+
+

विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशकयताकै कमजोर : आईएमएफ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १४:२२

२४ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको अर्थतन्त्र वृद्धि सन् १९९० यताकै कमजोर स्थितिमा रहेको बताएको छ । आगामी पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण छ । आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले भनेकी छिन्, ‘विश्व अर्थतन्त्रको आगामी बाटो कठिन र धुमिल छ ।’

यो परिस्थिति हटाउनका लागि विश्व शक्तिबीचको सहकार्य आवश्यक पर्नेमा सहकार्यको परिस्थिति झन् जटिल बन्दै गएको जोर्जिभाको भनाइ छ । आईएमएफको वार्षिक बैठकका लागि वासिङ्टन पुगेकी उनले आर्थिक स्थिति कमजोर भएका मुलुकहरूलाई शक्ति राष्ट्रले सहयोग गर्नुपर्ने बताइन्।

‘अर्थतन्त्र नाजुक अवस्थामा पुगेका मुलुकहरूलाई सहयोगको खाँचो छ। यसका लागि शक्ति राष्ट्रहरुले आईएमएफलाई थप आर्थिक सहयोग गर्नुपर्छ । यसले कमजोर अर्थतन्त्र भएका मुलुकलाई कम प्रतिशतमा ऋण उपलब्ध गराउन सहयोग पुग्छ,’ जोर्जिभाले भनेकी छिन् ।

कोरोना महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न र युक्रेन युद्धपछिको स्थितिलाई लयमा फर्काउन लागि आईएमएफले ऋणको पुनर्संरचना आवश्यक रहेको बताएको छ । यसका लागि शक्ति राष्ट्रहरूले सहयोग बढाउनुपर्ने कोषको भनाइ छ ।

गत वर्ष विश्व अर्थतन्त्रको वृद्धि प्रतिशत ३ दशमलव ४ प्रतिशत थियो । यो दुई दशकयताकै न्यून हो । सन् २०२३ मा चीन र भारतको अर्थतन्त्रमा वृद्धि हुने हुँदा त्यसले कुल वृद्धिको आधा प्रतिशत ओगट्ने आईएमएफको भनाइ छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि ३ प्रतिशत पुग्दा ९० प्रतिशत उन्नत अर्थतन्त्रमा गिरावट आउने आईएमएफको भनाइ छ। केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदा यो स्थिति आएको उसको जिकिर छ ।

कम आय भएका मुलुकहरूको निर्यात झन् कमजोर हुँदा उनीहरू थप समस्या पर्ने आईएमएफले बताएको छ । ‘कम आय भएका मुलुकहरूमा थप संकट आउन सक्छ । गरिबी र भोकमरी बढ्नसक्ने भएकाले यसतर्फ सचेत हुनुपर्छ’, जोर्जिभाले भनेकी छिन्।

के हो आईएमएफ ?

अन्तर्राष्ट्रिय मुद्रा कोष १ सय ९० राष्ट्र सम्मिलित संस्था हो । विश्व अर्थतन्त्रलाई स्थिर राख्नका लागि यसले सहकार्य गर्दछ । कुनैपनि मुलुकले यसका प्रावधान पालना गरेपछि सदस्यता प्राप्त गर्न सक्छन् । मुलुकको अर्थतन्त्र जति सबल हुन्छ यसमा त्यतितै योगदान पनि गर्नुपर्ने हुन्छ ।

यो संस्था सन् १९४४ मा स्थापना भएको हो । यस संस्थासँग आफ्ना सदस्य राष्ट्रहरूलाई सहयोगका लागि १ ट्रिलियन डलरको कोष छ । सानो अर्थतन्त्र भएका मुलुकलाई यस कोषले शून्य प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँछ ।

विश्वको अर्थतन्त्र निगरानीका लागि यस संस्थाले मुख्यत: तीन काम गर्छ । पहिलो अर्थतन्त्रको ट्र्याक गर्दै सम्भावित संकटबारे सचेत गराउँछ, सदस्य राष्ट्रहरूलाई अर्थतन्त्र सुधारका लागि सुझाव दिन्छ र अर्थतन्त्र सुधारका लागि ऋण उपलब्ध गराउँछ ।

ऋण भने कोटामा आधारित हुन्छ । मुद्रा कोषले हालसम्म सबैभन्दा बढी ऋण अर्जेन्टिनालाई दिएको इतिहास छ। सन् २०१८ मा मुद्रा कोषले अर्जेन्टिनालाई ५७ अर्ब डलर ऋण दिएको थियो । जोर्जिभा सन् २०१९ देखि आईएमएफकी प्रमुख छिन् । यसअघि उनी विश्व बैंककी प्रमुख थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?