+
+

ब्रोकर लाइसेन्स मुद्दाको सुनुवाई सरेको सर्यै, लगानीकर्ताको १२ अर्ब रकम फस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते २१:२४

२१ चैत, काठमाडौं । ब्रोकर लाइसेन्स बितरण प्रकृया रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको टुंगो ६ महिनासम्म पनि लाग्न नसक्दा लगानीकर्ताहरुको झण्डै १२ अर्ब रुपैयाँ जोखिममा परेको छ ।

पूँजी बजारलाई सिमित ब्रोकरको कब्जाबाट बाहिर निकाल्ने भन्दै नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स सहजै प्राप्त गर्नेगरी नियमावलीमा ब्यबस्था गर्दै आवेदन माग गरेको थियो ।

तर नयाँ लाइसेन्स खुलाउन नहुने भन्दै केही कानुन ब्यबसायीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि गत कात्तिक ४ गते सर्वोच्च अदालतले लाइसेन्सका लागि खुला गरिएको आवेदन प्रकृया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

तर, अल्पकालिन भनिएको अन्तरिम आदेशको सुनुवाई ६ महिनासम्म नहुँदा लाइसेन्सका लागि आवेदन गर्ने लगानीकर्ताको अबौं रुपैयाँ अडकिएको छ । आर्थिक संकुचन र लगानीयोग्य तरलताको अभाव भइरहेका बेला ठूलो रकम अडकिनु र कुनै निर्णय पनि नआउनुले निकै अप्ठेरो परेको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल धितोपत्र बोर्डले २ असोजमा सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गर्दै इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन पेश गर्ने सूचना प्रकाशित गरेको थियो । बोर्डको उक्त सूचनाअनुसार ४५ वटा कम्पनीले नेप्सेको सिफारिससहित बोर्डमा आवेदन दिएका थिए ।

४ कात्तिकमा सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उक्त प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दिएको उक्त आदेशपछि बोर्डले  स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ ।

रिटमाथिको सुनुवाइ पटकपटक सर्दा  नयाँ ब्रोकर लाइसेन्सको लागि लगानी गरेको ४५ कम्पनीको  करिब १२ अर्ब रुपैयाँ होल्ड भएर बसेको हो ।

४५ कम्पनीले ११ अर्ब ९२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजीसहित नेप्सेको सिफारिस लिएर बोर्डमा आवेदन दिएका थिए ।  सर्वोच्च अदालतको अल्पकालीन आदेश आएर रोकिएको लाइसेन्स प्रक्रिया मुदा टुंगो नलाग्दा लगानी फसेर बसेको प्रस्तावित हिमालयन ब्रोकरेज कम्पनीका एक लगानीकर्ताले बताए ।

‘अल्पकालिन अन्तिरिम आदेश दिएको साढे ५ महिनाभन्दा बढी भयो । तर, अदालतले फैसला नगर्दा अर्बौं लगानी बैंकमा राखेर बस्नुपरेको छ,’ उनले भने, ‘अदालतको फैसला आउने हो भने लाइसेन्स पाउने/नपाउने टुंगाे लाग्थ्यो, लगानी होल्ड हुने थिएन ।’

नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले भदौमा २०७९मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको चौंथो र पाँचौं संशोधन गरेको थियो । त्यसपछि बोर्डले २ असोजमा सूचना प्रकाशित गर्दै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन माग गरेको थियो ।

संशोधित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड र धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

सोहीअनुसार व्यापारीको इजाजतपत्रका लागि नबिल सेक्युरिटिज लिमिटेड आवश्यक चुक्ता पूँजी १ अर्ब ५० करोडसहित बोर्डमा आवेदन दिएको छ । यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजी सहित आवेदन दिने कम्पनीको संख्या ३ वटा रहेको छ । मेगा स्टक मार्केट लिमिटेड, सेन्चुरी सेक्युरिटीज लिमिटेड र हिमालयन सेक्युरिटीज लिमिटेड गरी ३ वटाले ६० करोड रुपैयाँ चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएका छन् ।

बाँकी रहेका ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएको थिए ।

लाइसेन्स कुरिरहेका कम्पनी

सि.नं कम्पनीको नाम सेयर पूँजी
१. क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड
२. कलश सेक्युरिटिज प्रा.लि. २० करोड
३. एन.एम.बी सेक्युरिटिज लि. २० करोड
४. के.बि.एल.सेक्युरिटिज लि. २० करोड
५. प्रोपर्टी विजार्ड लि. २० करोड
६. एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड
७. पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड
८. मियो सेक्युरिटिज प्रा.लि. २० करोड
९. जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड
१०. प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड
११. आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड
१२. शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड
१३. ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड
१४. सानिमा सेक्युरिटिज लिमिटेड २० करोड
१५. आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड
१६. क्यापिटल हब प्रा.लि. २० करोड
१७. गरिमा सेक्युरिटज लि. २० करोड
१८. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड
१९. सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड
२०. ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड
२१. सनराईज सेक्युरिटिज लि. २० करोड
२२. इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड
२३. सजिलो ब्रोकर लि. २० करोड
२४. मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड
२५. ब्लुचिप सेक्युरिटिज लि. २० करोड
२६. बेनी सेक्युरिटिज प्रा.लि. २० करोड
२७. रोडसो सेक्युरिटिज लि. २० करोड
२८. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड
२९. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड
३०. एप्पल सेक्युरिटिज लि. २० करोड
३१. एलिट स्टक हाउस लि. २०.८० करोड
३२. भोले गणेश सेक्युरिटिज लि.  २१ करोड
३३. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड
३४. ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख
३५. म्ााछापुच्छ्रे सेक्युरिटिज लि. २३ करोड
३६. हिमालयन ब्रोकरेज कम्पनी २३ करोड
३७. शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड
३८. सन सेक्युरिटिज प्रा.लि. २५ करोड
३९. ईन्पिmनिटी सेक्युरिटिज लि. २५ करोड
४०. सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड
४१. एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड
४२. मेगा स्टक मार्केट्स लि. ६० करोड
४३. हिमालयन सेक्युरिटिज लि. ६० करोड
४४. सेन्चुरी सेक्युरिटिज लि. ६० करोड
४५. नबिल सेक्युरिटिज लि. १५० करोड

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?