+
+

कृषिमन्त्री भुसालले पहिचान गरे ५ दिनमा ५ समस्या

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत २१ गते १७:४९

२१ चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल मन्त्रीका रूपमा सिंहदरबार छिरेको पाँच दिन भयो । उनकै शब्दमा उनी ‘एक्सनमै जाने गरी काममा उत्रिइसकेका छैनन् ।’ कृषि मन्त्रालयको क्षेत्राधिकार र अधिकारसँग सम्बन्धित समस्या के–कस्ता रहेछन् भनेर केलाइरहेका छन् ।

समस्याहरूको पहिचान गरेर त्यसको समाधानको उपाय खोज्ने उनको योजना छ । तथापि, कृषिमन्त्री भुसालले पाँच दिनको अवधिमा विभिन्न पाँच वटा समस्या पहिचान गरेका रहेछन् । ‘त्यहाँ (कृषि मन्त्रालय) पुगेको केही दिनमा धेरै समस्या देखें । त्यहाँभित्र थुप्रै जटिलता रहेछन् । थुप्रै समस्या रहेछन्’ कृषिमन्त्री भुसालले भनेका छन्, ‘समस्यै समस्याले जेलिएको मन्त्रालयमा पुगिएछ ।’

मंगलबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले आफूले पहिचान गरेका विभिन्न समस्या सांसदहरूलाई सुनाएका छन् ।

पहिलो : रासायनिक मलको उपलब्धता

कृषिमन्त्री भुसालले पहिचान गरेको पहिलो समस्या हो – रासायनिक मलको उपलब्धता ।

‘समयमा मलको आपूर्ति नहुने समस्या सबैभन्दा ठूलो समस्या हो । मल कारखानाको पनि चर्चा गर्छाैं । तर काम हुनसकेको छैन’ मन्त्री भुसालले भने, ‘यो समस्याको समाधान कसरी गर्न सकिएला ?’
तथापि सरकारले प्रयास गरिरहेको उनले बताए । उनी भन्छन्, ‘रासायनिक मल समयमा ल्याउन सकिन्छ कि भन्ने आशा लागेको छ । तर, धेरै पहल गर्नुपर्नेछ । खरिद प्रक्रियाको लम्बेतान प्रक्रियाले असर गरिरहेको छ ।’

अनेकन् समस्या देखाउँदै उनले यस वर्ष पनि मल आउँछ भनेर ठोकुवा गर्न सकिने अवस्था भने नरहेको स्वीकार गरे ।

सरकारले कति चाहिएला भनेर अनुमान गरेको र अनुमान गरेको मध्ये करिब ७५ प्रतिशत भन्दा बढीको टेण्डर भइसकेको उनले सुनाए । ‘केही भाग आउने क्रममा छ । केही छिटै आउन सक्ला भन्ने आशा गरिएको छ’ उनी भन्छन्, ‘मल हाम्रो हातमा मात्रै छैन त्यसैले सक्ला भनेको हो । विदेशको यातायात कस्तो हुन्छ भन्नेमा पनि निर्भर हुनेरहेछ । त्यसकारण हुन्छ नै भन्न नसकिने तर, होला कि भन्नुपर्ने रहेछ ।’

दोस्रो : बाँझो जमिनको सदुपयोग

कृषि मन्त्री भुसालका अनुसार नेपालमा दश लाख हेक्टर भन्दा बढी कृषि योग्य भूमि बाँझो रहेको छ ।  उनी सुनाउँछन्, ‘दश लाख हेक्टर भन्दा बढी बाँझो रहेको त्यो कृषियोग्य जमिनलाई पुनः खेती भएको हराभरा जमिनमा परिणत गर्न सकिएला ? यो समस्या रहेछ ।’

तेस्रो : कृषि बजार

कृषकले उत्पादन गरेको कृषि उपजले बजार नपाउने समस्यालाई मन्त्री भुसालले तेस्रो ठूलो समस्याको रूपमा पहिचान गरेका छन् । उनी भन्छन्, ‘कृषि उत्पादन बजारसँग नजोडिने समस्या रहेछ । यो अर्को ठूलो समस्या छ ।’

चौथो : कृषिको औद्योगीकरण

मन्त्री भएको पाँच दिनमा कृषिमन्त्री भुसालले कृषि उत्पादनलाई उद्योगकै रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कृषिलाई उद्योग र औद्योगीकरणसँग जोड्दा मात्रै कृषिबाट कृषक र मुलुकले पर्याप्त लाभ लिन सक्ने उनको बुझाइ छ ।

पहिचान गरेको समस्या र बुझाइ अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा योजनाहरू ल्याउने कृषिमन्त्री भुसालको प्रतिबद्धता छ ।

उद्योग र औद्योगीकरणसँग जोड्दै गर्दा कृषिलाई यान्त्रीकरण गर्ने विषय पनि सँगै आउने उनी बताउँछन् । परम्परागत रूपमा भन्दा आधुनिक उपकरणमार्फत ठूलो मात्रामा कृषि उपजको उत्पादन गर्न सकिने उनको विश्वास छ ।

पाँचौं : अनुदान, ऋण र बीमाको सदुपयोग

सरकारले किसानलाई विभिन्न प्रकारका अनुदान दिंदै आएको छ । तर, उक्त अनुदान वास्तविक किसानको हातमा नपुगिरहेको भन्ने प्रश्नलाई पनि मन्त्री भुसालले समस्याको रूपमा लिपिबद्ध गरेका रहेछन् ।

‘अनुदानको प्रश्न छ । कृषि अनुदान सक्कली किसानको हातमा नपुगेर नक्कली किसानले खाइरहेको भन्ने प्रश्न छ’ मन्त्री भुसालले सुनाए ।

यस्तै, ऋण सहुलियत र बीमाको विषयमा पनि प्रश्नहरू रहेको मन्त्री भुसाल बताउँछन् । भन्छन्, ‘ऋणको अवस्था त्यस्तै छ । बीमाको कुरामा समस्या छ । कृषि बीमा, पशु बीमा लगायतमा समस्या छ ।’

राष्ट्रियसभा बैठकमा मन्त्री बेदुराम भुसाल ।

बिचौलियाको फन्दामा नपर्न सुझाव

कृषि मन्त्री भुसालले आफूले पाँच दिनमा पहिचान गरेका समस्या सुनाउँदै सांसदहरूसँग सुझाव मागेका थिए । जवाफमा सांसदहरूले समस्यामै केन्द्रित भएर समाधानको उपाय खोज्न सुझाए ।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले मन्त्री भुसाललाई आफ्नो मूल दायित्व भन्दा अन्यत्र केन्द्रित नहुन आग्रह गरे ।

‘सरकारले किसानलाई नै ध्यान दिनु आवश्यक छ’ उनले भने, ‘बिचौलिया र तस्करहरूको फन्दामा पर्नु भएन । समस्याभित्रै उत्तर छ । चुनौतीभित्रै अवसरहरू छन् । यो कुरामा यहाँ (मन्त्री भुसाल)ले ध्यान दिनु आवश्यक छ ।’ उनले वर्तमान कृषिको अवस्थाको बारेमा श्वेतपत्र नै जारी गरेर अगाडि जान पनि सुझाव दिए ।

कांग्रेसकै सांसद कमला पन्तले विगतका मन्त्रीहरूको कृषकको समस्या समाधानमा खेलेको भूमिकालाई पनि ख्याल गर्न सुझाइन् । ‘घनश्याम भुसालले पनि मन्त्री हुँदा रासायनिक मलको हाहाकार समस्यालाई समाधान गर्न नसक्नुभएको याद होला’ उनले भनिन्, ‘कृषकले गोलभेंडा सडकमै फालेको पनि याद होला ।’

नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले समस्या समाधानका लागि कर्मचारीतन्त्रमा रहेका समस्याको पनि पहिचान गरेर अगाडि बढ्न सुझाए । उनले भने, ‘ब्युरोक्रेसीमा रहेको जब्बर मानसिकता तोडेर काम गर्न सक्नुहोस् । मन्त्री र कर्मचारी सबैमा इमानदारी पनि चाहियो ।’

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र लक्ष्मी गैरेले सिँचाइमा ध्यान दिन आग्रह गरे । ‘जमिन चिसो बनाउने योजना ल्याउन सकिए हराभरा हुन्थ्यो कि’ उनले भने ।

माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलबासेले पनि सिंचाइमा ध्यान दिन सुझाइन् । उनी भन्छिन्, ‘जहाँ जमिन छ त्यहाँ पानी छैन । जहाँ जमिन बाँझो छ त्यहाँ मानिस छैनन् । यस समस्या अनुसार समाधानको योजना बनाउनुपर्‍यो ।

माओवादीकै सांसद जगप्रसाद शर्माले किसानहरूको वर्गीकरण गरेर किसान पेन्सनको व्यवस्था गर्न सुझाए । कृषि आयातलाई निरुत्साहित र निर्यातलाई प्रोत्साहित गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेटमा योजनाहरू ल्याउन सुझाए ।

माओवादीकै अर्का सांसद मायाप्रसाद शर्माले कृषि उपजको भण्डारणको उचित व्यवस्थाका लागि पहल गर्न र कृषकहरूलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न सुझाए ।

कांग्रेसकी सांसद अनिता देवकोटाले भारतबाट आयात भइरहेको तरकारीको विषादी परीक्षण गर्ने विषयलाई कडाइका साथ लागू गर्न सुझाइन् । उनले भनिन्, ‘भारतबाट विषादीयुक्त तरकारी आयात भइरहेको छ । यसलाई रोक्ने इच्छा छ कि छैन ?’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?