+
+

‘महासंघमा मैले पाउने भोटले सम्मान र समाधान दुवै दिनेछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते २०:५२

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतत्वका लागि आगामी चैत २९ गते निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान अनुसार चन्द्रप्रसाद ढकालले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व सम्हाल्दै छन् ।

त्यसपछिको नेतृत्वको लागि यो वर्षको चुनावमा वरिष्ठ उपाध्यक्षसहित कार्य समितिका ६४ पदमा चर्को प्रतिस्पर्धा छ । महासंघको निर्वाचन समितिको कार्यालयका अनुसार ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।

यसमध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि द्वि-राष्ट्रिय सदस्यमा सुनील केसी निर्विरोध निर्वाचित भएका छन् । बाँकी ११६ जना चुनावी प्रतिस्पर्धामा भिडिरहेको बेला भावी अध्यक्ष चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारलाई मिलाउने कसरतमा छन् ।

वरिष्ठ उपाध्यक्षका तीन आकांक्षी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्यानलसहित निर्वाचनमा होमिएका छन् । यीमध्येका संघईसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको निर्वाचन केन्द्रित कुराकानीको सम्पादित अंश :

यहाँको प्यानलको चुनावी तयारी कस्तो चल्दैछ ?

यो चुनावका लागि एक वर्षअघिदेखि गरेको तयारी साकार हुने बेला आएको छ । जिल्ला-नगर, वस्तुगत संघ, एशोसिएट सबै सदस्यसँग अन्तरंग हिसाबले बातचित भइरहेको छ । चुनावका कारण अन्य कुराहरू गौण भएको छ ।

तपाईं त मारवाडी समुदायको मानिस, रगतमै व्यवसाय भएको भनिन्छ । चुनावी राजनीतिमा जित्नु कत्तिको चुनौतीपूर्ण लाग्दैछ

२० वर्षदेखि उद्योग वाणिज्य महासंघमा आबद्ध छु । यो अवधिमा आफ्नो उद्योग–व्यवसायलाई पनि एउटा उचाइमा पुर्‍याएँ । पछिल्लो तीन वर्षदेखि महासंघको नेतृत्व गर्ने तहमा छु । रविभक्त श्रेष्ठको कार्यकालबाट महासंघको गतिविधिमा सक्रिय हुन थालेको हुँ ।

१८ हजारभन्दा बढीलाई प्रत्यक्ष-परोक्ष रोजगारी दिने गरी व्यवसाय विस्तार गरेपछि महासंघको नेतृत्वमा आउने पहल थालेको हुँ । मैले व्यावसायिक जीवनमा सँगालेका अनुभवहरू महासंघ मार्फत सबै सदस्यमा पु¥याउनुपर्छ, देशको आर्थिक विकासमा सहयोग गर्नैपर्छ भनेर महासंघको नेतृत्वमा आउन चाहेको हुँ ।

तपाईंलाई वरिष्ठ उपाध्यक्षमा जिताउँदा उद्योगी–व्यवसायीको हितमा हुने काम के–के हुन् ?

नेपाल उद्योग वाणिज्य महासंघका मतदाता साथीहरूले यो पटक मलाई नै जिताउनुपर्छ । किनभने, रामचन्द्र संघईले जानेको, बुझेको उद्योग–व्यवसाय क्षेत्रको समस्या शायदै अरूले जानेका होलान् ।

अब मैले देशको अर्थतन्त्र विकासमा काम गर्ने हो । अर्थतन्त्र विकासका लागि निजी क्षेत्रलाई बलियो बनाउने हो । आजको आर्थिक प्रतिकूलतामा निजी क्षेत्रलाई बलियो बनाउन उद्योगी–व्यवसायी साथीहरूले सहज रूपमा काम गर्न सक्ने वातावरणको पहल अति आवश्यक छ । यो अवस्थामा साथीहरूको समस्या ग्रहण गर्न म अग्रसर भएको हुँ ।

अर्को कुरा, यसअघि पनि म चन्द्र ढकालको राय–सुझावमा उपाध्यक्ष बनेको हुँ । अब उहाँको नेतृत्वलाई सफल बनाउन पनि मैले मत पाउनुपर्छ ।

अहिले हाम्रो देशको अर्थतन्त्र अप्ठ्यारोमा छ । यसबाट सिंगो निजी क्षेत्र ठूलो मारमा छ । हामीले भूकम्प भोग्यौं, कोरोना पनि भोग्यौं । अहिले विश्वव्यापी आर्थिक मन्दीको मार पनि थपिएको छ ।

नयाँ सरकार बनेको छ । अब छिट्टै निर्वाचन सकिएर हामी पनि नयाँ टिम बनेर आउँछौं र समाधान खोज्छौं । अहिले नै नकारात्मक भएर सोच्न जरूरी छैन ।

निर्वाचनमा महासंघ तीन खेमामा विभाजित भएको देखियो । विगतमा पनि यस्तो प्रवृत्ति थियो । अर्थतन्त्र विकराल समस्यामा रहेको समयमा महासंघमा यो किसिमको विभाजन वा प्रतिस्पर्धाले राम्रो संकेत गर्छ र ?

भावी अध्यक्षले आपसी सहमतिको पहल थाल्नुभएको छ । त्यो पनि सकारात्मक नै छ । निर्वाचनबाटै नेतृत्व चयनमा जाँदा पनि हार–जितलाई सहर्ष स्वीकार गर्दै हार्नेले जित्नेलाई अंकमाल गरेर मुलुकको आर्थिक हितमा काम गर्ने हो । पहिले पनि त्यही गरेको हो ।

प्रदेश समितिहरूमा सहमतिमै पदाधिकारी चयन भएको देखियो । माथि परिपक्व नेतृत्व गर्ने तपाईंहरूमा किन त्यस्तो नभएको ? वरिष्ठ उपाध्यक्षमा समझदारीको सम्भावना कति छ ?

प्रदेश समितिहरूमा राम्रै अभ्यास भएको छ । धेरै आकांक्षी, धेरै मतदाता भएको अवस्थामा निर्वाचन वा स्वस्थ प्रतिस्पर्धा पनि नराम्रो होइन ।

प्रतिस्पर्धामा तपाईंले जित्ने आधार केके हुन् ?

उद्योगी-व्यवसायीको सबैखाले संघर्षको राम्रो जानकार हुँ । साना, मझौला, ठूला सबै उद्योग–व्यवसायीको पीडा सम्बोधन गर्न सक्छु । महासंघका प्रदेश च्याप्टरहरूलाई बलियो बनाउँछु ।

सदस्य साथीहरूको समस्यालाई आफ्नै समस्या ठानेर म महासंघमा क्रियाशील हुनेछु । मलाई भोट दिनुस्, म सम्मान र समाधान दिनेछु ।

उद्योगी-व्यवसायी साथीहरूलाई आ–आफ्नो क्षेत्रमा सफल बनाउन काम गर्न सक्छु । सरकारसँग निजी क्षेत्रको समस्या उठान र समाधान गर्न म सक्षम छु । त्यसकारण, सम्पूर्ण भोटर साथीहरूलाई आग्रह गर्छु– मलाई जिताउनु्स्, तपाईंहरूले महासंघमा सधैं जितेको महसुस गराउने छु ।

 रामचन्द्र संघईलाई जिताउनुपर्छ भन्ने मत आजको दिनमा कति प्रतिशत छ ?

अहिलेलाई यत्ति भनौं-म जित्ने अवस्थामा छु, जित्छु ।

अञ्जन श्रेष्ठको टिमबाट ज्योत्सना श्रेष्ठलाई छुटाएर महासंघ राजनीतिमा रामचन्द्र संघईले खेल खेल्यो भन्ने टिप्पणी सुनिएको छ । खास कुरा के हो ?

ज्योत्सनाजी असल मान्छे हो । उहाँले मेरो प्यानलमा आएर महासंघमा चुनाव जित्ने जुन अवस्था देख्नुभयो, त्यो सही र सराहनीय छ । मेरो प्यानलले उहाँसँगै निर्वाचन जित्छ । उहाँ जहाँ हुनुहुन्थ्यो, त्यहाँबाट जित सुरक्षित छैन भन्ने बुझेरै यो निर्णय लिनुभएको हो । यो त निर्वाचन हो नि !

चुनाव जित्न प्यानल सदस्यहरूको भूमिका महत्वपूर्ण हुन्छ । प्यानल सदस्याहरूका कारण तपाईंको जित हुने अवस्था कति छ ?

मेरो प्यानल भनेको अनुभवीहरूको टिम हो । वस्तुगतमा सकुन्तलाल हिराचन, जिल्ला-नगरमा सुरकृष्ण श्रेष्ठ र एशोसिएटमा ज्योत्सना श्रेष्ठ उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । सबै जना अनुभवी छौं । हामीले नेपालको निजी क्षेत्रको समस्या बुझेका छौं, भविष्य देखेका छौं । हामीसँग समाधान पनि छ ।

महासंघ निर्वाचनमा सधैंजसो विरासतको पनि लडाईं हुन्छ । तपाईंलाई महासंघको नेतृत्वमा ल्याउन मारवाडी समुदायका सबै उद्योगी–व्यवसायी एकजुट भएका हुन् ?

पहिलो कुरा त म उद्योगी–व्यवसायी भएर महासंघ प्रवेश गरेको हुँ, मारवाडी भएकोले होइन । यसअघिको निर्वाचनमा तपाईंले नाम लिनुभएको समुदाय एकातिर र म अर्कोतिर थिएँ । म चन्द्र ढकालको प्यानलबाट उपाध्यक्ष बनेको हुँ । महासंघमा म उद्योगी–व्यवसायीको प्रतिनिधि हुँ, मारवाडी समुदायको होइन । उम्मेदवारी र भोटिङ पनि यही अनुसार हुने हो ।

यस पटकको प्रतिस्पर्धालाई लिएर पूर्वअध्यक्ष र आफूलाई महासंघको अभिभावक बताउनेहरू के भन्नुहुन्छ ? तपाईंलाई क–कसको साथ–समर्थन छ ?

महासंघका पूर्वअध्यक्षहरू मेरो अभिभावक हुनुहुन्छ । उहाँहरूसँग निरन्तर सम्पर्कमा छु । बितेको तीन वर्षमा महासंघमा मैले खेलेको भूमिकाका कारण उहाँहरू मलाई जिताउनुपर्छ, महासंघमा रामचन्द्र संघई चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ ।

अन्त्यमा तपाईंका मतदाता उद्योग वाणिज्य संघका सदस्यहरूलाई के भन्नुहुन्छ ?

सफल उद्यमी-व्यवसायी चन्द्र ढकालले चैत ३० गतेबाट महासंघको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । म त्यही सदस्य हुँ, जसलाई उहाँले विश्वास गरेर उपाध्यक्ष बनाउनुभएको थियो । अबको तीन वर्ष उहाँलाई सघाउन म अग्रसर भएको छु । हाम्रो टिमले महासंघलाई नयाँ उचाइमा लैजाने छ ।

यो सब वातावरणका लागि सबै उद्योगी–व्यवसायी साथीहरूले मलाई विजयी मत दिएर सहयोग गर्नुपर्छ । मैले पाउने मतको कदर र सम्मान कसरी गर्ने, त्यो मैले जानेको छु ।

सदस्य साथीहरूको समस्यालाई आफ्नै समस्या ठानेर म महासंघमा क्रियाशील हुनेछु । मलाई भोट दिनुस्, म सम्मान र समाधान दिनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?