+
+

बसन्त चौधरीको बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १९:३१

काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरीले बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । ‘प्रेमिल कवि’को छवि बनाएका चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर ‘आहाना’ सार्वजनिक गरेका हुन् ।

आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कुलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो ।
कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् ।

बाल कविता संग्रह ‘आहाना’ नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छन् । ‘कोपिला किताब’ले प्रकाशन गरेको ‘आहाना’मा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ ।

कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि चौधरीले आफू निकै खुशी भएको उल्लेख गर्दै भने, ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ ।’

उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाइ थियो ।

उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो,’ उनले भने, ‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाइ देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’

कवि चौधरीले बाल साहित्यले नेपालमा उचाइ हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । ‘लगानी गरेर बालसाहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन,’ उनले भने, ‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रुपमा लिनुपर्छ ।’

बालबालिकालाई रचनात्मक कुराहरु कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरुको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाईको माध्यमको रुपमा कविता र गीतहरुलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?