्याको समाधान नगर्ने बताउँदै उनले सरकारले तालिम, नीति, पूर्वाधार, बजार व्यवस्थापन र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले सदस्यले वित्तीय व्यवस्थापन गर्न नजान्दाको परिणाम अहिले देखा परेको बताए ।
‘सदस्यले धेरै संस्थाबाट ऋण लिएको तर व्यवसाय नचल्दा ऋण भारी बन्यो । लिएको पैसा सदुपयोग गर्न नजान्दा समस्या भयो’ उनले भने । कोभिड, वर्तमान आर्थिक मन्दिका कारण पनि अहिलेको समस्या आएको उनले बताए । लघुवित्तले बढी ब्याज लिने तथा नियम विपरीतका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनले आग्रह गरे।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले ग्रामिण क्षेत्रमा दिदीबहिनीहरुलाई व्यवसायीकरण र सशक्तिकरण गर्न लघुवित्तको ठूलो भूमिका बताए ।
नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद विष्णुकुमार कार्कीले महिला दिदीबहिनीहरुलाई विभिन्न बैंकहरुले ५ प्रतिशत ब्याजदरमा गर्ने गरेको सहुलिएतपूर्ण कर्जा लगानी लघुवित्त माफर्त गरिनुपर्ने बताए । उनले लघुवित्तका ऋणी सदस्यलाई किस्ता तिर्न नसकेपनि ब्याजमात्र भए पनि तिर्न आग्रह गरे । तर, यो पैसा तिर्दिन भनेर हावादारी मान्छेको पछाडि नलाग्न र त्यस्ले आफैलाई अफ्ठ्यारो पार्ने भन्दै उनले तयसमा सचेत रहन आग्रह गरे।
नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बैंक र वित्तीय संस्थाका कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारबाट भएको आदेश अनुरुप सुरक्षा प्रदान गर्ने बताए । लघुवित्तका क्षेत्रमा समस्या भए समाधान गर्न लघुवित्तकर्मीहरुको ध्यानाकर्षण समेत गराए ।
नवलपुरमा सञ्चालित २७ वटा लघुवित्त संस्थाको सहकार्यमा नेपाल लघुवित्त बैंकर्स संघले कावासोतीमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम आयोजना गरेको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4