+
+

सेती अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा विवाद

जनक विष्ट जनक विष्ट
२०७९ चैत २३ गते ८:०६

२३ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमै ठूलो सेती प्रादेशिक अस्पताल, धनगढीले नवौं तहका विशेषज्ञ चिकित्सकसहित विभिन्न तहका कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया नै विवादित बनेको छ ।

अस्पताल प्रशासनले प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार थालेको पदपूर्ति प्रक्रिया विवादित बनेको हो ।

महामारीका बेलाको मापदण्ड अपनाएको, लिखित परीक्षा लिनुपर्नेमा अन्तर्वार्ता मात्र राखेको भन्दै उजुरी समेत परेको छ । अस्पताल प्रशासनले गोप्य राखेको उक्त उजुरीमा छनोट मापदण्डबारे पुनर्विचार गर्नुपर्ने, लिखित तथा मौखिक परीक्षा लिएर मात्र पदपूर्ति प्रक्रिया पुुनः थाल्नुुपर्ने माग गरिएको स्रोतको भनाइ छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार उजुरी परेको पुष्टि गरे ‘लिखित र प्रयोगात्मक परीक्षा हुनुपर्ने जस्ता कुरा उठाउँदै हामीकहाँ उजुरी परेको छ’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘सो सम्बन्धमा के गर्ने भनेर हामीले सामाजिक विकास मन्त्रालयलाई लेखी पठाएका छौं ।’

प्रादेशिक अस्पतालले ६ चैतमा ७ दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५÷५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो ।

सूचना अधिकारी उपाध्यायका अनुसार नवौं तहको विशेषज्ञ चिकित्सकतर्फ पेडियाट्रिसियन, साइक्याट्रिक, मेडिकल जनरलिस्ट र रेडियोलोजिस्टमा दरखास्त परेको छैन । यी बाहेकका पदमा १ हजार ८३ जनाको आवेदन परेको छ ।

प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी भर्नाको विषयमा अस्पताल व्यवस्थापन समिति नै विभाजित भएको छ ।

सामाजिक मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले उजुरीका विषयमा अध्ययन भइरहेको बताए । कोभिड–१९ महामारीलाई लक्षित गरेर बनेको कार्यविधिबाट सामान्य समयमा पनि पदपूर्ति गर्न लागिएको भन्दै पदपूर्तिमाथि प्रश्न उठेको हो ।

सिंहले कार्यविधिमा अरू बेला लागू गर्न हुँदैन भन्ने वा कोभिडका बेला मात्र लागू हुने उल्लेख नभएका कारणले विवाद भएको भन्दै यसलाई समाधान गर्ने बताए ।

‘त्यो कार्यविधि पहिल्यै मन्त्रालयबाट स्वीकृत भइसकेको अवस्था हो । कोभिडको मात्र हो कि सबैको हो भन्ने कुरामा दोधार भएको छ । हामीले पनि हे¥यौं, पढ्यौं कुरा उठिराखेको छ’ सिंहले अनलाइनखबरसँग भने, ‘यसलाई कसरी विश्लेषण गर्ने भन्ने कुरा हो । यो विवाद समाधान गर्छाैं ।’

व्यवस्थापन समिति पनि विभाजित

प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी भर्नाको विषयमा अस्पताल व्यवस्थापन समिति नै विभाजित भएको छ । व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले मंगलबार राजनीतिक दबावका आधारमा कर्मचारी छनोट नगर्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी पदपूर्तिमा कसैको दबाव वा प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारीले अवसर नपाउने भन्ने चिन्ता उत्पन्न भएको बताएका थिए ।

उनले पदपूर्ति गर्दा ऐन, नियम, कानुन तथा मापदण्डअनुसार पदपूर्ति गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा संवेदनशील भएको हुँदा सबै नागरिकलाई अनुभूति हुने गरी प्रचलित संविधानको परिधिभित्र रही सेवा प्रदान गर्न आग्रह समेत गरेका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले प्रदेशका सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पतालको आवश्यकता अनुसार विज्ञापन गरिएको बताए । उनले कोरोना महामारीका बेला बनेको कार्यविधि अनुसार कर्मचारी भर्ना गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न मात्र उठेको बताए ।

‘२०७७ को कार्यविधिमा टेकेर भर्ना गर्दै हुनुहुन्छ भन्ने कुरा आएका छन् । यो कार्यविधिअनुसार नै हुन्छ’ शाहले अनलाइनखबरसँग भने, ‘अहिले हामी पहिलो चरणमा फाइल केलाउने, हेर्ने काम भइरहेको छ ।’

शाहले राजनीतिक चलखेलमा चिकित्सक तथा कर्मचारी भर्ना गर्न खोजेको भन्ने आरोपमा समेत सत्यता नभएको दाबी गरे ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?