 
																			कोरोना महामारीका बेला विद्यालय बन्द भए । लकडाउनका कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गराउन सम्भव नभएपछि यसको विकल्पमा भर्चुअल माध्यमलाई अपनाउन थालियो । जसकारण मोबाइल, ट्याब, ल्यापटप जस्ता ग्याजेटमा बालबालिकाको पहुँच पुग्यो ।
अहिले त बालबच्चामा मोबाइल, ल्यापटपको लत नै बसेको छ, धेरैजसो समय उनीहरु स्क्रिनमै रहने गरेको देखिन्छ । तर बालबच्चालाई के हेर्नुहुन्छ, के हुँदैन भन्ने जानकारी हुने कुरा भएन । सामाजिक सञ्जालमा आउने हरेक कुरा उनीहरु निर्धक्क हेरिरहेका हुन्छन् ।
बालबच्चाले अनुपयुक्त सामग्री त हेरिरहेका छैनन् भन्नेतर्फ धेरै अभिभावकको ध्यान गएको हुँदैन । किनकि कतिपय अभिभावकलाई नै कम्प्युटर र इन्टरनेटको विषयमा पर्याप्त जानकारी हुँदैन । बच्चालाई एडल्ट सामग्री हेर्नबाट बचाउन केही यस्ता उपाय अपनाउन सकिन्छ ।
मोबाइलमा एडल्ट सामग्रीबाट जोगाउने उपाय
प्यारेन्टियल कन्ट्रोल सेटिङ
अहिले सबै स्मार्टफोनमा प्यारेन्टियल कन्ट्रोल हुन्छ । त्यसको प्रयोग गरेर बच्चाको मोबाइलमा एडल्ट सामग्री रोक्न सकिन्छ । त्यसका लागि प्लेस्टोरमा गएर सेटिङमा क्लिक गर्ने, त्यहाँ प्यारेन्टियल कन्ट्रोल भन्ने अप्सन देखिन्छ । अब त्यो प्यारेन्टियल कन्ट्रोलमा क्लिक गर्ने र प्यारेन्टियल कन्ट्रोल अन गर्नुपर्छ । त्यसपछि त्यहाँ पिन नम्बर राख्ने अप्सन हुन्छ, त्यहाँ पिन नम्बर राख्ने र त्यो पिन नम्बरलाई अर्को पटक पनि राखेर कन्फर्म गर्नुपर्छ ।
त्यसपछि त्यो सेटिङ चल्न थाल्छ । प्यारेन्टियल सेटिङभित्रै ‘एप एण्ड गेम भन्ने अप्सन हुन्छ, त्यसमा क्लिक गरेपछि त्यहाँ उमेर दिएको हुन्छ । बच्चा कति उमेरको छ, त्यही अनुसारको उमेरमा टिक लगाएपछि त्यो मोबाइलमा बच्चाले हेर्न नमिल्ने सामग्री आउँदैन ।

गुगल फ्यामिली लिंक
यदि तपाईं आफ्ना साना बालबालिकाले फोनमा के हेर्छन् भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ वा उसले मोबाइलमा हेर्ने कुरालाई नियन्त्रण गर्न चाहनुहुन्छ भने बच्चाको मोबाइललाई आफ्नो मोबाइलसँग लिंक गर्न सक्नुहुन्छ ।
बच्चाको मोबाइललाई नियन्त्रणमा राख्न तपाईंले आफ्नो मोबाइलमा गुगल फेमिली लिंक एपलाई इन्स्टल गर्नुहोस् । अब आफ्नो फोनमा इन्स्टल भएको गुगल फेमिली लिंकमा क्लिक गर्नुहोस् । त्यहाँ इन्टर फेस आउँछ, त्यसलाई क्लिक गरेपछि गेट स्टार्ट भन्ने अप्सन आउँछ र त्यसमा क्लिक गर्नुहोस् । त्यसमा क्लिक गरेपछि त्यहाँ इन्टरफेस खुल्छ, त्यसमा आफ्नो गुगल अकाउन्ट सेलेक्ट गर्नुहोस् । सेलेक्ट गर्ने बित्तिकै त्यहाँ सोधिन्छ कि त्यो मोबाइलको प्रयोग कसले गर्छ । त्यहाँ अभिभावक अप्सनमा क्लिक गर्नुहोस् ।
अब बच्चाको मोबाइलमा पनि गुगल फेमिली लिंकलाई इन्स्टल गर्नुपर्छ । त्यसलाई पनि खोल्नुहोस् । त्यहाँ पनि मोबाइल कसले प्रयोग गर्छ भनेर सोधिन्छ । चाइल्ड अप्सनमा क्लिक गर्नुहोस् र त्यसपछि नेक्स्ट अप्सन आउँछ, त्यसमा पनि क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ बच्चाको इमेल आईडी देखिन्छ । त्यसलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि त्यहाँ प्यारेन्ट अकाउन्ट भन्ने अप्सन आउँछ ।
अब तपाईंले कन्ट्रोल गर्न खोजेको फोन तपाईंसँगै छ भनेर सोधिन्छ । छ भने त्यहाँ कनेक्ट भन्ने अप्सन आउँछ त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको बच्चाको गुगल अकाउन्ट छ कि छैन भनेर सोधिन्छ, दायाँपट्टि एस भन्ने अप्सनमा क्लिक गर्नुहोस् र बच्चाको गुगल अकाउन्ट पनि हाल्नुहोस् ।
बच्चाको फोन पनि तपाईंसँग भयो भने मात्र तपाईंले त्यो फोनलाई कन्ट्रोल गर्न सक्नुहुन्छ ।
इन्टरनेट सेवा प्रदायकमार्फत
बच्चाले क्रोमलगायतका ब्राउजरबाट ग्याजेट चलाउँछन् भने इन्टरनेट सेवा प्रदायकमार्फत पनि कन्टेन्ट फिल्टर गर्न सकिन्छ । इन्टरनेट सेवा प्रदायकलाई सम्पर्क गरेर बच्चाको लागि यो यो कन्टेन्ट ब्लक गर्दिनुस् भन्न सकिन्छ । यसरी पनि बच्चालाई एडल्ट कन्टेन्टबाट टाढा राख्न सकिन्छ ।
अन्य उपाय
बच्चालाई नेटफ्लिक्स, प्राइम भिडियो, हटस्टार जस्ता ओटीटीमा भिडियो सामग्री हेर्न दिनुहुन्छ भने त्यसमा पनि कति उमेरकाले उक्त कन्टेन्ट हेर्न मिल्छ भनेर प्रष्ट लेखिएको हुन्छ । एडल्ट कन्टेन्ट कहिलेकाहीं विज्ञापनमार्फत पनि आउँछन् । त्यसको लागि ‘एड ब्लकर’ राख्न सकिन्छ, जसले अनावश्यक विज्ञापनलाई ब्लक गरिदिन्छ ।
(साइबर सुरक्षा विज्ञ लिम्बूसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4