+
+

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन अर्थमन्त्रीसँग चेम्बरको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:२३

२१ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पुरा गर्न सकिने सुझाव दिएको छ ।

मंगलबार अर्थमन्त्री डा. महतसँग भेटेर चेम्बरले यस्तो माग गरेको हो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्रीलाई बुझाएको सुझावमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाईनुपर्दछ । यसका लागि नागरिकतासंगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ ।’

चेम्बर अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने/दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भिरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ । ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरुसँग पनि छलफल गरिरहेको छु’ उनले भने ।

लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरुसंग आफूले जानकारी लिइरहेको डा. महतको भनाइ छ । आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनको भनाइ छ ।

अर्थमन्त्री महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव दिएको छ । अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?