 
																			२२ चैत, काठमाडौं । होटल व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गर्दै ब्याजदर घटाउन माग गरेका छन् । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेटी यस्तो माग गरेको हो । यस अवसरमा संघका अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराएकी छिन् ।
अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभएतापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको बताइन् । होटल दैनिक घाटामा चलेको भन्दै उनले देशैभरका होटल व्यवसायी समस्यामा रहेको उल्लेख गरेकी छिन् ।
व्यवसायीले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिन अर्थमन्त्रीसँग माग गरेका छन् । धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानुनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गर्न उनीहरुले माग गरे ।
व्यवसायीको आजको सबैभन्दा जटिल समस्या बैंकको बढ्दो ब्याजदर भएको भन्दै व्यवसायीले होटलले धान्नै नसक्ने अवस्था आएको बताए । व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न समेत ब्याजदर प्रतिकूल देखिएको व्यवसायीको गुनासो छ ।
होटल उद्योगले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने जिम्मेवारी भए पनि अहिलेको परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले बुझाउन नसक्ने उनीहरुको भनाइ छ । बैंकबाट सीमाभित्र सावाँ ब्याज बुझाउन तीव्र ताकेता रहेको भन्दै व्यवसायीले समयसीमा बढाउन अनुरोध गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4