+
+

जन्मभूमिको सेवा गर्न उपचुनाव लड्न आएँ : सर्वेन्द्र खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते २०:१२

२० चैत, तनहुँ । १० चैतमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

राजनीतिज्ञ र एमाले नेताका रुपमा खनाल तनहुँमा नयाँ हुन् । तर उनले आफूले प्रहरीमा रहँदा र पछि पनि तनहुँका लागि धेरै काम गरेको भन्दै मत मागेका छन् । उपनिर्वाचन र उनको उम्मेदवारीको सन्दर्भमा खनालसँग अनलाइनखबरका अमृत सुवेदीसँग गरेको कुराकानी :

यो उपनिर्वाचनमा तपाईको उम्मेदवारी किन ?

मैले यो तनहुँको एउटा क्षेत्रलाई त सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने छ । कसैले त भन्छन्, व्यक्तिगत लाभका लागि आयो । तर मैले त यो देशका लागि यो देशको झण्डा फर्फराउने, देशको सान राख्ने काम गरेको छु । अहिले योजनाका हिसाबले म यो गर्छु भनेर कोही आउनुहोला । तर उहाँले यसअघि नेपालका लागि के गर्नुभएको छ ? बाहिर गरेको छु भन्दै आफूलाई चाहिंदा आउने, बाहिर गरेका दृष्टान्तसमेत नभई आउनेहरुलाई जनताले बुझ्नुहुन्छ ।

हामीले त हिजोका दिनमा पनि देशकै लागि लडेका हौं, भोलिका दिनमा पनि गर्नेछौं । म यहाँको समस्यालाई राष्ट्रिय रुपमा संसदमा प्रस्तुत गर्छु, कानुन बनाउने मसँग सबै व्यवहारिक ज्ञान छ । यहाँ भएका उम्मेदवारमध्ये मतदाताले मलाई सर्वोत्कृष्ट उम्मेदवारका रुपमा लिनुहुन्छ भने विश्वास छ ।

तपाईं त प्रहरीको सर्वोच्च पदमा पुगिसकेको मान्छे ? तपाईंजस्तो व्यक्ति राजनीति किन लाग्नुभएको ?

त्यहाँ बस्दा आफ्नो क्षेत्रमा रहेर काम गरियो, शान्तिसुरक्षा, शान्ति सुव्यवस्था बनाउने काम गरेँ । साथसाथै अन्य विकासका काममा, भ्रष्टाचार नियन्त्रणका काममा, नचाहिने ढिलासुस्ती विरुद्ध म उत्रिएँ । मलाई बेलाबेलामा भन्ने गरिन्थ्यो । तपाईं प्रहरीको मान्छे । कन्सल्टेन्सीमा किन छापा हान्नुभयो ? फुटबलमा किन हान्नुभयो ? व्यक्तिगत लाभलाई ध्यानमा राखेर देशलाई हानि गर्नेहरु विरुद्ध म सधैं खरो उत्रिएँ । कानुन कार्यान्वयन गर्ने कुरामा एउटा प्रहरीका रुपमा मैले सकेको गरें ।

यसकारण मैले के देखें भने नीतिगत तहमा पनि काम गर्नुपर्छ । यही तनहुँकै कुरा गर्दा यहाँ बजेट व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँको आवश्यकता के छ, यहाँका विकासका योजनाहरु के हुन् भन्ने कुरा बुझेर संसदका समितिहरुमा लैजाने, विकासका मुद्दाहरु अघि बढाउने काम गर्न सकिन्छ ।

राजनीति भनेको यो हो जसले देशलाई गभर्न गर्छ देशकै नीति बनाउँछ । एउटा क्षेत्रबाट माथि उठेर नीतिगत तह र कानुन बनाउने तहमै काम गर्नुपर्छ भन्ने उद्देश्यले नै राजनीतिमा आएको हुँ ।

सुरक्षा संयन्त्रमा काम गरेको मान्छेलाई राज्य संयन्त्रको कमजोरी थाहा हुन्छ । नीतिगत कमजोरी पनि थाहा हुन्छ र राजनीतिक संरक्षण पनि चाहिने भएकाले राजनीतिमा आउँछन् भनिन्छ नि ?

मैले बदमासहरुलाई तह लगाउने नै हो । मैले राजनीतिमा अघि बढ्नुका आफ्नै  मूल्यमान्यता छन् । म मेरा मूल्यमान्यता बेचेर कहिल्यै राजनीतिमा बस्दिनँ । जनताले जुन सेवासुविधा पाउनुपर्ने हो, जसरी विकासले गति लिनुपर्ने हो त्यो नलिएको देखेर राजनीतिमा आएको हुँ । हरेक नेपालीको मुहारमा खुसी ल्याउने प्रतिबद्धता र ऊर्जाका साथ राजनीतिमा आएको हुँ । कहिल्यै कतै पनि नचाहिने काम गरेको पाउनुहुने छैन ।

तपाईंको प्रतिस्पर्धा कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग छ । यो प्रतिस्पर्धामा तपाईंले देखेको हिसाबकिताब के छ ?

मचाहिं जे राम्रो देख्छु त्यो गर्नका लागि अघि सर्ने मान्छे हुँ । को आयो भनेर धेरै सरोकार राख्दिन । मैले राख्नुपर्ने के छ भने नेपालीको मनमनमा, हरेक नागरिकलाई शिरमा राखेर अघि बढ्नुपर्छ । प्रहरीमा हुँदा पनि जनतासँगै बसेर काम गर्नुपर्छ भनेर जनतासँग मिलेर काम गरेको मान्छे हुँ, को को आउनुभयो जनताले चिन्नुहोला नि ।

मेरो जन्मभूमिमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने अवसर नेकपा एमालेले दिएको छ, तनहुँवासी र समग्र नेपालको सेवा गर्ने अवसर पुनः एकपटक प्राप्त गरेको छु, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आफू जन्मिएको ठाउँको माया हुन्छ, मुटुसँग जोडिएको हुन्छ ।

जहाँ रहे पनि आफ्नो भावना त यहीँ (तनहुँ) सँग जोडिएको हुन्छ । विगतमा विभिन्न सिलसिलामा आइयो, जागिरको सन्दर्भमा पनि आइयो । अवकाशपछिको अवस्थामा पनि मैले नागरिक र देशको सेवा गरिरहेको हुन्थें, अब अर्को फिल्ड (राजनीति) बाट सेवामै समर्पित होऔं भन्ने भावनाले यहाँ आएको हुँ ।

आफ्नै ठाउँमा सेवाको अवसर पाउँदा मलाई गर्वको अनुभूति भइरहेको छ । केही गरौं भन्ने भावना पनि छ, मर्दासम्म जीवनभर निरन्तर यसैमा लागिरहौं भन्ने हो । मेरो अनुभव र अहिलेसम्मको विज्ञताले जे गर्न सक्छु, राष्ट्र र नागरिकका लागि गरें, अब भोलिका दिनमा पनि  विकास, समृद्धिका मुद्दाहरू र मानव विकासका मुद्दाहरुमा काम गर्नेछु ।

यसअघि काठमाडौं ६ मा पाएको अवसरलाई जितमा बदल्न सक्नुभएन । जन्म यहाँ भए पनि यो भूमिमा धेरै हेलमेल हुनुभएको छैन । यो प्रतिस्पर्धामा जित निकाल्न कत्तिको मुश्किल देख्नुभएको छ ? 

यहाँ जन्मिएकाहरु सबै यहीं बस्नुभएको छैन । मैले यहाँ प्राथमिक शिक्षा लिएँ । कामकै सिलसिलामा पनि तनहुँलाई मैले स्वभाविक रूपमा प्राथमिकतामा राख्थें । आईजीपी रहँदासम्म मेरो अधिकारले पाएसम्म र वर्कतले भ्याएसम्म तनहुँलाई नगरेको होइन । तनहुँको विषयमा आफ्नो अधिकार क्षेत्रभित्र रहेर मैले जे गर्न सक्थेँ, वास्तवमा मैले गरेको छु । समग्र रूपमा राष्ट्रका लागि पनि गरेँ । त्यो मेरो धर्म थियो साथसाथै, मैले तनहुँलाई कहिले पनि तल राखिनँ ।

यसपालि प्रतिस्पर्धा अलि कडै छ नि !

प्रतिस्पर्धा छ भन्छन् तर म यहीँ जन्मिएँ, यहीँको मान्छे भएँ । म आगन्तुकका रूपमा आएको होइन । म यहाँको भूगोल, अवस्था र सबै पक्ष बुझेको छु, मन मस्तिष्कमा पनि छु । यहाँको चिरपरिचित पनि हुँ ।

अर्को पक्ष, म राष्ट्रको निम्ति योजना बनाउने ठाउँमा पुगेँ, विभिन्न विकासे मन्त्रालयसँग सहकार्य गरेर सुरक्षा र विकास गर्ने क्रममा अगाडि बढें । यी यावत् काम राष्ट्रिय रूपमा गरिरहँदा मैले तनहुँलाई त एउटा क्षेत्रबाट त विल्कुल सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने छ नि त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?