२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त समूहले महासंघ केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।
मंगलबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए । यस्तै सो समूहका जिल्ला, नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरुले आइतबार र सोमबार मनोनयन दर्ता गराएका थिए ।
उम्मेदवारी दर्तासँगै पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समूहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक हकहितका विषयहरु उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए ।
व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा अघि बढेका कारण आफ्नो प्यानलकै जित सुनिश्चित रहेको उनले बताए । देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ । यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेनसीप दिन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको श्रेष्ठले बताए ।
अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले बताए । अहिले सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफू निर्वाचित भएलगत्तै व्यावसायिक हकहितका एजेण्ड बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4