+
+

सहकारीको कामकारबाहीमा प्रश्न छन्, सच्चिनुस् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १८:११

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको कामकारबाहीमा प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सहकारीको कामकारबाहीमा केही प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका हुन्  ।

राष्ट्रिय अर्थतन्त्रमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको भए पनि यसको स्वनियमन नारामा मात्रै सीमित हुँदा सहकारीमा समस्या देखा परेको उनले बताए । सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निष्कर्ष निकाल्नु पर्ने उनको सुझाव थियो ।

‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निष्कर्ष निकाल्नुपर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको बताउँदै बचतकर्ताको पैसा सुरक्षित राख्न सबैको दायित्व महत्वपूर्ण भएको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महासम्मेलन कोशेढुंगा सावित बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् । उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताएका हुन् ।

‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ । विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ । सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ’ अध्यक्ष कँडेलले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए । गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तीका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए ।

२५ चैतसम्म सञ्चालन हुने महासम्मेलनमा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?