+
+

सिर्सिया नदीको प्रदूषण रोकिएन, उद्योगको फोहोर पानी प्रशोधन गर्न अटेर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते ११:४०
उद्योगबाट निस्किएको फोहोर सिर्सिया नदीमा मिसिंदै ।

२३ चैत, वीरगञ्ज । वीरगञ्जस्थित उद्योगहरुले सिर्सिया नदीमा फोहोर पानी प्रशोधन नै नगरी खसाल्ने काम अझै रोकेका छैनन् ।

प्रशोधन विनाको फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगहरुलाई यसअघि जरिवाना तिराउँदै त्यसो नगर्न चेतावनी दिए पनि उद्योगीहरुले अटेर गर्दै आएका छन् ।

मेयर राजेशमान सिंह सहितको टोलीले बुधबार अनुगमनको क्रममा विभिन्न उद्योगले प्रदूषित पानी नदीमा खसाल्ने गरेको फेला पारेको हो ।

वीरगञ्ज-२१ परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स, अर्निका प्रोसेसिप, पन्ना पेपर, ग्लोबल लेदर, मोरियम लेदर लगायतका उद्योगले प्रशोधन नै नगरी प्रदूषित पानी नदीमा मिसाएको महानगरले जनाएको छ । यीमध्ये पन्ना पेपर बाहेकका उद्योगलाई महानगरले यसअघि नै नदी प्रदूषण गरेकै कारण ३-३ लाख रुपैयाँ जरिवाना गरिसकेको छ ।

अनुगमनका क्रममा नदी आसपास रहेका उद्योगले रसायनयुक्त फोहोर पानी, छाला उद्योगको लेदो, कोइलाको खरानी सिधै नदीमा फाल्दै आएको भेटिएको छ । कतिपय उद्योगले अनुगमन टोलीलाई देखाउन मात्रै प्रशोधन केन्द्र बनाएको पनि देखिएको छ ।

अनुगमनका क्रममा सिद्धी टेक्सटायल्स नै सिर्सियालाई प्रदूषित बनाउने पहिलो उद्योग भएको पाइएको अनुगमन टोलीले जनाएको छ । त्यसपछि क्रमशः अन्य उद्योगले पनि प्रदूषित पानी सोझै नदीमा खसाउँदै आएका छन् । सिद्धी टेक्सटायल्स उद्योग भन्दा माथि सिर्सिया नदी सफा देखिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

उद्योगीको प्रतिबद्धता एउटा, व्यवहार अर्को

वीरगञ्जका उद्योगी व्यवसायीले नदी प्रदूषणमुक्त बनाउन हातेमालो गर्ने आश्वासन दिँदै आएका छन् । तर उनीहरुको व्यवहार भने त्यस्तो छैन । वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योगीसँग छलफल गर्ने र प्रदूषण नगर भनेर पत्राचार गर्ने कार्यमा सीमित छ । संघको कार्यालयमा पटक-पटक सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउनेबारे छलफल भए पनि नदीको अवस्थामा सुधार भने आएको छैन ।

गत माघमा सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि बारा, पर्साका उद्योगीले सघाउने भनी निर्णय गरेका थिए । उनीहरुले उद्योगबाट निस्कने रसायनयुक्त प्रदूषित पानी सोझै नदीमा नपठाउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघमा बसेको बैठकले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्राइमरी टि्रटमेन्ट प्लान्ट नभएका उद्योगले सात दिनभित्र निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर भए पनि सफा पानी मात्रै नदीमा विसर्जन गर्ने निर्णय गरेको थियो ।

वीरगञ्ज उद्योग अनिल कुमार अग्रवाल सिर्सिया नदी सफा बनाउन तत्कालीन र दीर्घकालीन काम गर्नु आवश्यक रहेको बताउँछन् । ‘सर्सिया नदी सफा बनाउने कुरा सबैको सरोकारको विषय हो । उद्योगी व्यवसायीहरुसँग समन्वय गरेर कसरी सफा राख्न सकिन्छ । तत्काल प्रदूषण रोक्न के-के उपचार गर्न सकिन्छ, समस्याको दीर्घकालीन समाधानका लागि टि्रटमेन्ट प्लान्ट बनाउन वीरगञ्ज महानगर, प्रदेश तथा संघ सरकारसँग समन्वय गर्छौं,’ उनले भने ।

नदी सफा बनाउने प्रशासन र महानगरको अठोट

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल निरन्तर उद्योगको अनुगमनमा छन् । उनी उद्योगको अनुगमन टोली सदस्य पनि हुन् । उनी पटक-पटक सम्झाउँदा उद्योगले अटेर गरेकाले दण्डात्मक विधिमा जानुपर्ने बताउँछन् ।

‘ट्रिटमेन्ट प्लान्ट बनाऊ, फोहोर पानी प्रशोधन गरेर शुद्ध पानी नदीमा खसाल भनेर पटक-पटक सम्झाइसकेका छौं, तर प्रतिबद्धता अनुसार अलि-अलि थालेजस्तो, गरेजस्तो देखिने र तर प्रभावकारी संरचना बनाएको देखिएन,’ उनले भने, ‘अभियानको लक्ष्य अनुसार काम भइरहेको छैन, गम्भीर हुनैपर्ने देखिन्छ । दण्डात्मक विधिमा नै जानुपर्छ । जसरी हुन्छ, शुद्ध पानी नदीमा खसाउने वातावरण बनाउनुपर्छ ।’ उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा सिर्सिया करिडोरका अधिकांश उद्योगले बेवास्ता गरेको उनको भनाइ छ ।

उद्योगीको स्वार्थले प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अठोट वीरगञ्ज महानगरले लिएको छ । मेयर राजेशमान सिंह नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने बताउँछन् । ‘उद्योगहरुले बदमासी गरिरहेका छन्, यो सहृय हुँदैन । जसरी पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाएरै छाड्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?