+
+
ब्लग :

संयुक्त परिवारको ज्ञान लिन वञ्चित यो पुस्ता

संयुक्त परिवार अब देख्न नपाइने अवस्था बन्दैछ । बजार, प्रतिस्पर्धा र जीवनशैलीका कारण मानिस ठूलो परिवारका बारेमा सोच्नै छाडेका छन् । यसको परिणाम संयुक्त परिवारमा पाइने अनुभव र ज्ञानको लाभ लिनबाट आउने पुस्ता वञ्चित हुँदैछ ।

समीक्षा दाहाल समीक्षा दाहाल
२०७९ चैत २६ गते १४:२७
फाइल तस्वीर

भर्खरै सार्वजनिक भएको जनगणनाको विवरणले परिवार संख्या सानो हुँदै गएको देखाएको छ । २०६८ को गणनाले नेपालीको परिवार सदस्य संख्या औसतमा ४.८८ देखाएकोमा भर्खरै सार्वजनिक भएको २०७८ को जनगणनाले यो संख्या ४.३७ मा झरेको देखाएको छ ।

परिवार सानो हुँदै जानुको अर्थ हो मानिस सन्तान जन्माउने मामिलामा विचार पुर्‍याउन थाले। ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने अवधारणा अब ‘बढाउन र पढाउन सकिने जति मात्रै जन्माउने’ मा बदलिंदै गएको छ ।

यसले समय अब एकल पारिवारिक संरचनाको साङ्लोमा बाँधिंदै गएको छ भन्ने देखाउँछ। कामकाजी दम्पतीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् वा चाहेर पनि भ्याउँदैनन् । त्यसैले पहिलेको जस्तो ठूलो परिवार हाम्रा सन्तानहरूले अब सिनेमाको कथामा मात्र हेर्न पाउलान् । अहिलेको समयमा धेरै भए एक छोरा, एक छोरी, नत्र एउटा मात्रै सन्तान देख्न सकिन्छ ।

यो हुनमा कसैको बाध्यता छ त कसैको रहर । धेरैले चाहेर पनि एक भन्दा बढी सन्तान जन्माउन सकेका छैनन् । एउटा सन्तान जन्मिएपछि काम सुरु गरेका महिलाले अर्को सन्तान जन्माउन फेरि काम छोड्नुपर्ने ।

गरिरहेको काम छोडेमा अर्को काम नपाइने र पाए पनि त्यस्तै नपाउने, अर्को काममा सुरुदेखि संघर्ष गर्नुपर्ने, एउटा सन्तान जन्माएपछि लामो समयसम्म श्रीमान्, श्रीमतीमध्ये एक विदेश गएर वा जागिरको कारण छुट्टिएर बस्नुपर्ने बाध्यताका कारण आजकल परिवार संख्या घट्दै गएको पाइन्छ ।

मेरो एक मित्र भन्थिन्, ‘एउटा छोरा जन्मिएपछि उहाँ बाहिर जानुभएको बल्ल पाँच वर्षमा केही महिनाको बिदामा घर आउनुभयो । अर्को बच्चा जन्माउने योजना गरेको भएन । डाक्टर लामो समय ग्याप भएर यस्तो भएको भन्छन् ।

हुन्छ कि भन्दाभन्दै अब उहाँको फेरि जानेबेला भइहाल्यो । अब कति वर्षमा आउनुहुन्छ, थाहा छैन ।’ यी र यस्ता समस्याका कारण सन्तान चाहँदा चाहँदै पनि दम्पतीले एउटा सन्तानमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।

चिकित्सकहरूका भनाइमा, सन्तान जन्माउने प्रक्रिया पनि असाध्यै कष्टकर हुँदै गएको छ । खाद्यान्नमा प्रयोग हुने विषादीका कारण स्वस्थ बच्चा जन्माउन कठिन छ । बच्चा गर्भमा बसाउनै गाह्रो हुन्छ । बसिहाले जोगाउन गाह्रो, बल्लतल्ल बच्चा जन्माए पनि त्यसलाई ठूलो पार्न कठिन छ ।

मेरो गाउँकी एकजना भाउजूको विवाह गरेको पाँच वर्षमा बल्ल-बल्ल बच्चा बसेको चार महिना नपुग्दै खेर गयो । डाक्टरले खाद्यान्नमा बढ्दै गएको विषादिले यस्तो भएको भने भनेर दुःख मान्दै हुनुहुन्थ्यो । एउटा सन्तान जन्माउन हम्मे भएको यो समयमा अर्को सन्तान टाढाको कुरा हुँदै गएको छ ।

मानिस आजकल एकान्तप्रेमी बन्दै गएको छ । हल्लाखल्ला, झाँगलझुगल मन पराउँदैन । धेरै सन्तान भए कामको बोझ थपिने, हिंडडुल गर्न कठिनाइ हुने, खर्च बढ्ने, पारिवारिक झमेला बढ्ने जस्ता कारणले उनीहरू धेरै बच्चा जन्माउँदैनन् ।

अनि एकल पारिवारिक संरचनामा बसेका दम्पतीलाई एक्लै सन्तान हुर्काउनु कुनै लडाइँ जिते सरह हुन्छ । एउटा सन्तान बुवाआमाले हुर्काइदिए पछि घर छोडेर हिंडेका दम्पतीले अर्को सन्तान जन्माएर एक्लै हुर्काउने हिम्मत नै गर्न सक्दैनन् । त्यसैले पनि परिवार संख्या घट्दो क्रममा छ ।

धेरै त नभनौं दुई सन्तानसम्म जन्माउने वातावरण मिलाउनुपर्छ । सन्तानलाई उनीहरूको लागि साथी बनाइदिने कर्तव्य दम्पतीकै हो । मर्दापर्दा, चाडपर्व मनाउँँदा आफ्नैको आवश्यकता पर्छ ।

गाउँबाट शहरमा वा अर्को देशमा कामको सिलसिलामा हिंडेका दम्पतीले आमाबुबालाई सँगै राख्न सकेका हुँदैनन् । गाउँमा खेतीपाती गरेर र बसेका बाबुआमा शहरमा वा अर्को देशमा गएर खुम्चिएर बस्न चाहँदैनन् ।

घर छोडेर हिंडेपछि एक जनाको कमाइले परिवार धान्न गाह्रो हुन्छ । त्यसैले दम्पतीले नै काममा जानुपर्ने बाध्यताका कारण सन्तानलाई समय दिन कठिन हुने हुनाले पनि उनीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् ।

एकल पारिवारिक संरचनामा जन्मिएका बच्चामा धेरै खाले समस्या बढ्दै गएको देख्न सकिन्छ । उनीहरू परिवारमा घुलमिल हुन नचाहने, एक्लै बस्न रुचाउने, मोबाइलमा समय बिताउने, घरमा कोही नयाँ मान्छे आए बोल्न नचाहने, लुक्ने, मनका कुरा कसैलाई भन्न नचाहने प्रवृत्तिका बन्दैछन् ।

एउटा मात्र सन्तान हुँदा उसले साथीको अभाव महसुस गर्न थाल्छ-खेल्ने साथी, खाने साथी, बोल्ने साथी, झगडा गर्ने साथी इत्यादि । अभिभावकले आफ्नो बच्चाले एक्लोपनको महसुस नगरोस् भनेर बच्चासँग खेल्ने, खाने गरेर समय दिने गरेको पाइन्छ ।

तर, जेनेरेसन ग्यापका कारण साथीभाइसँग जस्तो खुलेर बच्चाले अभिभावकसँग आफ्ना कुरा राख्न नसक्ने भएकाले एक्लोपनको अनुभव गरिएका हुन्छन् । घरभित्रै साथीको अभाव महसुस गर्छन् ।

जो–कोहीले पनि आफू र आफू जस्तै उमेर समूहमा मात्र खुल्ने हुनाले परिवारमा दाजुभाइ, दिदीबहिनीको अभाव महसुस गरिरहेका हुन्छन् । आफ्ना अभिभावक प्रतिको गुनासो पोख्ने भरपर्दो साथी दाजुभाइ वा दिदीबहिनी नै हुन्छन् ।

अर्को कुरा एकभन्दा बढी सन्तान भए चाडपर्व रमाइला हुँदा रहेछन् । मेरो एक आफन्तकोमा पाँच जना छोरी र चार छोरा छन् । सबैले आ–आफ्नो राम्रोसँग बन्दबस्त मिलाएका छन् । कोही जागिर गर्छन् अनि कोही व्यापार । छोराहरू सबै आफैं कमाएर आ–आफ्नो घर बनाएर बसेका छन् । बुबाआमा पकाएर खान सक्ने भएकोले गाउँमा आफ्नै घरमा बस्छन् ।

आमाका भनाइमा आउँदा कसले के ल्याउँछ कसले के, यो घर खानेकुरा र सरसामानले भरिएको छ । हेर न हामी दुईजनाले के खाएर सक्नु ? धेरै छोराछोरी हुर्काउन पहिले साह्रो परेको थियो अहिले आनन्द आउँछ । चाडपर्वमा सबै भेला हुन्छन्, रमाइलो गर्छन्, पकाउँछन्, खान्छन् ।

यस्तै नातिनातिना पनि यहाँ आउन पाउँदा रमाउँछन् । पूजा लगाउने है भन्यो भने सबै भेला हुन्छन् । कोही बिरामी परेमा र कसैलाई गाह्रोसाह्रो परेमा अरूले सहयोग गर्नै पर्दैन उनीहरू नै एकजुट हुन्छन् । साह्रै गौरव लाग्छ यिनीहरूको मेलमिलाप देखेर । छोराछोरी चैं धेरै नै चाहिने रहेछ नानी ।

आमाबाबुलाई आफूसँगै रमाउने वातावरण मिलाउन सकेमा सन्तान उहाँहरूसँगै रमाउँछन् । तब त सजिलोसँग दुई सन्तान हुर्काउन सकिन्छ र सन्तानलाई संयुक्त परिवारको आभास दिलाउन सकिन्छ ।

यस मामलामा मेरो आफ्नो परिवार पनि गर्व गर्न लायक छ । मेरा बुबाहरू एघार जना । कोही कता कोही कता बाँडिएर बस्नुभएको छ । हामीले पुर्खाको आशीर्वाद पाएका छौं । सन्तानले डाँडाकाँडा ढाकुन् भने झैं हामीले पनि डाँडाकाँडा ढाकेका छौं । हामी अहिले लगभग सयभन्दा बढी छौं ।

ताप्लेजुङबाट सुरु भएको हाम्रो पारिवारिक संरचना बिर्तामोड, दमक, क्याम्प, हुँदै धेरै ठाउँमा बाँडिएको छ । एघार जना बुबाहरू र उहाँहरूका सन्तान हामी सबै भेला हुँदा हाम्रा चाडपर्व ज्यादै रमाइला हुन्छन् । विवाह, उपनयन, पुराण जस्ता धार्मिक कार्यक्रम सजिलै सम्पन्न हुन्छन् । सबै आफन्त भेला भएर कोही रमाइलो गर्ने, कोही पकाउन, कोही खाने गर्दा साँच्चै गर्व महसुस हुन्छ ।

तब त मान्छेहरू भन्ने गर्छन्– परिवार ठूलो होस् त फलानाको जस्तो । ठूलो परिवारको मिठो स्वाद मैले पनि चाखेको हुनाले साँच्चै मलाई पनि संयुक्त परिवार राम्रो लाग्छ । तर, अघिल्लो पुस्ताको जस्तो संयुक्त परिवार अब चाहेर पनि सम्भव छैन । तर दुई सन्तानसम्म भइदिए र बुबाआमालाई आफूसँगै बस्ने वातावरण मिलाउन सके आफ्ना सन्तानलाई संयुक्त परिवारको आभास दिलाउन सकिन्छ ।

संयुक्त परिवारमा हुर्किएका केटाकेटीले धेरै कुरा सिकेका हुन्छन् । अरूको आदर गर्न, ठूलालाई सम्मान र सानालाई माया गर्न, चाडपर्वमा रमाइलो गर्न, घुमफिर गर्ने, अभावमा बाँच्न आदि ।

दम्पतीले पेशा र पैसा मात्रै नहेरी सन्तान जन्माउने र हुर्काउने दायित्वलाई पनि ख्याल गर्नुपर्छ । श्रीमान्ले बाहिरी व्यवहार धानेर श्रीमतीलाई केही वर्ष सन्तान हुर्काउन समय दिनुपर्छ, खाद्यान्न र कमजोर स्वास्थ्य अवस्थाका कारण समय नपुग्दै बच्चा खेर जाने समस्या बढ्दै गएका कारण गर्भवती महिलाको विशेष ख्याल श्रीमान् लगायत परिवारका सदस्यहरूले राख्नुपर्छ । गर्भवती महिलाको खानपानमा ध्यान दिनुपर्छ ।

धेरै त नभनौं दुई सन्तानसम्म जन्माउने वातावरण मिलाउनुपर्छ । सन्तानलाई उनीहरूको लागि साथी बनाइदिने कर्तव्य दम्पतीकै हो । मर्दापर्दा, चाडपर्व मनाउँँदा आफ्नैको आवश्यकता पर्छ ।

आमाबाबुलाई आफूसँगै रमाउने वातावरण मिलाउन सकेमा सन्तान उहाँहरूसँगै रमाउँछन् । तब त सजिलोसँग दुई सन्तान हुर्काउन सकिन्छ र सन्तानलाई संयुक्त परिवारको आभास दिलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?