+
+
Shares

रास्वपाको २० घण्टे छलफल : उठ्यो रुपान्तरणको मुद्दा

रास्वपा नेताहरुका अनुसार मंगलबार र बुधबार भएको केन्द्रीय समिति बैठकमा पार्टी रुपान्तरण, संगठन पुनर्संरचना लगायतका विषयले प्राथमिकता पाएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ असोज ९ गते ९:५९

९ असोज, काठमाडौं । बदलिँदो परिवेशमा रास्वपाले बोलाएको केन्द्रीय समितिमा बैठकमा पार्टी रुपान्तरणको विषय उठेको छ । मंगलबार र बुधबार गरी २० घण्टासम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले सात एजेण्डामा धारणा राखेका थिए ।

बैठकका लागि तय भएका एजेण्डाहरुमा समसामयिक अवस्था, प्रदेश बैठकका प्रतिवेदन, परिवर्तित अवस्था, संगठन, आगामी निर्वाचन, महाधिवेशन, विविध लगायत थिए । ती सबै एजेण्डाहरुमध्ये पार्टी रुपान्तरण र संगठन पुनर्संरचनाको विषयमा केन्द्रीय सदस्यहरु बढी केन्द्रित भएका थिए ।

रुपान्तरणको मुद्दा

जेनजी युवा आन्दोलनले पार्टीभित्र पुस्तान्तरणसँगै रुपान्तरणको माग गरेको हुँदा रास्वपाको बैठकमा पनि उक्त विषयमा गहन छलफल भएको नेताहरुले जानकारी गराएका छन् । बैठकमा धारणा राख्न केन्द्रीय सदस्यहरुलाई पर्याप्त समय दिइएको थियो ।

एक नेताले अनलाइनखबरसँग भने, ‘सभापति रवि लामिछानेको विकल्प नखोजिए पनि रुपान्तरणको मुद्दा भने जोडसँग उठेको छ । पार्टी र सभापतिको सचिवालय रुपान्तरणलाई नेताहरुले प्राथमिकताका साथ उठाए ।’

अर्का एक केन्द्रीय सदस्यहरुका अनुसार सभापति लामिछानेको सचिवालयमा जेनजी उमेर समूहकै व्यक्ति ल्याउनुपर्ने कुरा बैठकमा थियो । ‘सभापतिको सचिवालय हुँदै भएन भन्ने त छ नै, पार्टी सचिवालयमा युवा पुस्तासँगै र जेनजी समेत समेटेर पुनर्गठन गर्ने विषय पनि आएको थियो,’ स्रोतले भन्यो ।

सन्तोष परियारका दुई विकल्प

नेता सन्तोष परियारले पार्टीमा रुपान्तरणका लागि दुई विकल्प अघि सारेका थिए । पहिलो– मंसिरमा विशेष महाधिवेशन र विस्तारित बैठक आयोजना ।

रास्वपाले फागुनमा पहिलो महाधिवेशनको मिति तय गरेको थियो । त्यही महिना चुनावको मिति तोकिएकाले के गर्न सकिन्छ भनेर छलफल भइरहेको कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

हाल बदलिएको परिस्थिति अनुसार छिटो महाधिवेशन गर्न विकल्प नेता परियारले सुनाएका थिए । ‘अब यो बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि ल्याएर छिटो महाधिवेशन गर्न सक्छौं, त्यो महाधिवेशन मंसिरमा गर्न सक्छौं’ परियारले आफ्नो विचारबारे अनलाइनखबरसँग भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने अहिले भएका सबै समितिहरु भंग गरौं यो केन्द्रीय समितिलाई महाधिवेशन गर्ने आयोजक समितिमा रुपान्तरित गरौं ।’

विस्तारित बैठकबाट संगठन, विचार, राजनीतिक मुद्दा, कार्यदिशा पारित गर्न सकिने परियारको विचार छ ।

यसैगरी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने सन्देश दिनुपर्ने अपरिहार्य भएको बताएकी थिइन् । ‘दुईपटक हामी सरकारमा जाँदा पनि यति धेरै जनाको ज्यान जाने गरी ठूलो क्रान्ति किन भयो त ? हामीले आत्मसमीक्षा गर्नुपर्दछ,’ कार्कीले भनिन्, ‘त्यसको बाटो भनेको रिफर्मेसन हो । त्यसमा नेतृत्व र व्यक्तित्वको कुरा मात्रै हुँदैन । त्यसमा हामीले बोक्ने सिद्धान्त, राजनीतिक चरित्रलाई दिने एउटा कार्यदिशा, मार्गनिर्देशन पनि हुन्छ ।’

केन्द्रीय सचिवालय, नीति, सिद्धान्तमा केही न केही परिवर्तन गर्नुपर्ने कार्कीको जोड थियो । ‘व्यक्तिका विरुद्धमा नभई प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ । हामी नयाँ हुँदै गर्दा पनि केही न केही नयाँ दिनुपर्दछ,’ कार्कीले भनिन् ।

नेताहरुका अनुसार केन्द्रीय समिति पुनर्गठन नगरी यसैलाई निर्वाचन केन्द्रित समितिमा रुपान्तरण गर्न सकिने विकल्प पनि बैठकमा राखिएको थियो । केही नेताले प्रदेश इञ्चार्ज आवश्यक नरहेको टिप्पणी गरेका थिए । ‘प्रदेश सभापति हुँदाहुँदै इञ्चार्जको आवश्यकता किन ?’ उनीहरुको प्रश्न थियो ।

सुमनालाई फर्काउन जोडबल

पूर्व सहमहामन्त्री सुमना श्रेष्ठलाई पुन: पार्टीमा फर्काउन पहल गर्नुपर्न विषय समेत पार्टीमा उठेको छ । पार्टीमा कार्यदल गठन गरेर संवाद गरी फर्काउन सकिने विकल्प नेताहरुले सुझाएका थिए ।

सुमनाले पार्टी छोड्न लागेपछि उनीसँग नेतृत्वले संवाद गर्न किन नसकेको भन्दै नेताहरुले प्रश्न उठाएका थिए ।

सुमनासँगै केन्द्रीय सदस्य हरि भट्टले पनि रास्वपा परित्याग गरेका थिए । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार परित्याग गर्नेहरुलाई पार्टीमा पुन: ल्याउन कार्यदल बनाएर संवाद गर्न उपयुक्त हुने धारणाहरु केन्द्रीय सदस्यहरुबाट आएको थियो ।

पार्टीमा सहयात्रा गर्नेहरुको व्यवहारहरु फरक हुने अवस्था हुँदा सहयात्रा टुंगिन सक्ने प्रवक्ता मनिष झा बताउँछन् ।

सुमनाका अपेक्षा र अभ्यासहरु रहेको उल्लेख गर्दै झाले भने, ‘सुमनाजीले अहिलेसम्म जुन किसिमको योगदान गर्नुभयो त्योप्रति सम्मान छ । मान्छे पार्टी छोडेर गयो भने उसलाई नराम्रो भन्नुपर्छ भन्ने हाम्रो संस्कार होइन ।’

बैठकमा सहभागी केही नेताले पार्टीमा आउने–जाने क्रम भइरहेको हुँदा कसैले छोड्दैमा हतोत्साही हुनु नपर्ने तर्क पनि गरेका थिए । प्रवक्ता झा भन्छन्, ‘एउटा कुरा दु:ख लागेको छ, सहयात्रा टुंगिएको छ । अर्को कुरा खुशी मान्ने ठाउँ उहाँ अर्को देश जानु भएको छैन । देशमै योगदान गर्नलाई बस्नुभएको छ ।’

रविको विकल्प नखोजिएको दाबी

पछिल्लो राजनीतिक घटनाक्रमपछि प्रदेश तहको सुझाव केन्द्रले संकलन गरेको थियो । प्रदेश समितिका सदस्यहरुले केन्द्रलाई दिएका सुझाव र ध्यानाकर्षण प्रतिवेदनका रुपमा पेश गरिएको थियो ।

लुम्बिनीले केन्द्रदेखि वडातहसम्म पार्टी संगठन पुनर्गठन गर्नुपर्ने मागसहितको प्रतिवेदन केन्द्रलाई बुझाएको थियो ।

सुदूरपश्चिमले सभापति रवि लामिछानेले न्यायिक निरुपण पश्चात् सोही पदमा बहाल हुने गरी पद त्याग गर्न उपयुक्त हुने सुझाव पठाएको थियो ।

प्रदेश समितिले सभापतिको विकल्प खोजेको र पुनर्गठनको माग गरेको समाचार बाहिरिएपछि केन्द्रीय समिति बैठक चलिरहेका बेला पाँच प्रदेशका सभापतिहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गरेका थिए । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी केन्द्रीय सभापति रवि लामिछानेको विकल्प खोज्नै नसकिने स्पष्टीकरण दिए ।

पत्रकार सम्मेलनमा गण्डकी र कर्णालीका सभापतिहरु भने उपस्थित थिएनन् ।

बागमती प्रदेश सभापति अच्युत्तम लामिछानेले पार्टी नेतृत्वमा रविको विकल्प नखोजिएको बताए । उनले भने, ‘पुराना पार्टीमा चलेको हावा रास्वपा पनि कतै चलेको हो कि । यो हावामा कदापी विश्वास गर्दैनौं ।’ उनकै शब्दमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरुले समर्थन जनाएका थिए । सभापति रविप्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिएको उनीहरुको भनाइ थियो ।

कोषाध्यक्ष अधिकारीको आपत्ति

बागमती प्रदेशका कतिपय सदस्यहरुले सभापति रवि लामिछाने अब संरक्षक भई बस्नुपर्ने सुझाव केन्द्रलाई दिएका थिए । रास्वपाका स्रोतका अनुसार ती धारणाहरुलाई प्रदेश सभापति लामिछानेले बैठकमा पेश नै गरेनन् । लामिछानेले पार्टी सभापति रविको विकल्प खोज्न नहुने विचार प्रदेश तहबाट आएको बैठकमा बताएका थिए ।

त्यसप्रति बागमती प्रदेश इञ्चार्जसमेत रहेकी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले आपत्ति जनाएकी थिइन् । प्रदेश समितिमा उठेका विषयभन्दा फरक तरिकाले पार्टी बैठकमा अच्युत्तम लामिछानेले धारणा राखेको उनको भनाइ थियो । आफू समेत सहभागी भई तयार भएको प्रतिवेदनका विषय भन्दा फरक तरिकाले विचारहरु राखिएको भन्दै अधिकारीले इञ्चार्ज पदबाट राजीनामा दिने बताएकी थिइन् ।

बैठकमा सहभागी एक नेताले कोषाध्यक्ष अधिकारीको भनाइ उद्धृत गर्दै भने, ‘मसमेत सहभागी भई बनेका प्रतिवेदन भन्दा फरक तरिकाले यहाँ प्रस्तुत गर्नुभयो । बागमतीमा प्रदेशका सदस्यहरुले उठाएका विषयवस्तु मलाई अवगत छ । यस्तै तरिका हो भने म इञ्चार्जबाट राजीनामा दिन्छु ।’

प्राथमिकतामा पर्यो नख्खु प्रकरण

जेनजी आन्दोलनको दोस्रो दिनमा सभापति रवि जेलबाट बाहिरिएको विषयमा पनि बैठकमा ‘गम्भीर’ छलफल भएको नेताहरुले जानकारी गराएका छन् । २४ भदौमा कारागारबाट निस्किँदा विजयीभाव देखाएको भन्दै रविको आलोचना भएको छ ।

कारागारमा रवि लिन जाने नेताहरुको समेत आलोचना भइरहेको छ । त्यसबेला कार्यवाहक उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय नेताहरु गणेश पराजुली, हरि ढकाल, ज्वाला संग्रौला लगायत पुगेका थिए ।

सह–प्रवक्ता प्रतिभा रावलले कागागार प्रशासनले सुरक्षाका लागि ‘दशौंपटक’ फोन गरेपछि सम्भव हुने नेताहरु रिसिभ गर्न पुगेको बताइन् ।

बैठकमा सहभागी अधिकांशले नेताहरु पुग्नु र कारागार प्रशासनले दिएको पत्रको आधिकारितामा खोज नगरिएकोप्रति चासो राखेका थिए । सभापति रवि निस्किँदा पार्टीलाई क्षति पुगेको र ४० लाख जनाको हस्ताक्षरको अपमान भएको बताएका थिए ।

उक्त दिनमा सहभागी भएकालाई कारबाही गर्नुपर्ने आवाज उठेपछि त्यसविरुद्ध प्रदेश तहका नेताहरु देखिएका छन् । पार्टी केन्द्रको निर्देशन अनुसार आफूहरु प्रदर्शनमा सहभागी भएको हुँदा कारबाही भए केन्द्रदेखि सुरु गरेर तल्लो तहमा हुनुपर्ने प्रदेश समितिका सदस्यहरुले चेतावनी केन्द्रमा पठाएका छन् ।

सभापति रवि निस्किँदा नख्खु पुगेका प्रवक्ता झाले आगो लगाउने कार्यमा आफू संलग्न नभई रोक्ने कार्यमा लागेको बताए । नख्खु कारागारमा देखिएको भिडियो क्लिपमा आधारमा आफू माथि पनि छानविन गरियोस् भनि उनले माग गरेका छन् ।

नख्खु कारागार पुगेर अन्यलाई पनि सामाजिक सञ्जाल मार्फत बोलाएकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले शर्तसहित राजीनामा दिने केन्द्रीय समितिमा बताएकी थिइन् ।

केन्द्रीय सदस्यबाट राजीनामा दिएको कहीँकतै मिडियामा नआउने गरी पद त्याग्न तयार रहेको उनले मंगलबारको बैठकमा बताएकी थिइन् । उनको बोलीबारे एक केन्द्रीय सदस्य भन्छन्, ‘स्टन्ट गर्न खोजेको होला । राजीनामा दिने मनसायले होइन ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?