+
+

प्रिमियर लिगको उपाधि होड : आर्सनलको लक्ष्यमा सिटीको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १३:५९

२८ चैत, काठमाडौं । आइतबार लिभरपुलमा लिग लिडर आर्सनलले २–२ को बराबरी खेल्दा इंग्लिस प्रिमियर लिगको उपाधि होड साविक विजेता म्यानचेस्टर सिटीका लागि नाटकीय रुपमा खुल्ला भएको छ ।

आर्सनल सन् २००४ यता पहिलोपल्ट प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ । म्यानचेस्टर सिटी ६ अंकको दूरीमा आर्सनललाई पछ्याइरहेको छ ।

पेप ग्वार्डिओला प्रशिक्षित सिटीले एक खेल कम खेलेको छ । २६ अप्रिलमा मिकेट आर्टेटा प्रशिक्षित आर्सनलले सिटीको सामना गर्दा प्रिमियर लिगको उपाधिको पनि निर्णय हुनसक्छ ।

सिटी गोलअन्तरमा पनि अगाडि छ । सिटीको ४८ र आर्सनलको ४३ गोलअन्तर हुँदा अंक बराबर भएको अवस्थामा निर्णायक हुनसक्छ ।

आर्सनलका लागि प्रिमियर लिगको ८ खेलमात्र बाँकी छ । तर, सिटीले एफए कप र च्याम्पियन्स लिगको पनि उपाधि सम्भावना कायम राखेको छ । सिजनको अन्त्यतिर उनीहरुका लागि एक ब्यस्त तालिका हुनसक्छ ।

डेटा कम्पनी नेल्सन्स ग्रासेनोट सिमुलेसनका अनुसार प्रिमियर लिगको उपाधि जित्ने सम्भावना सिटीको ५६ प्रतिशत छ भने आर्सनलको ४४ प्रतिशत छ । आर्सनलले डिसेम्बर २०१५ मा सिटीलाई लिग खेलमा हराएको थियो ।

इत्तेहाद रंगशालामा आर्सनलले सिटीलाई हराउन नसकेको साढे ८ वर्ष भइसकेको छ । जारी सिजन पनि यी दुईबीच दुईपल्ट प्रतिस्पर्धा भइसकेको छ । दुवै खेल सिटीले जितेको छ । एफए कपमा १–० र फेब्रुअरीमा लिग खेलमा ३–१ को जित हासिल गरेको छ ।

यद्यपि प्रिमयर लिगको इतिहासले भने आर्सनललाई साथ दिनेछ ।

तथ्यांक विश्लेषण गर्ने अर्को कम्पनी ओप्टाका अनुसार प्रिमियर लिगको सुरुवाती ३० खेलमा ७३ अंक जोड्ने टिमले लिग उपाधि नजितेको केवल दुई संस्करणमा मात्र छ । सन् २०११÷१२ मा म्यानचेस्टर युनाइटेड र सन् २०१८÷१९ मा लिभरपुल ।

आर्सनलका समर्थकहरुलाई बिझाउने कुरा के हो भने दुवै संस्करणमा म्यानचेस्टर सिटीले लिग जितेको थियो ।

जारी सिजन आर्सनलका बाँकी खेल

१६ अप्रिलः वेष्ट ह्याम (प्रिमियर लिग)
२१ अप्रिलः साउथह्याम्प्टन (प्रिमियर लिग)
२६ अप्रिलः म्यानचेस्टर सिटी (प्रिमियर लिग)
२९ अप्रिलः चेल्सी (प्रिमियर लिग)
७ मेः न्युकाशल युनाइटेड (प्रिमियर लिग)
१४ मेः ब्राइटन (प्रिमियर लिग)
२० मेः नटिङघम फरेस्ट (प्रिमियर लिग)
२८ मेः वुल्भ्स (प्रिमियर लिग)

म्यानचेस्टर सिटीले खेल्न बाँकी खेल

११ अप्रिलः बायर्न म्युनिख (च्याम्पियन्स लिग क्वाटरफाइनल)
१५ अप्रिलः लेस्टर (प्रिमियर लिग)
१९ अप्रिलः बायर्न म्युनिख (च्याम्पियन्स लिग क्वाटरफाइनल)
२२ अप्रिलः सेफिल्ड युनाइटेड (एफए कप सेमिफाइनल)
२६ अप्रिलः आर्सनल (प्रिमियर लिग)
३० अप्रिलः फुलह्याम (प्रिमियर लिग)
३ मेः वेष्ट ह्याम (प्रिमियर लिग)
७ मेः लिड्स युनाइटेड (प्रिमियर लिग
९–१० मेः सम्भावित च्याम्पियन्स लिग सेमिफाइनल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?